नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स सदाबहार योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को अनलाइन दर्ता तथा कारोबार प्रणाली सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको यस योजनामार्फत लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यममार्फत विभिन्न सेवा सहज रूपमा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । नयाँ प्रणालीमार्फत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन, रकम भुक्तानी गर्न, व्यवस्थित लगानी योजना (एसआइपी) मा दर्ता हुन, एसआइपी किस्ता भुक्तानी गर्न तथा लाभांश पुनः लगानी योजनामा आबद्ध हुन सक्नेछन् । साथै, अनलाइन साइन–अप र लगइन सुविधा समेत उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यो प्रणालीले लगानीकर्तालाई २४ घण्टा, सातै दिन सेवा उपलब्ध गराउनेछ । यसबाट भौगोलिक दूरी र कार्यालय समयको सीमाबिना नै सहज रूपमा लगानी सेवा प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच वृद्धि तथा पूँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुसार यो प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि प्रविधिमार्फत अझ सहज, सुरक्षित र पारदर्शी सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित योजनालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको यस संस्थामा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी, व्यवसायीहरूको समेत लगानी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्