नेभिगेशन
नेपाल

आज बेलुकी ५ बजेसम्म निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु

काठमाडौं, २५ भदौ । नेपाली सेनाले मुलुकको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर राखी निषेधाज्ञा र कर्फ्यु आदेशबारे सार्वजनिक जानकारी गराएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तीअनुसार, आज (२५ भदौ) बेलुकी ५ बजेसम्म लागू निषेधाज्ञा निरन्तर रहनेछ । त्यसपछि भोलि (२६ भदौ) बिहान ६ बजेसम्म देशभर कर्फ्यु आदेश लागू हुने जनाएको छ ।

सेनाले जारी विज्ञप्तीमा आन्दोलनका क्रममा जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै, शान्ति–सुरक्षा कायम राख्न सबै नागरिकलाई संयमित भई सहयोग गर्न आग्रह गरेको छ ।

आन्दोलनको नाममा केही अराजक समूहले सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण र बलात्कार प्रयाससम्मका घटनाहरू गरिरहेको वा गर्न सक्ने सम्भावना रहेको भन्दै सेनाले यस्ता गतिविधि तत्काल रोक्न आवश्यक सहकार्यको अपेक्षा गरेको छ ।

सेनाले परिस्थितिको मूल्यांकन गरेर आवश्यक थप जानकारी क्रमशः सार्वजनिक गरिने पनि जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्