काठमाडौं । एकाएक उदाएको नयाँ शक्तिले राजनीतिक मूलधारबाट प्रतिनिधित्व खुम्च्याइदिँदा ‘आफूहरूको गल्ती के हो ? कहाँबाट सच्चिने ? जनतामाझ फेरि कसरी जाने ?’ भन्नेमा गृहकार्य र परामर्श गर्नुपर्ने बेलामा कांग्रेसका पुराना नेताहरू पार्टीमा भाग खोज्दै कित्ता फेर्ने तयारीमा छन् । लामो समयदेखि विवादमा रुमल्लिएको नेपाली कांग्रेस अन्ततः फुटतिरै उन्मुख देखिएको हो ।
विशेष महाधिवेशनपछि कांग्रेसभित्र असन्तुष्ट समूहले संस्थापन पक्षले एकलौटी गरेको भन्दै नयाँ पार्टी गठन आफूहरूको बाध्यता बन्न सक्ने बताएको छ । त्यसकै गृहकार्यका लागि उनीहरूले इतरसमूहभित्र एकता कायम गर्दै अलग गतिविधि अगाडि बढाएका छन् । संस्थापन समूहले एकता नचाहेको, अलमलाउने र पार्टी संरचना कब्जा गर्दै गएको निष्कर्षसहित अलग्गै अघि बढ्ने इतरपक्षको तयारी छ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमिति बनेपछि कांग्रेसको शेरबहादुर देउवा र शेखर कोइराला पक्ष असन्तुष्ट छ । संस्थापनसँग असन्तुष्ट रहेपनि अब कसरी अघि जाने ? भन्नेमा उनीहरूको फरक मत देखिएको थियो । देउवा समूहमा नयाँ पार्टी बनाउनुपर्ने मत बलियो भने भने शेखर समूहभित्र पार्टीभित्र आफ्ना मागहरू सम्बोधन भए १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने मत बलियो छ । तर, पछिल्लो समय संस्थापनसमूहले मिडिया ट्रायल गरेको तर गम्भीर संवाद नगरेको भन्दै दुवै समूह एक ठाउँमा आइपुगेका छन् । उनीहरू अहिले पार्टीभित्र एकताको बाधक संस्थापनसमूह भएको दाबी गर्छ ।
‘पार्टी सभापति गगन थापासहित अहिलेको संस्थापन समूह पार्टी भित्र एकता कायम गर्न चाहिरहेको छैन । पार्टी कब्जा भइसक्यो अब सबैलाई मिलाउँदा अन्तरविरोधको सामना गर्नुपर्दैन भन्ने कल्पना गरेर सबैलाई समेट्न नचाहेको हो,’ इतरपक्षका नेता श्याम घिमिरेले भने, ‘संस्थापनको अहिलेकै शैलीले पार्टी विभाजन बाध्यता हुन सक्छ । नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउनसक्छ ।’ नयाँ पार्टी बनेमा त्यसमा देउवा र कोइराला दुवै एक ठाउँमा हुने पनि उनले दाबी गरे ।
इतरपक्ष एकठाउँमा देखिएपछि संस्थापनपक्ष सशंकित देखिएको छ । उपसभापति शर्माले शीर्ष नेताहरूलाई आफूहरूले गरेको ७ बुँदे प्रस्ताव ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् । ‘शान्त चित्तले ७ बुँदे अध्ययन गरेर, त्यसमा थप्ने, घटाउने, परिमार्जन गर्ने प्रस्तावका लागि यहाँहरूबीच चाँडै नै चिया बैठक आयोजना हुनेछ भन्ने विश्वास लिएको छु । हामी सकारात्मक जवाफको प्रतीक्षामा छौं,’ उपसभापति विश्वप्रकाश शर्माले इतरपक्षका शीर्ष नेतालाई पत्र पठाएका छन् ।
इतरपक्षले संस्थापनले छलफलमा गम्भीरता नदेखाएको आरोप लगाएको छ । संस्थापनपक्षको प्रस्तावमा इतरपक्ष आश्वस्त देखिएको छैन । इतरपक्षका नेता डा.प्रकाशशरण महतले पार्टीभित्र एकताका लागि १५औं महाधिवेशनको निष्पक्षता, पारदर्शिता स्वामित्व हुन जरुरी रहेको बताए । ‘उहाँहरूले भनेजस्तो सुनिश्चित गरिहाल्छौं भनेर आधार र विश्वास हुन सक्दैन । ग्यारेन्टी खोजेका छौं भाग खोजेका छैनौं,’ उनले भने,‘ १५औं महाधिवेशन निर्वाचन गर्ने, विधान संशोधन गर्न, क्रियाशील सदस्यता टुंग्याउने साझा संयन्त्र भयो भने महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ ।’
गगनसँग पूर्णबहादुर र शेखरको अविश्वास
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग पार्टी नेतृत्व लिएपछि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले भेट गरे । उक्त भेटमा पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्दै सबैलाई समटेर जाने भद्र सहमति पनि भयो । तर, त्यसयता उनीहरूबीच सार्थक संवाद हुन सकेको छैन ।
पार्टी एकताका लागि छलफल भइरहेको हल्लाकाबीच खड्काले त सभापति थापासँग संवाद नभएको ३१ दिन भयो भन्दै सार्वजनिक रुपमै त्यसको खण्डन गरे । नेता शेखरले पनि पार्टीभित्र आन्तरिक एकताका लागि कुनै प्रस्ताव नआएको बताएका छन् । बाहिर चर्चामा आएजस्तो संस्थापन पक्षले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएको भन्ने दाबीमा कुनै सत्यता नभएको उनको सचिवालयले जनाएको छ । पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपश्चात संस्थापन र इतरसमूहबीचसंवाद हुन सकेको छैन । वैशाख २२ गते सभापति थापाले कोइरालासँग उनको विशालनगरस्थित सचिवालयमै पुगेर भेटेका थिए । तर, त्यसयता शीर्ष तहमा संवाद नभएपछि इतरपक्ष अलग गतिविधिमा केन्द्रित हुन थालेको छ ।
इतरपक्षले शनिबार पूर्वमहामन्त्री विमलेन्द्र निधिको नेतृत्वमा जनकपुरमा भेला सम्पन्न भएको भने आइतबार विराटनगरमा शेखर कोइरालाको नेतृत्वमा भेला हुँदैछ । उक्त भेलामा देउवा र कोइराला पक्षका नेताहरू एके मञ्चमा रहेर इतरपक्ष एक ठाउँ रहेको सन्देश दिने उनीहरूको तयारी छ । कोइरालाको आह्वानमा हुने संस्थापनइतर पक्षको कोसी प्रदेश भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने इतरपक्षका नेता केदार कार्कीले बताए । प्रमुख अतिथि कोइराला रहने उक्त कार्यक्रममा नेताहरू कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, एनपी साउद, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाललगायत सहभागी हुनेछन् ।
देउवा समूहले यसअघि बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिममा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । इतर पक्षका नेता विमलेन्द्र निधिले जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘अहिलेसम्म हाम्रो कुरा १५औं महाधिवेशन साझा गरौं भन्ने हो । त्यो भएन भने हामी नेपाली कांग्रेसको १५औं महाधिवेशनको छुट्टै तयारी गर्छौं ।’ नेता सिटौलाले पनि जेठ मसान्तभित्र कुरा नमिले नयाँ पार्टी बन्न सक्ने बताएका छन् ।
क्रियाशील अद्यावधिक अस्वीकार, विद्रोहको मुडमा ‘हेभिवेट’
क्रियाशील सदस्यता अद्यावधिक नगरेर हेभिवेट नेताहरूले संस्थापन पक्षलाई चुनौती दिएका छन् । इतरसमूहले पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिक गरेको छैन । जेठ २९ मध्यरातबाट अद्यावधिकको अवधि सकिएको छ । कांग्रेसका ७ लाख ८२ हजार क्रियाशीलमध्ये ५ लाख ३८ हजारले सदस्यता अद्यावधिक गरेका छन् । सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक नगर्नेले आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन नपाउने बताए । ‘अद्यावधिक नगरी नेपाली कांग्रेसको सदस्य भएर भूमिका गर्ने स्थिति रहँदैन,’ उनले भने, ‘पार्टीको सदस्यता अद्यावधिक नगराई १५ औं महाधिवेशनमा सहभागी हुन पाइँदैन ।’
देउवा र कोइरालासहित पूर्वउपसभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्रीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालासहितका नेताहरूले पनि सदस्यता अद्यावधिक गराएका छैनन् । झुकेर संस्थापनसँग सहमति नगर्नेमा पुगेका नेताहरू अब अलग्गै महाधिवेशन गर्नेगरी अघि बढेका छन् । प्रदेशस्तरीय भेला सकिएपछि राष्ट्रिय भेला गर्ने र सोही भेलाबाट भेलाबाट १५औं महाधिवेशनको कार्यतालिका घोषणा गरेर अघि बढ्ने इतरपक्षको तयारी छ । इतरपक्षले १५औं महाधिवेशनका लागि अन्तिम गरिएको ९ लाख १३ हजार क्रियाशील सदस्यबाटै अधिवेशन गर्ने पनि बताएको छ ।