जेनजी आन्दोलनको आडमा सर्वत्र लुटपाट, कुटपिट र आगजनी चलिरहँदा नेपालको चलचित्र क्षेत्रले पनि आफ्ना धारणाहरू सार्वजनिक गरिरहेको छ । अभिनेता राजेश हमालले सोमबारको हत्याकाण्डमा दिवगंत भएकाहरूका लागि आयोजित श्रद्धाञ्जली समारोहमा आफ्नो छोटो मन्तव्य राख्दै लुटपाट अन्त्य गर्न र राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन् । सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए ।
‘नेपालमा जेनजीले जुन कदम उठाएको छ, त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन । ती हाम्रा हुन् । तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने । हमालले भोलि देशको नेतृत्वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयम हुन आग्रह गरे । उनले यो आक्रोश एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनुपर्ने बताए ।
यसैबीच, आफ्ना धारणा सार्वजनिक गर्दै कलाकार तथा फिल्म निर्माता दीपक राज गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले केही मानिसहरू बालेन ठीक भन्ने र अर्को समूह रवि ठीक भनेर बहस गर्न थालेका छन् । यो बेला दुवै मिलेर थप विध्वंश रोक्ने र अघि बढ्ने समय हो ।’
यसअघि उनी सहितका केही चलचित्रकर्मीहरूको एउटा समूहले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड रोक्न आग्रह गरेका छन् । भिडियोमा रास्वपाका नेताद्वय गणेश कार्की र सुमना श्रेष्ठ पनि देखिएका छन् । भिडियोमा दीपकराज गिरी, निश्चल बस्नेत लगायतका चलचित्रकर्मीहरूले आगजनी रोक्न आग्रह गरेका हुन् । उनीहरूले आन्दोलन सकिइसकेपछि देशलाई पुनर्निर्माणसमेत गर्नुपर्ने भएकाले विध्वंश रोक्न आग्रह गरेका हुन् ।
भ्रष्टहरूबाट खोसिसकेको सम्पत्तिको रक्षा गर्नु जेन जी आन्दोलनकर्मीहरूको कर्तव्य भएको उनीहरूको धारणा छ । उता गायक शिव परियार लेख्छन्, ‘राजिनामा आएको छ । जेनजी अब तपाईंहरूको हातमा जिम्मेवारी आउँदैछ । त्यसैले अब संयमित बन्दै जाऔँ, भोलि तपाईं हामीलाई चाहिने भौतिक संरचना बचाऔँ !’
उनले धमाधम पार्टी र भातृ संगठनबाट राजीनामा दिइरहेका नेताहरूलाई पनि कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘विद्यार्थी संगठनका नेताहरूले लगालग सदस्यता त्यागेका फेसबुक पोस्टहरू आइरहेका छन् ।उहाँहरूलाई भविष्यमा विश्वास गर्ने आधार के हो ? के छ त ? कतै फेरि घुमाई फिराई भविष्य आफ्नै पार्टीको नाममा जफत गर्न लामो समयको पूर्वनिर्धारित योजनासहित प्यादा छोडिएको त होइन ? सावधान, जेन जीले यो कुरा सदैव याद गर्नुहोस् ।’
राजीनामा दिएको घोषणा गर्नेहरू दुई किसिमको भएको उनको टिप्पणी छ । पहिलो किसिमकाहरू राजनीतिमा कहिल्यै पदको अवसर नपाउनेहरू छन् । दोस्रो चाहिँ मनैदेखि पार्टी र नेताभन्दा माथि मानवीयता र मुटुमा देश बोकेकाहरू छन् । यसमा तेस्रो किसिमका मान्छेहरू पनि रहेको उनले सचेत गराएका छन् ।
उनले त्यस्तालाई अवसरवादी राजनीतिक माफिया भनेका छन् । यस्तोमा सचेत युवाले देशलाई चाहिने युवा मात्र पहिचान गर्न कमजोरी नहोस् भन्ने उनको टिप्पणी छ । ‘धमिलो पानीमा माछा मार्नेहरू यही मौकामा सल्बलाइरहेका छन्,’ उनको भनाइ छ ।
उता फिल्म निर्देशक दिवाकर भट्टराई लेख्छन्, ‘७२ सालमा भूकम्पले चिरा पारेको सिंह दरबार दुनियासँग ऋण खोजेर १० वर्ष लगाएर बल्ल ८२ सालमा उभिएको थियो । यो कुनै नेताको पेवा थिएन । कुनै नेताले आफ्नो नाममा नामसारी गरेका पनि थिएनन् । राणा-राजा-पञ्च-प्रजातन्त्र-गणतन्त्रमा सबैले शासन गरे । आज विध्वंश भयो । चीनसँगऋण खोजेर बनाएको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र–संसद् भवन) पनि जलाइयो ।
ऐतिहासिक शीतल निवास पनि जलाइयो । सर्वोच्च अदालत पनि जलाइयो । कयौँ बिजनेस हाउसहरू सकिए । गाउँमा एउटा वडा कार्यालय भवन बनाउँदा, विद्यालयको एउटा कोठा बनाउँदा, एउटा हेल्थ पोस्ट बनाउँदा कति लगानी लाग्छ, कति दुःख हुन्छ, कति समय लाग्छ । यो त १०० वर्षको इतिहास र पहिचान बोकेको राष्ट्रको सम्पदा जलेर खरानी भयो । अब देश र जनताको सपना पूरा होला त ? देश अब अत्यधिक ऋणको बोझ बोकेर उठ्न सक्ला ? गम्भीर अवस्था आयो ।’
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली लेख्छन्, ‘बैंकहरू लुट्ने चैँ पक्कै पनि जेनजी आन्दोलनकारी होइनन् । हत्यारा भ्रष्टाचारीहरूले राजिनामा गरिसके । तिनको घर जल्यो भने अब यो बैंक लुट्ने चैँ पक्कै पनि आन्दोलनकारी होइन । तसर्थ सावधान रहौँ । लुट्पाट शुरु भयो । नेपाल आर्मीले शान्ति कायम गर्नु पर्यो ।
पछिल्लो समय फिल्म ‘आचार्य’को सुटिङका लागि मुम्बईमा रहेका अभिनेता निखिल उप्रेतीले एउटा भिडियो जारी गर्दै सोमबारको घटनाप्रति दुःख जनाएका छन् । देश नै विचौलियाहरूले अपहरण गरिरहेका, पार्टीका कार्यकर्ताहरूलाई सचेत कार्यकर्ता बनाउनुको साटो लठैत निर्माण गरेका हुनाले अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् । नेताले देशका लागि नसोचेको कुरा साना नानीहरूलाई गोली हानेबाट प्रस्ट हुने उनले बताए ।
उनले भिडियोमा भनेका छन्, ‘जुन बेला हामीले साना नानीहरूमाथि गोली हानिएको खबर सुनेँ, हामीले फिल्मको सुटिङ नै गर्न सकेनौँ । कसैले पनि यहाँ काम गर्न सकेनन् । गरून् पनि कसरी ? हामी यहाँ मुम्बईमा छौँ, देशमा त्यस्तो गोलीकाण्ड मच्चिरहेको छ । यसरी गोली चलाउनु चानचुने घटना होइन ।’
पूर्वप्रधानमन्त्री केपी ओली इतिहासकै सबैभन्दा ठूलो तानाशाहका रूपमा चिनिने उनले बताए । हृदयबाट सोच्ने भावना उनमा नरहेको र बुझ्न पनि नखोजेको भन्दै स्वस्फुर्त आएको आन्दोलनमा गोली चलाउने भन्दै आक्रोशित देखिए । उनले त एक कदम अघि बढेर घुसपैठ गराउने नेता नै रहेको पनि बताए । उनले भनेका छन्, ‘राजीनामा दिएको भरमा, माफी मागेको भरमा, १०–१५ लाख रूपैयाँ दिएको भरमा यिनलाई छाड्न मिल्दैन ।’
उनले अब आइन्दा देखावटी विद्वानका कुरा नसुन्न समेत आग्रह गरेका छन् । देशको वाद देशभित्रैबाट बनाइनु पर्ने, विदेशबाट आयातित वादले देश नबन्ने उनको प्रष्ट विचार छ । उनले जेन जीलाई आफ्नै देशको परम्परा, संस्कृतिलाई याद राख्न पनि सचेत गराएका छन् ।
यसैगरी, अभिनेत्री करिश्मा मानन्धरले सोमबारको घटनापछि नेताहरूको वक्तव्यबाट दिक्क मान्दै फेसबुकमा लेखेकी छन्, ‘मानव भएर जन्मिएको नाताले, मानवता नै मेरो पहिलो प्राथमिकता हो । न्याय मेरो पहिलो प्राथमिकता हो । आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो । र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।’
उनले भनेकी छन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु।’ आफू जनताकै कलाकार रहेको, जनताकै आवाजको पक्षमा रहेको र भविष्यमा पनि त्यही रूपमै रहिरहन चाहन्छु भनेर उनले फेसबुकमा लेखेकी छन् ।
उनी एमालेमा सक्रिय थिइन् । अहिले पनि उनको फेसबूकमा करिश्मा मानन्धर र कोष्टकमा सूर्यकुमारी नाम राखिरहेकी छन् । उनले आन्दोलन हुँदै गर्दा फेसबुकमा लेखेकी थिइन्, ‘यो पुस्ताले अरूको उक्साहटमा आन्दोलन गरेको हो भन्ने भ्रममा पर्नु सरकारको ठूलो भूल हुनेछ । यो चेतनाको लहर हो ।’
उनले भनेकी छन्, ‘हाम्रो पुस्ताले अवस्था स्वीकारेर सम्झौता गर्यो । हामी पछिको पुस्ताले देश छोडेर सम्झौता गर्यो तर यो पुस्ता अब सम्झौता गर्न तयार छैनन् ।’ आन्दोलनलाई शान्तिपूर्ण हुन दिनु सरकारको कर्तव्य हो । युवाले के चाहन्छन् भन्ने कुरा सुन्ने र बुझ्ने काम राज्यको जिम्मेवारी हो । सरकार जनताको हितका लागि बनेको हो, जनतालाई रुवाउन होइन । हत्या–रक्तपात अस्वीकार्य छ । अब हत्या होइन, समाधान होस् भनी टिप्पणी गरेकी थिइन् ।