नेभिगेशन
नेपाल

शिवपुरीबाट ओलीको सन्देश : व्यवस्था जोगाउनु नै मेरो जीवनको उद्देश्य

काठमाडौं, भदौ २५ एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर ‘जेनजी’ युवाप्रति भावुक सन्देश पठाएका छन् । उनले आन्दोलनमा संलग्न नयाँ पुस्तालाई निर्दोष ठहर गर्दै, पछिल्ला हिंसात्मक घटनामा षड्यन्त्रकारी समूहको खेल रहेको दाबी गरेका छन् । जेन्जी प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर एक दर्जनभन्दा बढीको मृत्यु र चार सयभन्दा बढी घाइते भएपछि आन्दोलन चर्किएको थियो ।

आन्दोलन चर्किएपछि पदबाट राजीनामा दिएर ज्यान जोगाउन लुकेका उनको सन्देश बुधबार सामाजिक सञ्जालमार्फत आएको हो । ओलीले आफ्नो व्यक्तिगत पीडा उल्लेख गर्दै भनेका छन्, ‘व्यवस्था परिवर्तनको लडाइमा सत्ताले दिएको यातनाका कारण मेरा आफ्नै सन्तान भएनन्, तर बच्चाहरूको वरिपरि रहन पाउँदा म सधैं आनन्दित हुन्छु । प्रहरीको गोलीले युवाको जीवन खोसिएको सुन्दा मेरो घाउ अझै ताजा हुन्छ ।’ 

उनले २०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट गोली नचलेको उदाहरण दिँदै आफू सधैं शान्तिको पक्षमा उभिएको दाबी गरेका छन् । जेनजी आन्दोलनतर्फ इंगित गर्दै ओलीले भनेका छन् ‘देशका संवेदनशील कार्यालयमा आगजनी, कारागारबाट कैदी छुटाउने गतिविधि सामान्य थिएनन् । ती युवाको स्वस्फूर्त प्रदर्शन मात्र होइन, पछाडि गहिरो षड्यन्त्र छ ।’ उनले जनतालाई आवाज उठाउने अधिकार दिने व्यवस्था बचाउन सबै संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । 

ओलीले आफ्नो राजनीतिक जीवनमा जिद्दीपनले आजसम्म अघि बढाएको उल्लेख गर्दै लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई नक्सामा समेट्ने निर्णयदेखि सामाजिक सञ्जाल सूचीकरणसम्मका मुद्दामा आफू अडानमा रहँदै आएको बताएका छन् । ‘पद, प्रतिष्ठा मेरा लागि कहिल्यै महत्वपूर्ण रहेन । व्यवस्थाको विषयमा सम्झौता हुँदैन,’ उनले सन्देशमा लेखेका छन् । सन्देशमा उनले नयाँ पुस्तालाई लोकतान्त्रिक अधिकारको मूल्य बुझाउन आग्रह गर्दै यो व्यवस्था जोगाउनु नै आफ्नो जीवनको मूल उद्देश्य रहेको दोहोर्‍याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्