काठमाडौं (संवाददाता) – आन्तरिक सरकारका लागि जेनजीले प्रस्ताव गरेको पहिलो नाम छ पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । उनलाई जेनजी वार्ता प्रतिनिधिहरूले प्रस्ताव गरिसकेका छन् ।
यद्यपि राष्ट्रपतिसँग बसेर टुंगो गर्न भने बाँकी नै छ । संसद् विघटन भएको छैन, संविधानअनुसार सबै संवैधानिक संरचना यथावत रहेका अवस्थामा जेनजीको वार्ता कसरी अगाडि बढ्छ भन्नेमा कार्कीले पाउने जिम्मेवारीको टुंगो लाग्ने छ । कार्कीले सञ्चारमाध्यमहरूसँग जेनजी पुस्ताले आफूलाई रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन् ।
‘उनीहरूले मलाई प्रस्ताव गरे । यो मप्रतिको विश्वास हो । म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु । मैले जेनजीको प्रस्तावलाई स्वीकार गरे,’ उनले भनेकी छन् । कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिदै उनीहरूका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताएकी छन् । आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दुःख व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल प्लेटफर्ममा जेनजी युवाहरूले बुधबार भर्चुअल बैठक गर्दा बहुमतको रोजाइमा कार्की परेको सुनिन्थ्यो । ७३ वर्षीया कार्की मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुन् । ३० वर्षसम्म वकालत गरेपछि सन् २००९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त उनी २०१६ अप्रिल १३ मा प्रधानन्यायाधीश भएकी थिइन् । एक वर्षको कार्यकाल सहज भने थिएन । धेरै विवादास्पद मुद्दामा साहसिक फैसलाहरू गरिन्, जसले उनलाई ‘कडा न्यायाधीश’ को छवि दिएको थियो ।
२०१७ अप्रिलमा तत्कालीन सत्तारुढ दलहरूले उनका विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको थियो, जसलाई राजनीतिक हस्तक्षेपको रूपमा हेरियो। महाभियोग उनको कडा फैसलाहरूका कारण आएको मानिन्छ, जसमा लोकमान सिंह कार्कीको अख्तियार प्रमुख पदबाट हटाउने निर्णय पनि थियो । पछि महाभियोग फिर्ता लिइयो र उनले सम्मानजनक रूपमा अवकाश लिइन् । अवकाशपछि पनि सक्रिय उनले ‘न्याय’ नामा पुस्तक लेखेकी छन् ।