नेभिगेशन
विश्व

युद्ध लम्बिदै जाँदा किशोरहरू निशानामा

रोटरडाम, (एजेन्सी) । गत वर्ष सेप्टेम्बरको एक साँझ नेदरल्यान्ड्सको रोटरडाममा एक सत्र वर्षीय किशोर आफ्नै घरमा गृहकार्य गरिरहेका थिए । अचानक कसैले ढोका ढक्ढक्यायो । उनका बुबाले ढोका खोल्नेबित्तिकै मुख छोपेका आठ जना प्रहरी घरभित्र पसे र सिधै माथिल्लो तलामा रहेको किशोरको कोठातर्फ लागे । प्रहरीले ती किशोरलाई विदेशी राष्ट्रका लागि सेवा गरेको आरोपमा पक्राउ गरे ।
पछि सार्वजनिक भएका विवरणहरूले परिवारलाई मात्र नभएर युरोपेली सुरक्षा समुदायलाई समेत स्तब्ध बनायो । रुसी एजेन्टहरूले ती किशोरले सामाजिक सञ्जालमार्फत भर्ती गरी हेगस्थित सरकारी तथा सुरक्षा निकायहरूको निगरानी गर्न लगाएको आरोप छ । उनले ताररहित इन्टरनेट सञ्जालको जानकारी संकलन गर्ने उपकरण प्रयोग गरी संवेदनशील सूचनाहरू जुटाएको बताइएको छ ।
युरोप र मध्यपूर्वका विभिन्न देशका प्रहरी तथा गुप्तचर अधिकारीहरूसँग गरिएको अनुसन्धानबाट एउटा चिन्ताजनक प्रवृत्ति उजागर भएको छ । रुस र इरानजस्ता राष्ट्रहरूले जासुसी, तोडफोड र प्रभाव विस्तारका लागि बढ्दो संख्यामा किशोरहरूलाई अनलाइनमार्फत भर्ती गर्न थालेका छन् । ती डच किशोर अहिले मुद्दाको पर्खाइमा छन् । उनका बुबाले छोरालाई सामान्य र अनुभवहीन किशोरका रूपमा वर्णन गर्दै आफूहरूलाई यस्तो खतरा कल्पनासमेत नभएको बताएका छन् । उनका अनुसार अभिभावकहरूले आफ्ना सन्तानलाई धूमपान, मदिरा, लागूपदार्थजस्ता जोखिमबाट जोगिन सिकाउँछन् तर विदेशी गुप्तचर संस्थाले अनलाइनमार्फत फसाउन सक्छ भन्ने कुरा सोचेकै हुँदैनन् ।
रुस र इरानले विगतदेखि नै आफ्ना उद्देश्य पूरा गर्न तेस्रो पक्षको प्रयोग गर्दै आएका थिए तर अहिले उनीहरूले नाबालिगहरूलाई लक्षित गर्न थालेका छन् । यो नयाँ र खतरनाक रणनीति मानिएको छ । यसको सुरुआत युक्रेनमा भएको थियो । त्यहाँ किशोरहरूलाई अनलाइनमार्फत भर्ती गरी जासुसी, तोडफोड र प्रचारप्रसारका काममा प्रयोग गरियो । त्यसपछि यो अभ्यास पोल्यान्ड, नेदरल्यान्ड्स र बेलायतसम्म फैलिएको देखिएको छ । युरोपमा रहेका आफ्ना विरोधीहरूविरुद्ध गतिविधि तीव्र बनाउन इरानले पनि यस्तै तरिका अपनाउन थालेको छ ।
बेलायतका एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार विदेशी शत्रुतापूर्ण राष्ट्रहरूले किशोरहरूलाई लक्षित गरिरहेका छन् । उनको भनाइमा करिब डेढ वर्षअघि अचानक ठूलो संख्यामा युवाहरू अनलाइनमार्फत यस्ता गतिविधिमा संलग्न हुन थालेको देखियो र त्यसले सुरक्षा निकायलाई अचम्ममा पा¥यो । युक्रेनी अधिकारीहरूका अनुसार सन् २०२५ मा रुससँग सहकार्य गरेको आरोपमा पक्राउ परेकामध्ये करिब पाँचमध्ये एक जना किशोर थिए । युरोपभर भएका केही यहूदीविरोधी आक्रमणहरूमा पनि नाबालिगहरूको संलग्नता भेटिएको छ ।
भर्ती प्रक्रिया प्रायः एउटै ढाँचामा हुने गरेको छ । किशोरहरूलाई सामाजिक सञ्जाल, खेल खेलिने अनलाइन मञ्च वा गोप्य सन्देश आदानप्रदान हुने माध्यमहरूबाट सम्पर्क गरिन्छ । त्यसपछि उनीहरूलाई पैसा, विशेषतः डिजिटल मुद्राको प्रलोभन दिइन्छ । धेरै भर्तीकर्ताहरू प्रत्यक्ष रूपमा राज्यका कर्मचारी नभई अपराधी सञ्जालका सदस्य हुन्छन्, जसलाई पछि गुप्तचर निकायहरूले प्रयोग गर्छन् । विशेष गरी खेलकुद वा मनोरञ्जनका अनलाइन मञ्चहरू किशोर भर्ती गर्ने प्रमुख स्थान बनेका छन् । समस्या समाधान गर्न रुचि राख्ने, प्रतिस्पर्धी स्वभावका र प्रविधिमा दक्ष युवाहरू यस्ता समूहका लागि आकर्षक लक्ष्य हुन्छन् ।
युक्रेनमा लोकप्रिय युद्धसम्बन्धी एउटा अनलाइन खेलको वार्तालाप सुविधा भर्तीका लागि प्रयोग गरिएको पाइएको छ । एजेन्टहरूले खेलभित्र सम्पर्क गरेपछि वार्तालाई अर्को गोप्य माध्यममा सार्छन् । कतिपय अवस्थामा वास्तविक जीवनका कार्यहरूलाई खेलभित्रका चुनौतीजस्तै प्रस्तुत गरिन्छ । एक पश्चिमी सैन्य अधिकारीका अनुसार यो अवस्थालाई हवाई प्रतिरक्षा प्रणाली खोज्ने खेलजस्तै बनाइएको छ । युरोपेली सुरक्षा निकायहरूका लागि अहिले किशोरहरूलाई यस्तो जालबाट जोगाउनु प्रमुख प्राथमिकता बनेको छ । उनीहरूका अनुसार आजको पुस्ता अभिभावकभन्दा बढी समय इन्टरनेट, सामाजिक सञ्जाल र खेल खेल्ने मञ्चमा बिताउँछ । यही कारण उनीहरू प्रभाव पार्न सजिलो लक्ष्य बनेका छन् ।
सुरक्षा विशेषज्ञहरू भन्छन्, विदेशी राष्ट्रहरूले किशोरहरूलाई प्रयोग गर्दा आफूलाई खास जोखिम हुँदैन । काम सफल भए लाभ हुन्छ, असफल भए पनि सम्बन्ध प्रमाणित गर्न कठिन हुन्छ । तर पक्राउ परेपछि वा कुनै अपराधमा फसेपछि जीवनभर असर भने ती किशोरहरूले नै भोग्नुपर्छ । अनलाइन संसारको गुमनाम वातावरणले युवाहरूलाई आफ्नो कामको वास्तविक परिणाम नदेख्न सक्ने बनाउँछ । उनीहरूलाई यो सामान्य खेल वा साहसिक कामजस्तो लाग्न सक्छ, तर त्यसका गम्भीर सुरक्षा परिणाम हुन सक्छन् ।
करिब एक वर्षअघि युक्रेनमा पन्ध्र र सोह्र वर्ष उमेरका किशोरहरूको दुई समूह पक्राउ परे । उनीहरूले युक्रेनका हवाई प्रतिरक्षा संरचनाहरूको गोप्य तस्वीर खिचिरहेका थिए । पछि अनुसन्धान गर्दा उनीहरू रुसको सुरक्षा निकायद्वारा सञ्चालित एक प्रकारको चुनौतीपूर्ण खेलमा सहभागी भएको पाइयो । उनीहरूलाई नक्सामा स्थान देखाइन्थ्यो, त्यहाँ गएर तस्वीर खिच्न र विवरण पठाउन भनिन्थ्यो । पछि ती सूचनाहरू सैन्य आक्रमणमा प्रयोग गरिन्थे ।
युक्रेनी गुप्तचर अधिकारीहरूका अनुसार अहिले नाबालिगहरूको प्रयोग अपवाद होइन, सामान्य अभ्यास बनिसकेको छ । युद्ध लम्बिँदै जाँदा रुसले आफ्ना समर्थक गुमाउन थालेपछि युवाहरूलाई लक्षित गर्न थालेको थियो । यसले युक्रेनभित्रै अस्थिरता सिर्जना गर्ने उद्देश्य पनि पूरा गथ्र्यो । विश्लेषकहरूका अनुसार किशोरहरू कम प्रश्न सोध्छन्, कम पारिश्रमिकमा काम गर्छन् र जोखिमको मूल्याङ्कन गर्न कम सक्षम हुन्छन् । उनीहरू आवेगमा निर्णय गर्न सक्ने भएकाले भर्ती गर्न सजिलो हुन्छ ।
रुसले युक्रेनमा मात्र होइन, युरोपका अन्य देशहरूमा पनि यस्ता गतिविधि विस्तार गरेको देखिएको छ । पोल्यान्डमा किशोरहरूलाई उक्साएर भडकाउ नारा लेख्न लगाइएको थियो । लाट्भियामा युवाहरूलाई रुस समर्थक सामग्री वितरण गर्न र युक्रेनी समुदायसँग सम्बन्धित सम्पत्तिमाथि आक्रमण गर्न प्रयोग गरिएको थियो । लिथुआनियामा एक किशोरले रुसी सुरक्षा सेवाको तर्फबाट फर्निचर पसलमा आगजनी गरेको स्वीकार गरेका थिए ।
लाट्भियाका सुरक्षा अधिकारीहरूका अनुसार भर्ती भएका युवाहरूलाई सुरुमा सामान्य काम दिइन्छ । जस्तै कुनै गाडीमा आगो लगाउने । त्यसपछि क्रमशः झन् जटिल र जोखिमपूर्ण लक्ष्यतर्फ धकेलिन्छ । यसरी उनीहरू मनोवैज्ञानिक रूपमा ठूलो अपराध गर्न तयार बनाइन्छन् । एजेन्टहरूले आफ्ना उद्देश्य लुकाउन विभिन्न कथाहरू पनि बनाउँछन् । कसैलाई कुनै व्यक्ति खराब छ वा कसैको ऋण तिर्न बाँकी छ भनेर विश्वास दिलाइन्छ र त्यसको गाडीमा आगो लगाउन पैसा प्रस्ताव गरिन्छ । तर सुरक्षा अधिकारीहरूका अनुसार केही समयपछि कामको वास्तविक स्वरूप बुझ्न नसक्ने अवस्था रहँदैन ।
अब बेलायतसहित पश्चिमी युरोपका देशहरूमा पनि किशोर भर्ती गर्ने प्रयास बढेको छ । त्यस्ता धेरै घटना अदालतमा पुगेपछि मात्र सार्वजनिक हुने भएकाले वास्तविक संख्या अझ ठूलो हुन सक्ने अनुमान छ । बेलायतका सुरक्षा अधिकारीहरूका अनुसार आतंकवादसँग सम्बन्धित मुद्दामा पक्राउ पर्नेहरूको उल्लेखनीय हिस्सा किशोर उमेरका हुन्छन् । अहिले विदेशी राष्ट्रका लागि सूचना संकलन वा तोडफोड गर्ने गतिविधिमा संलग्न नाबालिगहरूको संख्या पनि बढिरहेको छ ।
युरोपेली अनुसन्धानकर्ताहरूले अपराधी गिरोह, आतंकवादी समूह र विदेशी राज्यहरू सबैले एउटै अनलाइन वातावरणमा युवाहरू खोज्ने गरेको पाएका छन् । तिनीहरूको लक्ष्य एउटै हुन्छ—प्रभावित गर्न सकिने युवा भेट्ने र तिनलाई काम सुम्पने । रोटरडाममा पक्राउ परेका डच किशोरमाथि सरकारी र सुरक्षा निकायहरूको निगरानी गरेको आरोप छ । युरोपेली अधिकारीहरूका अनुसार अपराधी समूहहरूले नाबालिगहरूलाई सजिलै पहिचान गर्न र भर्ती गर्न सक्छन् । उनीहरूका लागि यस्तो युवा सफल भए पनि ठीक, असफल भए पनि ठीक भन्ने मानसिकताले प्रयोग गरिन्छ ।
विशेषज्ञहरूको निष्कर्ष स्पष्ट छ । यो चुनौतीको सामना गर्न अभिभावक, विद्यालय र समाज सबै सचेत हुनुपर्छ । धेरै अभिभावकले आफ्ना सन्तान साथीहरूसँग मात्र कुरा गरिरहेका छन् भन्ने ठान्छन्, तर वास्तविकता फरक हुन सक्छ । खेल खेल्ने मञ्च, संवाद माध्यम र सामाजिक सञ्जालहरू विदेशी गुप्तचर संस्था, अपराधी गिरोह र आतंकवादी समूहहरूको पहुँचको माध्यम बन्दै गएका छन् । सुरक्षा विश्लेषकहरूको भनाइमा इन्टरनेट युवा पुस्तासम्म पुग्ने अत्यन्त शक्तिशाली ढोका हो । समाजले सामाजिक सञ्जाल कम्पनीहरूको प्रभावबारे सोच्न थालेको छ, तर मस्को वा तेहरानमा बसेर युवाहरूलाई प्रभाव पार्न खोज्ने शक्तिहरूबारे पर्याप्त बहस अझै शुरू भएको छैन । यही नै आजको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको द फाइनान्सियल टाइम्सले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्