नेभिगेशन
दृष्टिकोण

आन्दोलनको उद्देश्य अन्यत्र नमोडियोस्

खासगरी सुशासन र भ्रष्टाचारको विरोधमा उत्रिएको जेनजीको आन्दोलन नेपालको इतिहासमा एउटा नितान्त भिन्न विद्रोहको रुपमा इतिहासमा दर्ज भएको छ । यो कुनै संगठन विशेष वा र कुनै नेतृत्वले गरेको आह्वान भन्दा पनि युवाहरुको स्वःस्फूर्त शान्तिपूर्ण विरोधका रुपमा शुरु भएको हो । जेनजीले उठाएको मागले भ्रष्टाचार र नातावाद कृपावादविरुद्धको सामूहिक आक्रोशलाई मुखर पारेको थियो हो । देशमा व्याप्त दण्डहीनता, राजनीतिक विसंगतिले बाक्क भएका युवा शान्तिपूर्ण रुपमा सडकमा आएर आफ्ना कुरा राखेका थिए ।

अनपेक्षित घटनाक्रमले यो एउटा कलंकको अध्याय बन्दै गएको छ । धेरैले शहादत प्राप्त गरेको यो आन्दोलन झन् हिंसात्मक मोडमा पुग्यो । आगजनी र तोडफोड पक्कै पनि जेनजीको माग थिएन र होइन । देशलाई जलाउने होइन, बनाउने उनीहरुको माग थियो । पछिल्लो पटक विकसित घटनाक्रमले अब हामीलाई संयमित भएर अघि बढ्नुपर्ने देखाएको छ । जेनजीको ऊर्जालाई अब हामीले नवनेपाल निर्माणको उद्देश्यमा केन्द्रित गर्नुपर्ने देखिन्छ ।

सामाजिक सञ्जालमा फैलिएको असन्तोष, पुराना राजनीतिक नेतृत्वप्रति देखिएको अविश्वास र भ्रष्टाचारप्रतिको असह्य आक्रोशको उचित सम्बोधन होस् भन्ने जेनजीले चाहेका थिए । अब उनीहरुको चाह अनुसार पार्टीमा रहेका युवा पुस्ताले राजनीतिक प्रवाहलाई अघि बढाउनु पर्छ । पुराना अनुहारलाई अब दोहोर्‍याउनुको कुनै अर्थ छैन । अबको शासकीय संरचनामा बिचौलिया, भागबण्डाले स्थान पाउनु हुँदैन । समतामूलक, समावेशी संरचना निर्माण गर्दै कुनै पनि खालको अनियमितता नहुने ग्यारेन्टी गरेर देशलाई अघि बढाउनुपर्ने हुन्छ ।

जेनजी विद्रोहको एउडा स्पष्ट सन्देश के हो भने पुरानै ढर्रा र पुरानै चालचलन अब स्वीकार्य छैन । त्यसैले अब बन्ने सरकारको पहिलो दायित्व नयाँ अनुहारले जिम्मेवारी सम्हाल्ने वातावरण बनाउनु पर्नेछ । नयाँ पुस्ताको विश्वास कायम रहने गरी सासकीय व्यवस्था गर्नुपर्ने देखिन्छ । देशको शासकीय संरचनामा युवापुस्तालाई यथोचित प्रतिनिधित्व गर्ने मौका दिँदा मात्र परिवर्तनको आभास हुनेछ । अब परिणाम देखिने गरी काम हुनुपर्नेछ ।

नेपालको राजनीतिक आन्दोलनले स्थापित गरेका मूल्य मान्यताले यथोचित न्याय नपाउँदा निराशा चुलिँदै जाने गरेको देखिन्छ । नेपालमा हरेक आन्दोलनपछि केही न केही आशा पलाएको हुन्छ । तर त्यो आशालाई मलजल गर्नुको साटो त्यसको कुठाराघात गर्ने प्रपञ्च रचिन्छ र प्रत्येक आन्दोलन एउटा निश्चित समयमा व्यर्थ हुन पुग्छ । यो आन्दोलनले त्यस्तो नियति नदोहोर्‍याओस् भन्नेमा अबको नेतृत्व चनाखो हुनुपर्छ ।

यसका लागि नागरिक समाज, प्रबुद्ध वर्ग, सञ्चार जगतले पनि निरन्तर खबरदारी गरिरहनुपर्ने हुन्छ । जेनजीको यो आन्दोलन केवल आक्रोशको विस्फोट मात्र होइन यो त नयाँ पुस्ताले आफ्नो सुरक्षित भविष्यप्रतिको अधिकार माग गरेको अवस्था पनि हो । यसको उद्देश्य र माग स्पष्ट छ– भ्रष्टाचारमुक्त शासन, शासकीय
संरचनामा युवापुस्ताको प्रतिनिधित्व र विसंगति तथा बेथितिमुक्त समाज । अब बन्ने सरकारले यही सन्देशलाई नीति, कार्यक्रम र व्यवहारमा रूपान्तरण गर्न‘को विकल्प छैन । त्यसो हुन सक्दा जेनजीको ऊर्जा र उत्साहले नयाँ नेपाल निर्माण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्