नेभिगेशन
विश्व

धम्कीको भाषा बोल्दै इरान

तेहरान, (सीएनएन)  । इरानका नेताहरूले पछिल्लो समय वार्ताभन्दा पनि शक्ति र दबाबको भाषा बढी प्रयोग गर्न थालेका छन् । इरानी संसद्का अध्यक्ष मोहम्मद बगेर गालिबाफले ‘हामीलाई उपलब्धि वार्ताले होइन, मिसाइलले दिन्छ’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् । अन्य सैन्य अधिकारीहरूले पनि आवश्यक परे बल प्रयोग गरेर आफ्ना लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् ।
इरान र अमेरिकाबीच लामो समयदेखि वार्ता चल्दै आएको छ । तर धेरै पटक वार्ता अघि बढे पनि अन्तिम सहमति हुन सकेको छैन । अहिले पनि कहिले सम्झौताको सम्भावना देखिन्छ भने कहिले फेरि युद्ध वा तनाव बढ्न सक्ने चर्चा हुन्छ ।
यसका कारण जनताले वार्तासम्बन्धी समाचारलाई पहिले जति गम्भीर रूपमा लिन छाडेका छन् । यद्यपि उच्च तहका नेताहरूको कुनै महŒवपूर्ण भनाइ वा अप्रत्याशित घटनाले तेल, सुन र मुद्रा बजारमा अझै ठूलो प्रभाव पार्न सक्छ ।
इरानभित्र पनि वार्ताबारे एकमत छैन । केही नेताहरू र सञ्चारमाध्यमहरू वार्तालाई आवश्यक ठान्छन् भने कट्टरपन्थी समूहहरू अमेरिकासँग धेरै सम्झौता गर्न नहुने बताउँछन् । उनीहरूको भनाइमा इरानले आफ्ना ‘रेड लाइन’ अर्थात् निश्चित सर्तहरू कुनै हालतमा छोड्न हुँदैन ।
यी सर्तहरूमा इरानको परमाणु कार्यक्रमलाई स्वीकार गरिनु, अमेरिकाले सबै प्रतिबन्ध हटाउनु, इरानलाई क्षतिपूर्ति दिनु र क्षेत्रीय युद्धहरू अन्त्य हुनुजस्ता मागहरू समावेश छन् ।
वार्ता टोलीमाथि पनि आलोचना भइरहेको छ । केही कट्टरपन्थी राजनीतिज्ञहरूले वार्तामा इरानले धेरै सहुलियत दिन खोजेको आरोप लगाएका छन् । उनीहरू सम्भावित सम्झौता राष्ट्रिय हितविरुद्ध हुन सक्ने बताउँछन् ।
इरानका सरकारी सञ्चारमाध्यमहरूले भने वार्ताको समर्थन गरिरहेका छन् र देशले बलियो स्थितिबाट वार्ता गरिरहेको दाबी गर्छन् । उनीहरूको भनाइमा वार्ता कमजोरी होइन, राजनीतिक संघर्षको अर्को रूप हो ।
जनमत के छ भन्ने कुरा स्पष्ट छैन । स्वतन्त्र सर्वेक्षणहरू कम भएकाले इरानी जनता वास्तवमा वार्ताको पक्षमा छन् वा विपक्षमा भन्ने ठोस तथ्याङ्क उपलब्ध छैन । सरकारी निकायहरूले गरेका केही सर्वेक्षणमा भने वार्ताको विरोध गर्नेहरूको संख्या समर्थन गर्नेहरूभन्दा बढी देखाइएको छ ।
इरानी पत्रपत्रिकाहरूमा पनि फरक–फरक धारणा देखिन्छ । कट्टरपन्थी अखबारहरू इरानका नेताले तोकेका सर्त पूरा भए मात्र सम्झौता स्वीकार गर्नुपर्ने बताउँछन् । केही अन्य अखबारहरूले भने सम्मानजनक सम्झौताको सम्भावना अझै रहेको उल्लेख गरेका छन् ।
समग्रमा हेर्दा, इरानमा मुख्य विवाद वार्ता गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा होइन । विवाद भनेको अमेरिकासँग कस्तो प्रकारको सम्झौता स्वीकार गर्ने र इरानले आफ्ना अडानहरू कति परिवर्तन गर्न सक्छ भन्ने विषयमा केन्द्रित छ । केही समूह सम्झौताले इरानलाई कमजोर बनाउने डर गर्छन् भने अरूले आर्थिक समस्या र सुरक्षा चुनौती समाधान गर्न वार्तालाई आवश्यक उपाय मान्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्