नेभिगेशन
नेपाल

दुई दिनको बिदाले पर्यटकीय गन्तव्य चलायमान

बागमती । सातामा दुईदिने बिदा सहज अवस्थामा भएको होइन । खाडी द्वन्द्वका कारण इन्धन संकट बढेपछि सरकारले आइतबार पनि बिदा दिन सुरु गरेको हो । सातामा दसई दिन बिदाले एकातिर विद्यालयहरुमा विद्यार्थीको कोर्स नपुग्ने चिन्ता भइरहँदा पर्यटकीय गन्तव्यमा सकारात्मक प्रभाव परेको छ । 
शनिबार र आइतबार सार्वजनिक बिदा हुँदा पर्यटकीय गन्तव्यमा भीडभाड भइरहेको छ । व्यापार बढेको छ । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ । साथै जंगल सफारीका लागि जिप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने ठाउँ सबैतिर पर्यटकहरू खचाखच छन्  ।
प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यको उपमा दिइने चितवन पनि मुलुकमा तिनै पर्यटकीय महŒव बोकेको गन्तव्यमध्येमा एक हो । विशेषगरी जल पर्यटन, वन्यजन्तुु अवलोकन आदिका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा चितवनले आफ्नो पहिचान बनाइसकेको छ ।
वरिष्ठ पर्यटन व्यवसायी एवं युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला समयमा चिवनमा आन्तरिक पर्यटककको आगमन पनि बढ्दो अवस्थामा रहेको जानकारी दिए । सरकारले शनिबार र आइतबार दिएको दुुई दिने बिदाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको उनले बताए ।     
‘यतिबेला चितवनमा गर्मी हुने भएकाले पर्यटकको सिजनका रुपमा लिइँदैन,’ उनले भने, ‘दुुई दिने बिदाको समय घुमफिर गरी उपयोग गर्नका लागि गर्मीको कुनै परवाह नगरी पर्यटक आउने गरेका छन् ।’
    
पछिल्ला समयमा बिदालाई अधिकांशले घुमफिरमा उपयोग गर्न थालेको उल्लेख गर्दै उहाँले यसअघि लगातार चार दिनसम्म बिदा पर्दा एउटै समूहका व्यक्तिहरू चितवनको सौराहादेखि लुम्बिनी हुँदै पोखरासम्म्म भ्रमण गरेको आफूले प्रत्यक्ष देखे भोगेको जानकारी गराए । 
पर्यटकको सुविधालाई लक्षित गरी सहकारीले हाल ३० वटा हात्ती सफारीका लागि प्रयोग गरिरहेको उनले बताए । पर्यटकले यहाँ आएर बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म, दिउँसो १ देखि ३बजेसम्मका साथै बेलुका ४ः३० देखि ६ बजेसम्म हात्ती सफारी गर्न पाउँछन् ।
करिब डेढ घण्टा हात्ती सयर गरेबापत आन्तरिक पर्यटकले  १६ सय ५० रुपैयाँ बुझाउने पर्यटन व्यवसायी अमित गुरुङले जानकारी दिए ।     
अर्का पर्यटन व्यवसायी आशिष रेग्मीका अनुुसार हात्ती सयर चितवनको महत्वपूर्ण पर्यटकीय आकर्षण बने पनि कोभिड–१९ यता हात्तीको किनबेच भएको छैन । यसअघि रहेका हात्तीबाट नै हात्ती सयर गराउँदै आइएको छ ।
एउटा हात्तीलाई पाल्नका लागि दुई जना कर्मचारीसहित महिनामा एक लाखभन्दा बढी खर्च हुने उनले बताए । सामान्यतः एउटा हात्तीलाई दिनमा करिब २५ किलो धान, दुई किलो चना, ढिके नुन, सक्खर आदि आवश्यक पर्दछ । 
पछिल्ला वर्षमा चितवनको सौराहा वन्यजन्तुु अवलोकनका साथै जलविहारसमेतका कारण प्रसिद्ध रहेको उनले बताए । पर्यटकलाई लक्षित गरी बनाइएका होटल, लज, रिसोर्ट र रेष्टुराँका कारण यहाँ आउने जो कोही पर्यटकलाई खान बस्नको असुविधा छैन ।     
चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका साथै चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षणयुक्त बनेको छ । हात्ती तथा जीपमा सयर गरी जंगल सफारी, वन्यजन्तु अवलोकन, चरा अवलोकन, राप्ती नदीमा डुंगा सयर गर्दै चराचुरुङ्गी, गोही आदिको अवलोकन, सूर्यास्त अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेको छ । 
    
त्यस्तै स्थानीय थारु संस्कार र संस्कृतिको अवलोकन पनि यहाँका प्रमुख आकर्षणका रुपमा छन् । बालकदेखि वृद्धसम्म सबैजसो उमेर समूहका व्यक्तिहरूले यहाँ आएर हात्ती सफारी गरी बँदेल, बाघ, गैँडा, गोही, बाँदर आदि वन्यजन्तुुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्ने गर्दछन् । सफारीका क्रममा देखिने हरियालीका साथै घाँसे मैदानहरूले पनि यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
यहाँको राप्ती नदीमा डुङ्गामार्फत जलविहारका क्रममा नदी किनारामा घाम तापेर बसेका देखिने गोही, ठाउँठाउँमा देखिने गैंडालगायतका वन्यजन्तुु, चराचुरुङ्गी आदिले जो कोहीलाई लोभ्याउने गरेको छ ।
पर्यटकको बढ्दो आगमनसँगै यस क्षेत्रका होटेल तथा रेष्टुराँहरू राम्रैसँग चलिरहेको टिफिन होम एण्ड रेष्टुराँका सञ्चालक स्वस्तीका भट्टले जानकारी दिइन । पछिल्ला वर्षमा सबैजसो याममा यस क्षेत्रमा पर्यटकको आगमन बढिरहेको उनले बताइन । हप्ताको दुई दिन बिदाले आन्तरिक पर्यटनमा सकारात्मक परिवर्तन देखिएको व्यवसायीको अनुुभव छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्