नेभिगेशन
नेपाल

कांग्रेसले भन्यो – ‘समाधान संयम, संवाद र एकताले’

काठमाडौं (संवाददाता)– जेनजी आन्दोलन र देशको राजनीतिक अनिश्चिततालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयम, संवाद र एकताको मार्गलाई नै समाधानको आधार मान्नुपर्ने बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूले राजनीतिक गतिरोधको निकासका लागि राष्ट्रपतिले थालेको पहलको स्वागत गर्दै वार्ता र सहमति नै स्थायी बाटो हुनेमा जोड दिएका छन् । 

दुई दिनयता भएको घटनाक्रमलाई दुःखद भन्दै सोमबारको प्रदर्शनमा भएको मानवीय क्षति र मंगलबार सार्वजनिक सम्पत्तिमा गरिएको आगजनीप्रति उनीहरूले गहिरो दुःख व्यक्त गरेका छन् । जेनजी युवाहरूको शान्तिपूर्ण माग जायज भए पनि आन्दोलनमा नियोजित ढंगले घुसपैठ गरी हिंसा र तोडफोड गराइएको आरोप उनीहरूको छ । त्यसको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ । 

महामन्त्रीद्वयले प्रधानमन्त्रीको ढिलासुस्तीले स्थिति बिग्रिएको स्वीकार गर्दै भविष्यमा यस्ता दुर्भाग्यपूर्ण घटना नदोहोरिन राजनीतिक नेतृत्वले समयमै सही निर्णय लिनुपर्ने बताएका छन् । शेरबहादुर देउवामाथि भएको आक्रमणसहितका हिंसात्मक घटनाको निन्दा गर्दै कांग्रेसले लोकतान्त्रिक संस्थामाथि भएको आक्रमणलाई अस्वीकार्य ठहर गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसले आफ्नो विगतको कमी कमजोरी आत्मालोचनासहित स्वीकार गर्ने र नयाँ पुस्ताको आकांक्षाअनुसार दललाई पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘संविधानभन्दा पछि फर्कन नदिने, लोकतान्त्रिक बाटोमै समाधान खोज्ने र देशलाई पुनर्निर्माणतर्फ उन्मुख गराउने हाम्रो संकल्प दृढ छ ।’ विपरीत परिस्थितिमा पनि नेपाली समाजको विशेषता एकता र सद्भाव भएको स्मरण गर्दै कांग्रेसले देश–विदेशका सबै नेपालीलाई संयमित रहन र शान्ति समाधानको पक्षमा उभिन आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्