नेभिगेशन
अर्थतन्त्र

त्रिशुली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशुली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्मित पुलको महासंघका अध्यक्ष निकोलस पाण्डेले उदघाटन गरेका थिए । 
भदौ १० को भोटेकोशीको बाढीपछि नुवाकोट जिल्लाका निर्माण व्यवसायीहरूले आफन्त गुमाउँदाको ठूलो पीडालाई समेत शक्तिमा बदली अत्यन्त छोटो अवधिमै पुल निर्माण गरेका कारण दैनिक हजारौं स्थानीय लाभान्वित भएको जानकारी अध्यक्ष पाण्डेले दिए । ‘यो पुल निर्माणपछि निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय कार्य गर्न सक्दैनन् भन्ने कुराको खण्डन भएको छ’ अध्यक्ष पाण्डेले भने । अध्यक्ष पाण्डेले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पनि देशभरका निर्माण व्यवसायीहरूबाट १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिएको जानकारी दिए ।
कर्मचारीतन्त्रले बाधा नगर्ने हो भने मुलुकका निर्माण व्यवसायीहरूले अझ उत्कृष्ट काम गर्न सक्ने अध्यक्ष पाण्डेले बताए । राज्य विपतमा परेको समयमा महासंघले विगतदेखि नै सबै किसिमको सहयोग गर्दै आएको उनले बताए । वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौ लाभान्वित हुने गरी पुल निर्माण भएसँगै यस समाजले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्