नेभिगेशन
राजनीति
प्रतिनिधिसभाको गतिरोध फुक्यो

बालेनका तर्फबाट परराष्ट्रमन्त्रीको स्पष्टीकरण

सत्तारुढलाई पढाए आङ्दम्बेले पाठ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिका कारण जेठ १८ यता अवरुद्ध प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रहमा शाहले बोलेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको स्पष्टीकरण सुन्न विपक्षी दलहरु तयार भएपछि ११ बजेका लागि बोलाइएको बुधबारको बैठक केही घण्टा ढिला शुरु भएको थियो । जेठ १७ गते शाहले सदनमा प्रश्नोत्तरका क्रममा ‘आफू प्रधानमन्त्री भएपछि थाहा पाएको नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभामा रहेका सबै विपक्षी दल उक्त अभिव्यक्तिको विरुद्धमा उभिएका थिए । 
उनीहरुले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तथ्यहीन भन्दै संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राखेपछि संसद् चल्न सकेको थिएन । बुधबार परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको विवादित भनाइबारे सरकारको धारणा प्रष्ट पारेका छन् । प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा दिएका दुईवटा विवादित अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसद्मा स्पष्टीकरण दिए । उनले मूलतः विपक्षी दलहरुले जवाफ मागिरहेको ‘नेपालले पनि भारतको भूभाग मिचेको छ’ र ‘भारतसँगको सीमा विवादमा बेलायतको पनि सरोकार रहनुपर्छ’ भन्ने प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले प्रष्टीकरण दिँदै प्रधानमन्त्रीको बचाउ गरे । 
खनालले आफ्नो प्रष्टीकरणमा प्रधानमन्त्रीले संसद्मा उल्लेख गरेको सीमासम्बन्धी विषय मूलतः दसगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको बताए । जबकी सांसदले संसद्मा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको सन्दर्भमा सोधेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ आएको थियो । 
‘नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थायी सीमा (फिक्स्ड बाउन्ड्री) को सिद्धान्त अवलम्बन गरिएकाले ‘क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती र बसोबास गर्ने अवस्था छ,’ परराष्ट्रमन्त्री खनालले स्पष्टीकरणका क्रममा भने,‘नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्सांकन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दसगजा क्षेत्र अतिक्रमण तथा ’क्रस बोर्डर अकुपेसन’ को लगत संकलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन् ।’ 
त्यस्तै, उनले नेपाल भारत मामलामा बेलायतको मध्यस्थता पनि नखोजिएको दाबी गरे । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको सीमासम्बन्धी विषयमा जवाफ दिने क्रममा नेपालको सीमांकन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले मित्रराष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो । यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौं । खाली तत्कालीन अवस्थाका थप सन्दर्भ सामाग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परे त्यसको उपयोग गर्ने विषयलाई सम्माननीयज्यूले इंगित गर्नुभएको हो,’ परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भनाइको आशय प्रष्ट पारे । 
त्यस्तै, उनले नेपाल–भारत सीमा द्विपक्षीय विषय भन्दै नेपाल तथा भारतबीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत गर्न नेपाल सधैं प्रतिबद्ध छ ।’
विपक्षी दलमध्ये श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई परराष्ट्रमन्त्रीको  जबाफ स्वीकार्य नभएको बताए ।  जसले गल्ती गरेको हो, उसैले आएर सच्याउनुपर्ने श्रम संस्कृति पार्टीका सांसद हर्क राईको माग थियो । यद्यपि श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीले नै जबाफ दिनुपर्ने अडान लिएको छ । 
परराष्ट्रमन्त्रीको ढाकछोपमा असन्तुष्ट विपक्षी
प्रधानमन्त्री बालेन्द्र शाहको भौगोलिक अखण्डताविरुद्धको अभिव्यक्तिलाई ‘ढाकछोप’ गरेको भन्दै परराष्ट्रमन्त्री खनालको प्रष्टीकरणमा विपक्षी दलहरु असन्तुष्टि जनाएका छन् । परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि संसद्मा आफ्नो धारणा राख्दै विपक्षी दलहरु कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले असन्तुष्टि व्यक्त गरे । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मै प्रधानमन्त्रीको भनाइ र त्यसउपर परराष्ट्रमन्त्रीले दिएको प्रष्टीकरणप्रति असन्तुष्टि जनाए । उनले अब आइन्दा संसद्मा प्रधानमन्त्री नखोज्ने भन्दै तीव्र असन्तुष्टि पोखे । 
‘नेपाली जनताका अन्य कयौँ जीवन्त मुद्दामा छलफल गर्नु छ हामीले । प्रधानमन्त्रीजीलाई संसद् नचाहिएला । तर प्रतिपक्षलाई संसद् चाहिएको छ । फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला । फेरि त्यस्तो नहोस मेरो प्रधानमन्त्रीले,’ आङदेम्बेले भने, ‘तर डर लाग्छ, फेरि पनि उद्दण्डता मच्चाई दिनुहोला । यसमा डर लागिराखेको छ । तर उप्रान्त म उहाँलाई खोज्न चाहन्न । किनभन्दा मेरो मुलुकको समस्या, प्रश्नहरु उहाँको उपस्थिति भन्दा पनि ठूलो छ ।’
अर्को विपक्षी दल एमालेका संसदीय दलका नेता रामबहादुर थापाले पनि परराष्ट्रमन्त्रीको प्रष्टीकरणमा चित्त बुझाएनन् । उनले प्रधानमन्त्रीले निरन्तर रूपमा संसद्को उपेक्षा र उपहास गरेको दाबी गर्दै यसलाई स्वेच्छाचारिता र अधिनायकवाद भएको बताए । ‘परराष्ट्रमन्त्रीज्यूले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई, उहाँको त्यो घोषणालाई यहाँ रक्षा गर्ने, त्यो भनाइ सही थियो भन्ने कुराहरू यहाँ राखेर जानुभयो । तर त्यो स्पष्टीकरणसँग हामी सहमत छैनौँ,’ थापाले भने, ‘त्यो स्पष्टीकरण परराष्ट्रमन्त्रीले दिने होइन, किनभने त्यो वक्तव्य परराष्ट्रमन्त्रीले दिएको होइन । त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ ।’
त्यस्तै अर्को विपक्षी दल नेकपाले पनि परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण अस्वीकार गरेको छ । नेकपा सांसद प्रमेश हमालले प्रधानमन्त्री शाहको विवादित भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने भन्दै खनालले दिएको प्रष्टीकरण आफूहरुलाई मान्य नभएको बताए । ‘प्रष्टीकरणलाई मान्दैनौँ । अस्वीकार गर्छौ । हामी निरन्तर रूपमा आफ्ना असहमतिहरू जाहेर गर्नेछौँ,’उनले भने ।
त्यस्तै, अर्को विपक्षी दल राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको भनाइबारे मन्त्रीले प्रष्टीकरण दिनू नै गलत भएको बताए ।  ‘प्रधानमन्त्रीले अभिव्यक्तिबारे माननीय परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखियो । इतिहास पल्टाएर हेरे हुन्छ । नेपालको इतिहास मात्रै होइन, विश्वकै इतिहास पल्टाउनुहोस्,’ शाहीले भने । 
सत्तारुढलाई पढाए आङ्दम्बेले पाठ 
संसद्मा बुधबार करिब ४० मिनेट समय लिएका प्रमुख विपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदम्बेले सत्तारुढ दललाई स्तब्ध बनाइदिए । उनले प्रधानमन्त्री मात्र होइन सभामुख, अर्थमन्त्री, सत्तारुढ दलका सांसद र सत्तारुढ दलका सभापति रवि लामिछानेसमेतलाई प्रश्नको कठघरामा उभ्याइदिए । 
प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीको विवादित भनाइको सशक्त प्रतिवाद गरे । प्रधानमन्त्रीको संसद्प्रतिको गैरजवाफदेहिताप्रति हैरानी उनले व्यक्त गरे । ‘प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्मलिएर, गरिमामय संसद्को अमूल्य समय खेर फाल्नुहुन्न भन्ने जिम्मेवारीबोध गर्ने कार्यमा कमजोरी गर्न पनि चाहन्न,’ उनले भने, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण थियो । आपत्तिजनक थियो । लज्जास्पद अभिव्यक्ति थियो ।’ 
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठे पनि त्यसमा सरकार किन मौन भन्दै प्रश्न गरे ।  ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीको बारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?,’ उनले वाग्लेलक्षित प्रश्न गरे । 


रास्वपा सभापति लामिछानेलाई पनि आङदेम्बेले छाडेनन् । भारतको राजधानी दिल्लीमा हुँदा सिमानाको र कालापानीको ‘क’ उच्चारण किन गरिएन भनेर प्रश्न गरेका उनले लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति व्यक्त गरे । उनले लामिछानेले भारत भ्रमणमा फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । ‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनुभयो । हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ,’ थप अगाडि बढेर उनले भने । सत्तारुढ दलको सभापतिले गर्नुपर्ने पहल पनि लामिछानेबाट नभएको उनको भनाइ थियो । आङ्दम्बेले यसो भनिरहँदा लामिछानेले असहज महसुस गरेको देखिन्थ्यो ।
प्रधानमन्त्रीले देशविरुद्ध बोल्दा पनि रास्वपाका सांसदहरुले संसद्मा टेबल ड्याङ–ड्याङ गरेर समर्थन गरेको दृश्य इतिहासकै सबभन्दा लज्जास्पद र दुःखद रहेको उनले बताए । ‘ तर, आजको मितिमा म यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिरहेको बडा कारूणिक दृश्य हेरिरहेको छु । सत्ताको कित्ताबाट कोही एक जनाले हिम्मत गर्लान् र मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त, सभामुख महोदय म लज्जित छु – उल्टै कतिपय सांसद मित्र नेपालले भारतको सीमा मिचेकै हो भनेर पुष्टि गर्न न्वारानदेखिको बल लगाएर दौडिएका छन्,’ उनले कटाक्ष गर्दै सत्तारुढ दलका सांसदहरुलाई ‘निर्जिव’ भएको टिप्पणी गरे । 
उनले ‘रास्वपाभित्र अभिव्यक्ति स्वतन्त्रता छ कि छैन ?’ भनेरसमेत प्रश्न गरे । आङ्देम्बेले भने, ‘सत्ताको टेपले टालिएका ती ओठहरू सत्यको पक्षमा बोल्न सकेनन्, उठेनन् । नेपालको संसद्को बहुमत सांसदहरूले स्वीकारेका छन् कि नेपालले भारतको सीमा मिचेकै हो । १८१ वटा हातहरूले गडगडाहट ताली बजाएर समर्थन जनाएर राति निद्रा लाग्यो कि लागेन म सोध्न चाहन्न, खाना खानुभयो कि भएन म त्यो सोध्न चाहन्न ।’
उनले सभामुख अर्यालको भूमिकामाथि प्रश्न मात्र उठाएनन्, कवि भूपी शेरचनको कविता घुम्ने मेचमाथि अन्धो मान्छेको ‘घुम्ने मेच’ मात्रै भन्दै सभामुखमाथि कटाक्ष गरे । प्रधानमन्त्रीको गैरजिम्मेवारीको उपचार नभेटिएपछि आफूहरु पनि उनीजस्तै गैरजिम्मेवार बन्न नसकेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्