नेभिगेशन
खेलकुद

विश्वकपबाट बाहिरिने पहिलो बन्यो हैटी

ब्राजिलसँग ३–० ले पराजित भएसँगै हैटी सन् २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।
शुक्रबार राति ब्राजिलसँग ३–० गोल अन्तरले पराजित भएपछि हैटी आधिकारिक रूपमा विश्वकपको दौडबाट बाहिरिने पहिलो टोली बनेको हो ।
ब्राजिलका लागि विनेसियस जुनियरको एक गोल तथा माथिअस कुन्हाको दुई गोलको मद्दतले पहिलो हाफमै खेल ३–० को स्थितिमा पुगेको थियो । खेलको पहिलो दुई गोल मध्यान्तर अघि हैटीका खेलाडीले मैदानको बीच भागमा बल गुमाउँदा सम्भव भएका थिए, जसमा विनी जुनियरले कुन्हाको एउटा गोलमा पास मिलाइदिएका थिए ।
कुन्हाले पहिलो गोल विनी जुनियरको प्रहार रिवाउन्ड भएर आएको बलमा गरेका थिए । दोस्रो गोल भने उनले रियल म्याड्रिडका यी स्टार खेलाडीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पोस्टको नजिकैबाट जाली चुमाएर गरे ।
त्यसअघि मोरक्कोले स्कटल्यान्डलाई हराएकाले विश्वकपमा आफ्नो सम्भावना जीवितै राख्न हैटीलाई कम्तीमा एक अंक आवश्यक थियो । तर पराजयसँगै ब्राजिल र मोरक्को समान चार अंकका साथ समूह ’सी’ को शीर्ष स्थानमा छन् भने स्कटल्यान्डको तीन अंक छ । स्कटल्यान्डले प्रतियोगिताको आफ्नो पहिलो खेलमा हैटीलाई हराएकाले, यदि अन्तिम खेलमा स्कटल्यान्ड ब्राजिलसँग पराजित भएर हैटीले मोरक्कोलाई हराए पनि हेड–टु–हेड (आपसी भिडन्त) का आधारमा हैटी स्कटल्यान्डभन्दा पछि नै रहने थियो ।
विश्वकपको पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिल गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।
खेलको दोस्रो हाफमा प्रतियोगिताकै आफ्नो पहिलो गोल फर्काउन हैटीले निकै जोड बल गरेको थियो । ब्राजिलको हाफमा बल आफ्नो नियन्त्रणमा राखे पनि हैटीले ब्राजिलका गोलकिपर एलिसनलाई खासै ठूलो चुनौती दिन सकेन ।
सन् १९७४ पछि हैटी पहिलो पटक विश्वकपका लागि छनोट भएको हो । त्यसबेला पनि टोली समूह चरणबाटै बाहिरिएको थियो । देशको आन्तरिक अशान्तिका कारण आफ्नै घरेलु मैदानमा एउटै पनि छनोट खेल खेल्न नपाएको अवस्थामा विश्वकपसम्म पुग्नु नै हैटीका लागि एउटा ठूलो उपलब्धि हो ।
यसैबीच, खेलको पहिलो हाफमा राफिन्हा घाइते भएपछि ब्राजिलका लागि एउटा ठूलो झट्का लागेको छ । मैदानमा कुनै खेलाडीसँग नठोक्किईकनै एक्कासि लडेका उनी निराश देखिन्थे । उनले इसारा गर्दै मेडिकल टोलीलाई मैदानमा बोलाएका थिए र त्यसपछि खेल मैदानबाट बाहिरिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्