नेभिगेशन
प्रदेश

सुन पसल चोरिएको नाटकको पर्दा खुलेपछि ...

बुटवल । चार दशकदेखि सञ्चालनमा रहेको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा गत साता चोरीको हल्लीखल्ली भयो । पसलेका अनुसार चोरले झण्डै डेढ करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना लगेका थिए । सुरक्षित क्षेत्रमा भएको भनिएको घटनाले प्रहरी चोर समात्न निकै दबाबमा प¥यो ।
आफ्नै पसलमा चोरी भएको नाटक रचेको आरोपमा पसले र एक कामदार पक्राउसँगै यो घटनामा नयाँ कोड आएको छ । जेठ १७ गते बिहान करिब १२ः१० बजे रुपन्देहीको बुटवल–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीअनुसार पसलको सटरमा लगाइएको साँचो तोडेर भित्र रहेको सेफ खोली १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको दाबी गरिएको थियो । पसल सञ्चालकले करिब ७० तोला सुनका गहना र काँचो सुन पनि चोरी भएको बताएका थिए । 
घटनापछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा पसलका सञ्चालक ४१ वर्षीय दीपक विक र कामदार ४७ वर्षीय नवीन विकले योजनाबद्ध रूपमा चोरीको नाटक रचेको तथ्य खुलेपछि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी भएको भनिएको ५ तोला ४.१ लाल तौलका सुनका गरगहना तथा १४ केजी ३०० ग्राम बराबरका चाँदीका सिक्का, दाना र ढिक्का अनुसन्धानका क्रममा दीपकको घरबाट बरामद भएको छ । 
घटनाका बेला उक्त पसलको सीसीटीभी बिग्रेको थियो । दीपकले आफू पोखरा गएका बेला घटना भएको प्रहरीलाई बताएका थिए । तर, अनुसन्धानमा दीपक उक्त दिन बुटवलमै भएको खुलेपछि प्रहरीलाई शंका लागेको थियो । बीमा रकम दाबी गर्ने मनसायले घटना नियोजित रुपमा गराइएको खुलेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्