काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ। सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ।
कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या यस वर्ष पनि अधिक रहेको पाइएको छ। कार्यालयका तथ्याङ्कअनुसार गत साल साउनमा ८४४, भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मङ्सिरमा ९२९, पुसमा ४२८, माघमा ८६४, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ र जेठमा एक हजार ५५८ नागरिकता जारी भएको छ। यही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या भने १० हजार ६९ रहेको छ।
त्यसैगरी, गत साउनदेखि जेठसम्मको अवधिमा ३६ वटा गैरआवासीय नागरिकता जारी भएको छ भने नागरिकता परित्याग गर्नेको सङ्ख्या ४७ रहेको छ। यही अवधिमा आठ नागरिकता रद्द र आठ अङ्गिकृत नागरिकता जारी गरिएको कार्यालयको कार्यप्रगति विवरणमा उल्लेख छ।
त्यस्तै, गत जेठसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको सङ्ख्या २७ हजार ३२५ रहेको छ। गत साउनमा मात्र यो सङ्ख्या तीन हजार ४५३ रहेको थियो भने भदौमा दुई हजार ८९७, असोजमा एक हजार ९६२ नागरिकले आवेदन दिएका थिए। यस्तै कात्तिकमा दुई हजार २९२ जनाले आवेदन दिएका थिए। मङ्सिरमा दुई हजार ७८९, पुसमा दुई हजार २४८, माघमा दुई हजार ५८३, फागुनमा एक हजार ४५९, चैतमा दुई हजार १२३, वैशाखमा दुई हजार १६४ र जेठमा तीन हजार ३५५ जनाले आवेदन दिएको जनाइएको छ।
यही अवधिमा छ हजार ६१६ राष्ट्रिय परिचययपत्र कार्ड वितरण भएका छन् भने ५०१ दलित र जनजाति परिचयपत्र जारी भएको छ। कार्यालयका अनुसार १२ हजार ३७ राहदानीको आवेदन दर्ता भएकामा ११ हजार ५८२ कार्ड वितरण भएको छ भने सोही अवधिमा ५५७ नाबालक परिचयपत्र जारी भएको छ।
त्यसैगरी, कार्यालयमा दर्ता १०२ मुद्दामध्ये ६७ वटा फछर्याैट भएको छ भने २११ ठाडो उजुरी दर्तामा २०१ वटा फछर्याैट भइसकेको जनाइएको छ। कार्यालयमा यस वर्ष १९ वटा नयाँ सङ्घसंस्था दर्ता भएका छन्, १९४ वटा नवीकरण भएका छन्। पाँचवटा हातहतियार नवीकरण भएको कार्यालयले जनाएको छ।
कार्यालयले यही अवधिमा सहिद परिवार, द्वन्द्वपीडित परिवार र वैदेशिक रोजगारपीडित परिवारलाई रु एक करोड २१ लाख ३५ हजार ९८१ तथा विपद्मा परेकाका लागि रु २२ लाख ७५ हजार राहत वितरण गरेको छ। यस्तै कार्यालयले हालसम्म कुल रु छ करोड ५० लाख ६८ हजार ५२९ राजस्व सङ्कलन गरेको छ भने चालु खर्च रु दुई करोड ६३ लाख १५ हजार ४६६, पुँजीगत खर्च रु १० लाख ७४ हजार ११६ र विविध खर्च रु पाँच करोड २९ लाख ७० हजार २४९ भएको जनाएको छ। धरौटी विवरणबाट आम्दानी रु तीन करोड ५२ लाख ४७ हजार ७३३ प्राप्त भएको छ भने धरौटी फिर्ताबापत रु ३४ लाख नौ हजार ३९२ दिइएको छ। यही अवधिमा ३४५ पटक विशिष्ट व्यक्तिको भ्रमण भएको जनाइएको छ।
कार्यप्रगतिबारे प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवाप्रवाहलाई छिटोछरितो र सहज बनाउन थप प्रयास भइरहेको बताए। 'शान्ति–सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, यसलाई थप चुस्त बनाउने प्रयास भइरहेको छ,' उनले भने। रासस