काठमाडौं, २४ भदौ - जेनजी पुस्तामाथि सरकारको बर्बर दमनपछि आक्रोशित भएर मंगलबार निस्किएका समूहले देशका महत्वपूर्ण निकाय सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत जलाएर ध्वस्त पारेका छन् ।
सोमबार सरकारले जेनजीको प्रदर्शनमा अन्धाधुन्द गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने चार सयभन्दा बढी घाइते भएका थिए । हताहती दोस्रो दिन पनि बढेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको निर्मम नरसंहारका विरुद्ध जनता जाग्दा मंगलबार नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै भौतिक क्षति भएको छ । तोडफोड र आगजनीबाट काठमाडौंलगायत देशका विभिन्न शहर रणभूमिजस्तै देखिएका छन् ।
नेतृत्वबिनाको प्रदर्शन अराजकतामा बदलिएपछि मनपरी रुपमा प्रदर्शनकारीले तोडफोड, आगजनी गरी महत्वपूर्ण कार्यालय नियन्त्रणमा लिएका हुन् । प्रदर्शन शुरु गरिएको ४८ घण्टाभित्र राज्यका मुख्य निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा आगो लगाएर ध्वस्त पारिएको छ । आकोशित भीडले राणाकालमा बनाइएका ऐतिहासिक संरचनादेखि, देश चलाइरहेका मुख्य व्यक्तिका निजी घरदेखि प्रहरी बिटसम्म जलाएर नष्ट पारेको छ ।
प्रदर्शनकारीले काठमाडौंको मुख्य प्रशासनिकस्थल सिंहदरबार, नयाँ बानेश्वरमा रहेको संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास शितल निवास, विशेष अदालत, सरकारी वकीलको कार्यालय, अख्तियार दुरुपयोग अनुसनन्धान आयोग, प्रहरी बिटलगायतका सरकारी संरचनामा तोडफोड र आगो लगाएर ध्वस्त पारेका छन् । ती सबै निकायमा प्रहरीले सुरक्षा दिन नसकेपछि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगो लगाएका हुन् ।
क्षति अपूरणीय भएपछि दिए ओलीले राजीनामा
सोमबारको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमा लगाइएको रोक खोल्ने निर्णय गरेको थियो । नयाँ बानेश्वरमा प्रहरीले गोली जथाभावी चलाउँदा डेढ दर्जनको ज्यान गएको र तीन सय जनाभन्दा बढी घाइते भएको रिपोर्टिङ लिइरहेका प्रधानमन्त्री ओलीले घटनालगत्तै मन्त्रिपरिषद्को बैठक बोलाउन आवश्यक नै ठानेनन् । आकस्मिकको साटो सोमबार बेलुकी नियमित बैठक बोलाए ।
त्यसमा गृहमन्त्री रमेश लेखकले हाँसीहाँसी राजीनामा बुझाएको तस्वीर सार्वजनिक हुनु आन्दोलनकारीको आक्रोश बढाउने एउटा ठूलो कारक बन्यो । ओलीले राति अबेर गरि विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरे पनि जेनजीले उठाएको भ्रष्टाचार बेतिथिको सवाललाई सम्बोधन गर्न आवश्यक नै ठानेनन् । यसबाट उनले घटनालाई हुलका रुपमा लिएको देखियो । सोही साँझ महांकालस्थित ट्रमा सेन्टरमा प्रहरी पसेर आन्दोलनकारी र तिनका आफन्तसँगै अस्पतालका कर्मचारीमाथि बल प्रयोग गरेको थियो ।
ओलीले मंगलबार बिहानै सम्भावित प्रदर्शन रोक्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई कर्फ्युको नयाँ आदेश जारी गर्न लगाए र बेलुकीका लागि सर्वदलीय बैठक बोलाएका थिए । त्यतिञ्जेलसम्म कांग्रेसबाट सरकारमा रहेका कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी, स्वास्थ्यमन्त्री प्रदीप पौडेल गायतले पदबाट राजीनामा दिइसकेका थिए । लगत्तै खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिएको घोषणा गरे ।
प्रधानमन्त्री ओलीलाई राजीनामा दिन उनकै कार्यकर्तालेसमेत सामाजिक सञ्जालमार्फत माग गरिरहेका थिए । उनले वास्तै गरेनन् । प्रदर्शनकारी कर्फ्युमा रोकिएनन् । काठमाडौंलगायत देशभरि तोडफोड, हिंसा, आगजनीका घटना लगालग भएपछि मात्रै ओलीले राजीनामा दिएको घोषणा गरेका थिए ।
उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन् । ‘नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानको धारा ७७(१) बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका छन् । प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि प्रदर्शनकारीको सरकारी कार्यालयहरूमा तोडफोड, आगजनीको क्रम भने रोकिएन ।
त्यसको केही समयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जेनजीका नाममा सामाजिक सञ्जाल फेसबुकमा सम्बोधन गरेका थिए । संयमतामा अपनाउन सार्वजनिक रुपमा आग्रह गरे पनि साम्य हुन सकेनन् ।
प्रमुख बालेन्द्रले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह पनि फेसबुकबाटै गरेका छन् । ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला,’ बालेनले मंगलबार दिउँसो लेखेका छन् । उनले सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका छन्, ‘सेनासँग वार्ता गर्नुअघि संसद् विघटन विघटन भएको हुनुपर्छ ।’
दलका कार्यालय, छानीछानी नेताका घर
सोमबारको प्रदर्शनमा प्रहरीले गोली चलाएर मारेपछि र घाइते बनाएपछि मंगलबार बिहानैदेखि आक्रोशित भएका थिए । जेनजीको नाम दिइए पनि मंगलबार निस्किएका समूहले भने शुरुमा राष्ट्रिपतिको निजी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्व प्रधानमन्त्रीहरू, वर्तमान मन्त्रीहरू कांग्रेस, एमाले, माओवादी केन्द्रका पार्टी कार्यालयमा तोडफोड गर्दै आगो लगाएका थिए, विस्तारै नेताका घर खोज्दै हिँडेका थिए ।
आक्रमणका क्रममा कांग्रेस, एमालेका नेता बढी तारो बनाइएका छन् । त्यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूको घरमा आगो लगाइएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती एवं परराष्ट्रमन्त्री आरजु राणामा निजी निवास बूढानिलकण्ठ भित्रै पसेर आक्रमण गरिएको छ । देउवा दम्पतीलाई हातपात गरेका छन् । उनीहरूको टाउकोमा चोट लागेको बताइएको छ । दुवैलाई समयमा अस्पतालसमेत लैजान अवरोध गरिएको थियो । उपचारका लागि अस्पताल लैजान गएको नेपाली सेनाको हेलिकप्टरलाई समेत ल्याण्ड गर्न दिइएको थिएन ।
जेनजीको प्रदर्शनमा एक वर्षदेखि सरकारको नेतृत्व गरेका कांग्रेस र एमालेका मुख्य नेतृत्व, नेताहरूको घर तोडफोड आक्रमणमा देखियो । तीन दलका काठमाडौंमा रहेका कार्यालय ध्वस्त बनाइयो । जेनजी पुस्ताकै नाममा सरकारविरुद्ध नारा लगाउँदै एकैदिनमा देशभरि आक्रोशित जमातले सरकारी कार्यालय, मुख्य मुख्य नेताका घर, ठूला व्यवसायमा तोडफोडसहित आगजनी गरे ।
देशभरिको सुरक्षा स्थिति अनियन्त्रित बन्दै गएपछि प्रहरीले नियन्त्रण गर्न सकेन । आक्रोशित बनेका जमातले कांग्रेस र एमाले लक्षित गरी मन्त्री, दलका नेताका घरमा छानीछानी तोडफोड र आगजनी गरेका छन् । राजनीतिक नेता र उनीहरूका निजी निवास खोज्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगो लगाउन थालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारमा रहेको निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट, झापाको घरमा तोडफोडसहित आगो लगाइएको छ । त्यसैगरी पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको घर, कञ्चनपुरमा रहेको घर, पुष्पकमल दाहाल निवास खुमलटार, माधव नेपाल, झलनाथ खनालको घरमा तोडफोड र आगजनी भएको छ ।
खनालको घरमा आगो लगाउँदा उनकी पत्नी घरभित्रै रहेकाले उनको शरीर जलेको छ । उनलाई बर्न अस्पताल लगिएको र स्थिति गम्भीर रहेको बताइएको छ । गृहमन्त्री रमेश लेखकको काठमाडौंको घर, कञ्चनपुरको घर, माधवकुमार नेपालको घर, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको घर, एमाले नेताहरू पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, शंकर पोखरेल, गोकुल बास्कोटाको घर, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेको निजी घरमा तोडफोड र आगजनी भएका छन् । पूर्व राष्टपति विद्या भण्डारीको घरमा पनि आगो लगाइएको छ ।
त्यसैगरी कांग्रेसका महामन्त्री गगन थापा, ऊर्जामन्त्री दीपक खड्का, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको निजी घरमा पनि तोडफोड गरी आगो लगाइएको छ । आक्रोशित र अनियन्त्रित जमातले मनलाग्दी तरिकाले तोडफोड र आगजनी गरेका छन् । उनीहरूलाई नियन्त्रण गर्ने कुनै समूहका अगुवा देखिएनन् । जेनजीको प्रदर्शनमा पनि कुनै नेतृत्वकर्ता तोकिएको थिएन ।
प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र कान्तिपुर पब्लिकेसन्समा पनि आक्रमण गरेका छन् । चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन् । कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाएका छन् । सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गर्ने गरेको छ ।
प्रदर्शनकारीले नक्सालको भाटभटेनीका स्टोरहरूमा लुटपाट, तोडफोड, आगजनी गरेका छन् । तीन कम्युनिष्ट पार्टी र कांग्रेसबाहेकका दलका कार्यालय र नेतालाई भने प्रदर्शनकारीले लक्षित गरेका छैनन् ।

न्यायलयसमेत निसानामा
प्रदर्शनकारीको निसानामा सर्वोच्च अदालत पनि परेको छ । दिउँसो सर्वोच्चमा प्रवेश गरेका प्रदर्शनकारीले गाडी हुँदै भवनमा आगो लगाएका थिए । बेलुकीसम्म अदालतमा दनदनी आगो बलिरहेको त्यहाँका प्रवक्ता अर्जुन कोइरालाले बताए । तल्लो तलाबाट शुरु भएको आगो चारैतिर फैलिएको छ । सबैतिर दनदनी बलिरहेकाले रोक्न चाहेर पनि नसकिएको उनले बताए ।
सर्वोच्च अदालतमा देशभरका मुद्दा, अहिलेसम्मका मिसिल जलेका छन् । अदालतकै मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू राखिएका छन् । कति क्षति भयो के के भयो भन्ने हेर्नै नसकिने कर्मचारीले बताएका छन् ।
सर्वोच्च अदालतको परिसरसँगै जोडिएको बार एसोसिएसनमाथि पनि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । सँगै रहेको महान्यायाधिवक्ताको कार्यालयमा पनि आगजनी भएको छ । विशेष अदालत र अख्तियार दुरुयोग अनुसन्धान आयोग पनि आक्रमणकारीको निसानामा परेको छ ।
रास्वपाका सांसदले सामूहिक राजीनामा
बिहानैदेखि प्रदर्शन चर्किदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका थिए । सरकारले जेनजीको प्रदर्शनमा दमन गरेको र प्रदर्शनमा समर्थन रहेको भन्दै रास्वपाका सांसदहरूले पदबाट सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शनमा दर्जनौं युवाहरूको ज्यान लिने गरी सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल भत्र्सना गर्छ’ उनीहरूले भनेका छन् ।
रवि लामिछाने कारागारबाट निस्किए
रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार उनका समर्थकले ललितपुरस्थित नक्खु कारागार घेरेर बाहिर निकालेका छन् । सहकारी ठगीसम्बन्धी अभियोगमा उनी पुर्पक्षका लागि कारागार थुनामा थिए ।
ठूलो संख्यामा प्रदर्शनकारी कारागार वरिपरि घेराउ गर्दै बाहिर निकाल्न दबाब दिएका थिए । प्रदर्शनकारीले परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले बताएका छन् ।
देशका विभिन्न कारागार र हिरासतमा रहेका प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थुनामामा रहेकालाई छाडिदिएको छ । उनलाई लिन पत्नी निकितासँगै उल्लेख्य संख्यामा कार्यकर्ता कारागार पुगेका थिए ।