नेभिगेशन
विश्व

भविष्यका उद्योगमा दाउ लगाइरहेका मस्क

न्युयोर्क (एपी) – विश्वकै सबैभन्दा धनी व्यक्ति तथा इतिहासकै पहिलो ट्रिलियनर बनेका एलन मस्कको व्यापारिक साम्राज्य पृथ्वीको सतहदेखि अन्तरिक्षसम्म फैलिएको छ । विद्युतीय गाडी, एआई, सामाजिक सञ्जाल, मस्तिष्कमा प्रत्यारोपण गरिने चिप, भूमिगत यातायात प्रणालीदेखि अन्तरग्रहीय मानव बसोबासको परिकल्पनासम्म उनका व्यवसाय विस्तारित छन् ।
विगत दुई दशकमा मस्कले स्थापना एवम् नेतृत्व गरेका धेरै कम्पनीहरू क्रमशः एउटै व्यापारिक संरचनाभित्र जोडिँदै गएका छन् । यस वर्षको सुरुमै उनले आफ्नो एआई कम्पनी एक्सएआईलाई स्पेसएक्ससँग गाभेका थिए । त्यसपछि मस्कको व्यापारिक साम्राज्य झन् केन्द्रीकृत भएको छ । यद्यपि उनी अझै पनि विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, संस्थापक वा प्रमुख लगानीकर्ताका रूपमा सक्रिय छन् ।
सन् २००२ मा स्थापना गरिएको स्पेसएक्स अहिले मस्कको सबैभन्दा महŒवाकांक्षी परियोजनामध्ये एक मानिन्छ । सुरुमा रकेट निर्माण कम्पनीका रूपमा स्थापित स्पेसएक्स आज उपग्रह सञ्चार सेवा, एआई र सामाजिक सञ्जालसम्म फैलिएको छ । कम्पनीअन्तर्गत सञ्चालित स्टारलिंक सेवा अहिले यसको प्रमुख आम्दानी स्रोत बनेको छ । गत वर्ष मात्रै स्टारलिंकले ४.४ अर्ब अमेरिकी डलर सञ्चालन नाफा आर्जन गरेको थियो ।
स्पेसएक्सकै संरचनाभित्र अहिले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) पनि समेटिएको छ, जसलाई मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । पछि एक्सलाई ग्रोक च्याटबोट निर्माण गर्ने एक्सएआईसँग जोडिएको थियो । यद्यपि एक्स र एक्सएआई दुवै अझै घाटामा रहेका व्यवसाय हुन् । गत वर्ष एक्सएआईले मात्र ६.४ अर्ब डलर सञ्चालन घाटा बेहोरेको थियो भने स्पेसएक्सको समग्र सञ्चालन घाटा २.६ अर्ब डलर पुगेको थियो ।
त्यसका बाबजुद कम्पनीले लगानीकर्ताहरूमा ठूलो उत्साह सिर्जना गर्न सफल भयो । यसै साता स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर कारोबार सुरु गरेको थियो । पहिलो दिन कारोबार बन्द हुँदा कम्पनीको बजार मूल्य २.१ ट्रिलियन डलर पुगेको थियो ।
स्पेसएक्सले भविष्यमा एआईका क्षेत्रमा अग्रणी बन्ने र मानव जीवनलाई बहुग्रहीय बनाउने लक्ष्य सार्वजनिक गर्दै आएको छ । अन्तरिक्षमै डेटा सेन्टर स्थापना गर्नेदेखि मंगल ग्रहमा मान्छेको बस्ती बसाल्नेसम्मका योजना कम्पनीले प्रस्तुत गरेको छ । यद्यपि यस्ता महŒवाकांक्षी योजनाहरू अझै परीक्षणकै चरणमा रहेका प्रविधि र विशाल लगानी आवश्यकतामा निर्भर छन् ।
मस्कको अर्को चर्चित कम्पनी टेस्ला हो । सन् २००८ देखि उनी यस विद्युतीय सवारीसाधन निर्माता कम्पनीको सीईओ छन् । एक समय विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनीको रूपमा रहेको टेस्लाले पछिल्ला वर्षहरूमा कडा प्रतिस्पर्धा सामना गरिरहेको छ । विशेषगरी चीनको बीवाइडीले गत वर्ष टेस्लालाई उछिन्दै विश्वकै ठूलो विद्युतीय सवारी निर्माता कम्पनीको स्थान हासिल गरेको थियो ।
मस्कको राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै भएका बहिष्कार अभियानले पनि टेस्लाको बिक्रीमा असर पारेको थियो । यद्यपि पछिल्लो समय बिक्री केही सुधारिएको छ । मस्क भने टेस्लाको भविष्य कार बिक्रीमा मात्र सीमित नभई स्वचालित ‘रोबोट्याक्सी’ सेवामा रहेको बताउँदै आएका छन् । उनका अनुसार भविष्यमा मानिसहरूले आफ्नै कार किन्नेभन्दा पनि स्वचालित सवारीमार्फत यात्रा गर्ने प्रवृत्ति बढ्नेछ ।
टेस्लाले घर तथा व्यावसायिक प्रयोजनका लागि रोबोट उत्पादन पनि विस्तार गरिरहेको छ । साथै सौर्य ऊर्जा क्षेत्रमा पनि कम्पनी सक्रिय छ । मस्क र उनका दुई जना भाइबन्धुले स्थापना गरेको सोलारसिटी कम्पनी खरिद गरेपछि टेस्लाले ऊर्जा व्यवसायलाई समेत आफ्नो रणनीतिक क्षेत्र बनाएको हो । सन् २०१० मा सार्वजनिक सेयर निष्कासन गरेको टेस्ला अहिले करिब १.५ ट्रिलियन डलर बजार मूल्य भएको कम्पनी बनेको छ ।
मस्कले सन् २०१६ मा सह–स्थापना गरेको न्युरालिंक अर्को चर्चित परियोजना हो । यो कम्पनीले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रविधि विकास गरिरहेको छ । मेरुदण्डमा चोट लागेका, एएलएसलगायत स्नायु प्रणालीसम्बन्धी रोग भएका व्यक्तिहरूका लागि न्युरालिंकले क्लिनिकल परीक्षण सञ्चालन गरिरहेको छ ।
कम्पनीले पछिल्ला वर्षहरूमा केही व्यक्तिमा मस्तिष्क प्रत्यारोपण सफल भएको जनाएको छ । यस वर्षको सुरुसम्म विश्वभर २१ जना परीक्षण सहभागीहरू न्युरालिंक कार्यक्रममा सहभागी रहेको कम्पनीले जनाएको थियो । दीर्घकालीन रूपमा मानव मस्तिष्क र एआईबीच प्रत्यक्ष अन्तक्र्रिया सम्भव बनाउने लक्ष्य कम्पनीको छ ।
यसैगरी मस्कले स्थापना गरेको ‘द बोरिङ कम्पनी’ भूमिगत सुरुङ निर्माण तथा यातायात सेवामा केन्द्रित छ । लस भेगासमा निर्माण भइरहेको ‘भेगास लुप’ परियोजना यसको सबैभन्दा चर्चित योजना हो । भूमिगत सुरुङमार्फत टेस्ला सवारी प्रयोग गरेर यात्रु ओसारपसार गर्ने यो प्रणाली सन् २०२१ देखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
कम्पनीले भविष्यमा दुबई र न्यासभिललगायत शहरमा पनि यस्तै परियोजना विस्तार गर्ने योजना बनाएको छ । तर सुरक्षा मापदण्ड र वातावरणीय नियम उल्लंघन गरेको आरोपका कारण कम्पनीले आलोचना पनि खेप्दै आएको छ । लस भेगासमा यसको पूर्ण परियोजना अझै सम्पन्न भइसकेको छैन ।
आजको विशाल व्यापारिक साम्राज्य निर्माण गर्नुअघि मस्कले आफ्नो प्रारम्भिक सम्पत्ति दुई प्रविधि कम्पनीबाट कमाएका थिए । उनले स्थापना गरेका जिप–टु र एक्स डटकमपछि बिक्री भएका थिए । एक्स डटकम नै पछि पेपालका रूपमा विकसित भएको थियो ।
यी कम्पनी बिक्रीबाट प्राप्त करिब २० करोड डलरको पुँजी नै मस्कका लागि निर्णायक मोड साबित भयो । त्यही रकम प्रयोग गरेर उनले स्पेसएक्स स्थापना गरे र टेस्लामा लगानी बढाए । त्यसपछि सुरु भएको यात्रा आज पृथ्वीको सडक, भूमिगत सुरुङ, मानव मस्तिष्क, सामाजिक सञ्जाल र अन्तरिक्षसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यमा रूपान्तरित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्