काठमाडौं, २५ भदौ - जेनजीको नाममा सोमबारदेखि भएको प्रदर्शनमा भएको ठूलो धनजन क्षतिको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट कैदीबन्दी भागेपछि खाली हुँदै गएका छन् । विभिन्न आपराधिक मुद्दामा कसुरवार ठहर भइसकेका र पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त पोका पुन्तुरा, टीभी लगायतका सामान बोकेर कारागारबाट बाहिरिनेको संख्या बढ्दै गएको छ । जेलको क्षमताभन्दा दोब्बर, तेब्बर राखिएका कैदीबन्दी प्रशासनले सुरक्षा व्यवस्था गर्न नसक्दा निस्कन सहज भएको हो ।
अहिलेसम्म देशभरका कारागारबाट साढे १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएकाको नेपाल प्रहरीले जनाएको छ । बुधबार बेलुकीसम्मको तथ्यांक हेर्दा १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले बताएका छन् । साथसाथै विभिन्न मुद्दा अनुसन्धानका लागि हिरासतमा राखिएका ५६० जना थुनुवा फरार भएका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांक अनुसार देशभर २८ हजार ९०२ जना कैदीबन्दी थिए ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनका समर्थक प्रदर्शनकारीले मंगलबार जेलबाहिर निकालेपछि देशभरका त्यही शैलीमा सबै कैदीबन्दी बाहिर निस्केका छन् । लामिछानेको नाम लिँदै उनी छुटेपछि सबैलाई कानून एउटै हुनुपर्ने र आफूहरू पनि छुट्न पाउने भन्दै देशभरका कैदीबन्दी छुटेका छन् । कतिपय भागेका छन् भने कतिपय सानका साथ बाहिर निस्केका छन् ।
सबैभन्दा पुराना सुन्धारा सेन्ट्रल जेलमा मंगलबार राति सबै कैदीबन्दी निस्केका थिए । देशकै मुख्य जेलबाट कैदीबन्दी निस्केको खबर फैलिएपछि देशभरका आधा जेल लगभग खाली भइसकेका छन् । कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्तीकरणी, भ्रष्टाचार, सहकारी ठगी, संगठित अपराध, चोरीडाँका, लागू औषध लगायतका मुद्दामा ठहर भइसकेका र पुर्पक्षका लागि देशभर २८ हजार बढी कैदीबन्दी राखिएका थिए ।
ठूला कारागारबाट सुरक्षा निकायले नियन्त्रण गर्न नसक्दा बाहिर निस्केको कारागार व्यवस्थापन विभागका एक अधिकारीले बताए । ‘सबै जेलबाट होइन, कतिपय कारागारहरू नियन्त्रणबाहिर गएर निस्केको खबर आएको छ’ उनले भने । उनका अनुसार देशमा अकस्मात आएको काबुबाहिरको परिस्थितिले यो अवस्था निम्तिएको हो ।
‘धेरै कैदीबन्दी छन्, नियन्त्रणबाहिर आएर यस्तो भएको हो’ उनले भने, ‘झापा, नुवाकोटलगायतका ठूला कारागारमा भाग्न सकेका छैनन् । कतिपय कारागारमा थेग्न नसकिने अवस्थाका कारण बाहिर निस्केका छन् ।’ कतिपय कम सजाय भएका र आचरण राम्रो भएका कैदीबन्दी भने कारागार बाहिर ननिस्केको उनले बताए ।
अन्य कारागारमा निस्केको थाहा पाएपछि त्यही माग गर्दै भित्रै झडप, नाराबाजी, आगजनी गरेका छन् । सुरक्षाकर्मी थोरै कैदीबन्दी धेरै हुँदा बल प्रयोग गरेर पनि रोक्न नसकिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । बल प्रयोग गर्नका लागि सुरक्षाकर्मी, जेलर, सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्रै गोली चलाउन पाइन्छ । तर, बल प्रयोग गर्न पनि प्रजिअहरूले जोखिम मोल्न नसक्दा नियन्त्रण गर्न नसकिने समस्या देखिएको छ ।
यता, डिल्लीबजार कारागारमा मंगलबारदेखि नै सुरक्षाकर्मीसँग कैदीबन्दीको झडप भएको थियो । त्यहाँका कैदीबन्दी भाग्दै गर्दा स्थानीयले समेत समातेर भित्रै राखेका थिए । अन्त्यमा बुधबार नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएपछि त्यहाँका केही कैदीबन्दीलाई सेन्टर जेलमा सारिएको छ ।
शुरुमा उपत्यकाको नख्खु कारागारबाट लामिछानेको दक्षिण भारतीय सिनेमाको झल्को दिनेगरी हात हल्लाउँदै सानका साथ बाहिर निस्केको भिडियो उनका समर्थकले नै सामाजिक सञ्जालभरि राखेका छन् । त्यसपछि नख्खुका सबै कैदीबन्दी लामिछानेले आफूहरूलाई बाहिर निकालेको भन्दै पोकापन्तरा बोकेर बाहिरिएका थिए । उनीहरूले रास्वपालाई भोट दिने र लामिछानेले नै आफूहरूलाई उद्धार गरेको बताएका सामाजिक सञ्जालमा भिडियो देख्न पाइन्छ ।
भुटानी शरणाथी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत पनि सुन्धारा जेलबाट भागेका छन् । उनीहरूलाई पनि जेल प्रशासनले फर्कन आग्रह गरिसकेको छ । नेपाली सेनाले सबै जेलबाट भागेका कैदीबन्दीलाई फर्कन आग्रह गरिसकेको छ ।
नेपाली सेनाले जेन–जीको आन्दोलनपछि कारागारहरूबाट भागेका कैदीहरूलाई समातेको छ । सेनाले डडेलधुरा जिल्ला कारागारबाट निस्केर भागेका २६ कैदीलाई नियन्त्रणमा लिइएको छ । रास्वपामा संलग्न केही जेनजीले लामिछानेलाई सिधै प्रधानमन्त्री वा गृहमन्त्री बनाउनुपर्ने मागसमेत राख्दै आएका छन् । सेनाले धमाधम कैदी पक्राउ गर्न थालेपछि रास्वपा सभापति लामिछाने सशंकित बनेको बताइएको छ ।
कारागारबाट निस्किएपछि आफू कानूनी प्रक्रिया पूरा गरेरै निस्केको दाबी गर्दै पत्र पनि सार्वजनिक गरेका थिए । उनको पत्रमा राजनीतिक मुद्दामा थुनामा रहेका भनेर सम्बोधन गरिएको छ । तर, उनी सहकारी ठगी मुद्दाको अनुसन्धानका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको हो । उनीविरुद्ध ६ वटा जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दा दर्ता छन् ।
कतै फिर्ता कतै तनाव
डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । बुधबार आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । भागेका बाँकी कैदीबन्दीहरू खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले बताए । कारागारमा १२७ जना कैदीबन्दी थिए ।
कञ्चनपुर कारागारबाट मंगलबार राति फरार भएकामध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कुल ४७९ कैदीबन्दी थिए । मंगलबार राति करिब तीन–चार सयको संख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरू कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए ।