ढाका, (एएनआई) । बंगलादेशको नवनिर्वाचित सरकारले भारत महŒवपूर्ण क्षेत्रीय साझेदार रहेको भन्दै आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउने बताएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले भारतसँग रचनात्मक सहकार्यको महŒवमा जोड दिँदै शनिबार भने, ‘छिमेकी देशहरूले आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउन मिलेर काम गर्नुपर्छ ।’
भारतसँगको बंगलादेशको सम्बन्धबारे एएनआईसँग कुरा गर्दै कबिरले भूगोलको वास्तविकता र क्षेत्रीय सहयोगको आवश्यकतालाई जोड दिए । उनले भने, ‘यस क्षेत्रभित्र सामान्य कूटनीतिक सम्बन्ध हुनु राम्रो हो । भारत हाम्रो छिमेकी हो, विगत केही बर्ष उनीहरुले हामीलाई छानेनन्, हामीले पनि उनीहरुलाई छानेनौं । तर हामी छिमेकी हौं । हामी सँगै बस्नुपर्छ, हामीले यस क्षेत्रमा सँगै काम गर्नुपर्दछ र सहकार्य गर्नुपर्छ ।’
‘यदि दुवै देशका नेतृत्वमा यो मानसिकता भएमा हामी वास्तवमै दुई असल छिमेकी बन्न सक्छौं । हामी सँगै काम गर्न सक्छौं । हामी व्यापार र लगानी खोल्न र विस्तार गर्न सक्छौं,’ कबिरले भने । उनले बंगलादेश र भारतबीच व्यापार र सम्पर्कका विभिन्न क्षेत्रमा साझेदारी हासिल गर्नुपर्ने महŒवमाथि जोड दिए ।
‘अर्थव्यवस्थाको फाइदाको लागि, एक निष्पक्ष व्यवस्था आवश्यक छ, र साझेदारी हुनुपर्छ । कनेक्टिभिटीको क्षेत्रमा पनि यही कुरा लागू हुन्छ । बजारमा पहुँच धेरै महŒवपूर्ण छ । यो फाइदा लिन म कुनै समस्या देख्दिनँ । साझेदारी एक अर्काको सार्वभौमिकताको लागि पारस्परिक सम्मानमा निर्माण हुनुपर्दछ र यो वास्तवमै दुवै पक्षका लागि सबै उपायमा लाभदायक हुनु आवश्यक छ,’ बंगलादेशका प्रधानमन्त्रीका सल्लाहकार कबिरले भने । उनले भारतसँग पनि अन्तरसम्बन्ध बढाउनुपर्ने कुरामा जोड दिए ।
उनले भने, ‘यदि कनेक्टिभिटीले बंगलादेश का जनतालाई फाइदा पुर्याउँछ र हामीले भारतभित्र बजार पहुँच प्राप्त गर्छौं भने त्यसमा म कुनै समस्या देख्दिनँ । विगत १५ वर्षमा बंगलादेशमा लोकतान्त्रिक सरकार थिएन र बंगलादेश र भारतका जनताबीच कुनै सम्बन्ध पनि थिएन । यसको एउटै मात्र सम्बन्ध शेख हसिनासँग थियो । अहिले हामीले भारतबाट संकेत पाइरहेका छौं कि भारत र बंगलादेशका जनताबीचको सम्बन्ध फराकिलो हुँदै गएको छ ।’
सल्लाहकार कबिरले दुवै देशका विभिन्न तहका जनताबीच आदान–प्रदान र अन्तरक्रियाको महŒव दिँदै दुवै देशका जनताबीच विश्वास निर्माण गर्नु सबैभन्दा महŒवपूर्ण पक्ष हो भन्ने कुरामा जोड दिए । उनले भने, ‘दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्राज्ञिक, सांस्कृतिक अभियन्ता, राजनीतिज्ञ, व्यवसायी र जनस्तरमा अन्तरक्रिया बढाउनुपर्छ । हामीलाई सुरक्षामा पनि सहकार्य चाहिन्छ, तर सुरक्षा सहयोग अलिकति शंका र विश्वासमा निर्भर छ । त्यसैले हामी दुवै देशका जनताबीच विश्वास बढाउन आह्वान गरिरहेका छौं ताकि सुरक्षा सहयोग स्वाभाविक रूपमा बढ्न सकोस् ।’
उनले ‘हामी यो गर्न सक्षम हुनेछौं’ भन्दै चुनौतीलाई सम्बोधन गरेर अघि बढ्ने र निकट भविष्यमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले भारत भ्रमण गर्ने संकेतसमेत दिए । उनले भने, ‘भारत हाम्रो महŒवपूर्ण क्षेत्रीय साझेदार हो । प्रधानमन्त्रीको अनुकुलतामा कुनै बिन्दुमा भ्रमण हुनेछ ।’