नेभिगेशन
खेलकुद
एनपिएलको तयारी व्यापक

खेलाडीहरूको आबद्धता घोषणाले रन्कियो खेल

वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।
    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने प्रतिक्रिया दिनुभएको छ ।  
    “रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खड्काले भन्नुभयो ।
    अठ्ठाइस वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेट प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले वेष्ट इण्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै क्रमशः ८७३ र एक हजार १२३ रन बनाएका छन् ।
     यस्तै, आज नै जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ । चौबिस वर्षीय साह पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका बलर हुन् ।  
    उनले सन् २०२६ को पिएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएका थिए । त्यसपछि साहले यही वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिए । उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए ।
 यसैगरी, बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले शुक्रबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।”
बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए । 
विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।
शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए । 
उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् । 
यसैगरी दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर पनि एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।  
मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार ८०४ रन बनाएका छन् । यस प्रारूपमा उनको ब्याटिङ औसत ३३.७८ र स्ट्राइक रेट १४१.४० रहेको छ ।
मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् ।
सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तरराष्ट्रिय खेले खेलेका छन् । उनले विभिन्न १३ वटा व्यावसायिक लिग खेलिसकेका छन् ।
यस्तै, पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो । 
‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।  
फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए । उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए ।  
उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो । ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन् । 
उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तरराष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् ।  
समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन् । उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन् । 
फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ । कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ ।  
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्