नेभिगेशन
विश्व

‘पैसा भए तिर्नुहोस्, नभए निःशुल्क खानुहोस्’

मिनियापोलिस (एजेन्सी) – सित्तैं खुवाउने कुनै रेस्टुरेन्ट कति लामो टिक्ला ? तर, टिकेको मात्रै नभई नाफसँगै चर्चा कमाउने रेस्टुरेन्ट छ भन्ने थाहा पाउनु सुखद खबर हो । अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा डिलन अल्भर्सनको स्वामित्वमा रहेको एउटा क्याफेले परम्परागत व्यापार मोडेललाई चुनौती दिएको छ । यसको नाम नै अनौठो छ, पोस्ट मोडर्न टाइम्स ।
गएको जनवरीमा अल्भर्सनले आफ्नो व्यवसाय सञ्चालन गर्ने नयाँ तरिका घोषणा गरे । उनले नास्ता, ब्रन्च, बेलुकाको खाना तथा अन्य सबै परिकार ग्राहकलाई निःशुल्क उपलब्ध खुवाउने निर्णय गरे । उनले यसलाई ‘निःशुल्क तथा स्वेच्छिक दानमा आधारित’ भोजनालयको नाम दिएका छन् । यो मोडेलले बिक्रीबाट कर तिर्नुपर्ने अवस्थासमेत छलेको छ ।
क्याफेको वेबसाइटअनुसार यो अवधारणा ‘हामी एक फासिवादी अर्थतन्त्रमा बाँचिरहेका छौं’ भन्ने विश्वासबाट जन्मिएको हो । अल्भर्सनले यस्तो प्रयोग मिनियापोलिसमै गर्नु पनि संयोग होइन । यो सहर आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)का छापामारी कारबाहीका कारण तनावको केन्द्र बनेको थियो । जनवरी ७ मा ३७ वर्षीया लेखिका रेनी गुड आईसीईका एक एजेन्टको गोली लागेर मारिएकी थिइन् । केही सातापछि अर्की ३७ वर्षीया एलेक्स प्रेट्टी पनि सीमा सुरक्षा अधिकारीहरूसँगको झडपमा मारिइन् । ‘अपरेसन मेट्रो सर्ज’ नाम दिइएको उक्त अभियानले व्यापक विरोध प्रदर्शन र प्रहरीसँग हिंसात्मक झडप निम्त्याएको थियो ।
यद्यपि अल्भर्सनको नयाँ व्यापार मोडेल भने सफल देखिएको छ । उनका अनुसार करिब ४० देखि ५० प्रतिशत ग्राहकले खानाको पैसा तिर्दैनन् । तर भुक्तानी गर्ने ग्राहक र प्राप्त हुने दानका कारण क्याफे अहिले नाफामा चलिरहेको छ । अल्भर्सनले द न्यूयोर्क टाइम्ससँग भने, ‘परम्परागत व्यवसाय सञ्चालन गर्दा २२ जनालाई रोजगारी दिँदै आएको थिएँ । तर अहिले मैले पहिलेभन्दा बढी सफलता पाएको छु । यसले कतै न कतै प्रणालीमै समस्या रहेको प्रमाणित गर्छ ।’
तीन सन्तानका पिता तथा विगत १५ वर्षदेखि क्याफे सञ्चालन गर्दै आएका अल्भर्सनले परिवर्तनसँगै मेनु पनि सानो बनाएका छन् । अहिले कर्मचारीहरू स्वयंसेवकका रूपमा काम गर्छन् र उनीहरूको आम्दानी टिप्स तथा दानले जुराइरहेको छ ।
उनी भन्छन्, ‘१५ वर्षदेखि नाफा कमाउन संघर्ष गरिरहेको थिएँ । तर मानिसहरूबाट फाइदा नउठाई नाफा कमाउन सम्भव छैन जस्तो लाग्न थालेको थियो । त्यसैले हामी अहिले त्यो प्रणालीबाट बाहिर निस्कने प्रयास गरिरहेका छौं ।’
रेस्टुरेन्ट व्यवसायलाई संसारकै कठिन व्यवसायमध्ये एक मानिन्छ । अल्भर्सनका अनुसार कोभिड–१९ महामारीअघि पनि नाफा कमाउन सजिलो थिएन । गत वर्ष १३ लाख डलरको कारोबार हुँदा पनि क्याफेले १८ हजार ५०० डलर घाटा बेहोरेको थियो ।
नयाँ मोडेलबाट धेरै कम आय भएका ग्राहक लाभान्वित भएका छन् । उनीहरू राम्रो खाना निःशुल्क खान पाएकोमा आभारी छन् । अल्भर्सनको विश्वास छ, उनको यो प्रयोगले अन्य रेस्टुरेन्ट सञ्चालकलाई पनि नयाँ सोचतर्फ प्रेरित गर्नेछ । उनी भन्छन्, ‘हामीले व्यवसायभित्र विरलै देखिने आर्थिक समानताको एउटा ठाउँ निर्माण गरेका छौं भन्ने कुरा मैले तुरुन्तै महसुस गरेँ । यसबाट हामीले के सिक्न सक्छौं ?’
क्याफेको वेबसाइटमा स्पष्ट लेखिएको छ, ‘हामी सामाजिक मान्यताका सीमाहरूभन्दा बाहिर गएर केही नयाँ निर्माण गरिरहेका छौं । हाम्रा ‘हिप्पी’ पूर्वजहरूको विरासत र ‘पंक’ आदर्शबाट प्रेरित ‘फार्म टु टेबल’ शैलीको ब्रन्च हामीले उपलब्ध गराउँछौं ।’

यो प्रयोगले एउटा रेस्टुरेन्टको व्यापारिक रणनीति मात्र देखाएको छैन, नाफा, श्रम, समानता र समुदायको भूमिकाबारे पनि नयाँ बहस सुरु गरेको यसका पक्षधरहरूको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्