नेभिगेशन
विश्व

ह्वेल चिहानमा फस्टायो जीवन

हिन्द महासागरको गहिरो अन्धकारमय समुद्री गर्तमा लाखौं वर्ष पुरानो ह्वेल चिहान फेला परेको र त्यहाँ मृत ह्वेलका अवशेषवरिपरि आश्चर्यजनक रूपमा विविध समुद्री जीवहरूको समृद्ध समुदाय फस्टाइरहेको वैज्ञानिकहरूले बताएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा गहिरो, सबैभन्दा पुरानो र सबैभन्दा विस्तृत ह्वेल चिहानमध्ये एक हो ।
    दक्षिणपूर्वी हिन्द महासागरको सतहबाट करिब २३ हजार फिट अर्थात् सात किलोमिटर गहिराइमा रहेको यस क्षेत्रमा जेलीफिस, ट्युबवर्म, भंगुर तारा, समुद्री काकडी, स्क्वाट लोबस्टर, नुनिलो पानीका सिपलगायत थुप्रै जीवहरू बसोबास गरिरहेका छन् । वैज्ञानिकहरूका अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्, जसको अहिलेसम्म कुनै अभिलेख छैन ।
    ह्वेल मरेपछि उसका विशाल शरीर समुद्रको पिँधमा पुग्छन् र त्यहाँ रहेका जीवहरूका लागि ती अवशेष दीर्घकालीन खाद्य स्रोत बन्छन् । यही प्रक्रियाले समयसँगै समुद्रको गहिराइमा जीवनले भरिएका विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ ।
    चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन सङका अनुसार ह्वेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रासायनिक संरचनाले यस्ता अद्वितीय पानीमुनिका बासस्थान निर्माण गर्न महŒवपूर्ण भूमिका खेल्छ । उहाँले गहिरो समुद्रको दुर्गम र कठिन वातावरणका कारण यस्ता स्थानहरू पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताउनुभयो ।
    अनुसन्धान टोलीले सन् २०२३ मा सञ्चालन गरिएका गहिरो समुद्री पनडुब्बी अभियानका क्रममा यस क्षेत्रको विस्तृत अध्ययन गरेको थियो । अध्ययनका क्रममा नमूना संकलन गर्नुका साथै ह्वेल चिहानको फैलावटको नक्सांकन पनि गरिएको थियो । टोलीले बलेन ह्वेल र अन्य प्रजातिका ह्वेलका खोपडीसहित पाँचवटा शवस्थल तथा जीवाश्म अवशेष फेला पारेको जनाएको छ । तीमध्ये सबैभन्दा पुरानो हड्डी करिब ५३ लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ ।
    बुधबार वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययनअनुसार ह्वेलका हड्डी र अवशेषमाथि निर्भर असंख्य जीवहरूले त्यहाँ स्थायी बासस्थान बनाएका छन् । अनुसन्धानमा संलग्न नभएका अमेरिकाको मेरिल्यान्डस्थित क्याल्भर्ट मरीन म्युजियमका जीवाश्मविद् स्टिफन गोडफ्रेले सम्भावित नयाँ प्रजातिहरूको संख्या अत्यन्तै उल्लेखनीय रहेको बताए ।
    वैज्ञानिकहरूका अनुसार लाखौं वर्षसम्म हड्डीहरू सुरक्षित रहनुका पछाडि विभिन्न प्राकृतिक कारण छन् । ती हड्डीहरू अत्यन्त घना भएकाले हड्डी खाने समुद्री किराहरूबाट जोगिएका थिए । साथै समुद्रको गहिरो भागमा रहेको अवस्थाले तिनलाई क्षरणबाट बचाएको थियो । हड्डीको सतहमा समुद्री पानीबाट बनेको खनिज तह जमेकाले पनि तिनीहरू संरक्षण हुन मद्दत पुगेको हुन सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।
    यस क्षेत्रमा यति धेरै ह्वेल किन जम्मा भए भन्ने विषयमा भने वैज्ञानिकहरूले विभिन्न सम्भावना अघि सारेका छन् । केही ह्वेल प्राकृतिक कारणले त्यही क्षेत्रमा मरेका हुन सक्ने अनुमान गरिएको छ भने केहीको मृत्यु रोग वा गहिरो समुद्रमा लामो डुबानका कारण भएको हुन सक्ने बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त समुद्री क्षेत्रको ‘भी’ आकारको भौगोलिक संरचनाले पनि ह्वेलका अवशेषलाई एउटै क्षेत्रमा जम्मा हुन सहयोग गरेको हुन सक्छ ।
    अध्ययनका सहलेखक तथा इटालीको पिसा विश्वविद्यालयका जीवाश्मविद् जियोभन्नी बियानुचीका अनुसार यस्ता ह्वेल चिहानको अध्ययनले पृथ्वीका सबैभन्दा कठोर वातावरणमा जीवन कसरी टिकिरहन्छ भन्ने बुझ्न महŒवपूर्ण आधार प्रदान गर्छ । उनले प्रकाश र अक्सिजनको लगभग अभाव तथा अत्यधिक समुद्री चापबीच पनि जीवनले आफूलाई कसरी अनुकूल बनाउँछ भन्ने रहस्य उजागर गर्न यस्ता अनुसन्धान अत्यन्त महŒवपूर्ण रहेको बताए । 
    वैज्ञानिकहरूका अनुसार यो खोजले समुद्रको गहिराइमा रहेका अझै अज्ञात पारिस्थितिक प्रणालीबारे नयाँ जानकारी दिने मात्र नभई पृथ्वीमा जीवनको अनुकूलन क्षमता कति असाधारण छ भन्ने कुरा पनि थप स्पष्ट बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्