जेनजी आन्दोलनलाई आवेग मात्र नमानी, सुरक्षित भविष्य र अधिकारको सुनिश्चितता गर्ने प्रस्थानविन्दुका रुपमा लिनुपर्छ । यस आन्दोलनले अब पुराना तौरतरिका र पुराना नेताहरू स्वीकार्य छैनन् भन्ने पुष्टि गरेको छ । अब नवनिर्माण र नव उत्साहले काम अघि बढाउनुपर्छ । अबको प्राथमिकता पारदर्शिता र इमान्दार सरकार हो ।
खासमा जेनजीको माग आम नेपालीको माग हो । आम नेपालीले भ्रष्टारमुक्त, सुशासनयुक्त देश चाहेका हुन् । हामीले दलीयकरणलाई कति घनिभूत बनायौं भने मान्छे मर्दा ऊ कुनै दलको नभए मलामी नै नपाइने पो हो कि भन्ने तहको चिन्ता हुन थालेको थियो । दलीयकरण हावी हुँदै जाँदा हाम्रा प्रणाली र शासकीय संरचनाले काम गरेको भए सान्तवना हुने ठाउँ रहन्थ्यो त्यो नहुँदा पनि असन्तुष्टि चुलिएको हो ।
जेनजी आन्दोलन कुनै संगठन वा नेताले नभई स्वतः युवाहरूले सुरु गरेको शान्तिपूर्ण विद्रोह थियो । यसको मुख्य उद्देश्य राम्रो शासन र भ्रष्टाचारको विरोध गर्नु थियो । देशमा दण्डहीनता, राजनीतिक बेथिति र पुराना नेताहरूको निराशाजनक कामको कारण युवाहरू सडकमा आए । उनीहरूको मनसाय देश बिगार्ने होइन, सपार्ने थियो ।
नवीन गोदार
इतिहासले पुष्टि गरेको छ, हरेक ठूलो परिवर्तनमा युवाको भूमिका छ । राणा शासनविरुद्ध लडेका चार शहीददेखि बीपी, गणेशमान लगायतका सबै नेता युवा अवस्थामा नै राजनीतिक आन्दोलनमा लागेका थिए । यसर्थ, निरंकुशता र बेथितिविरुद्धको पहिलो आवाज सधैं युवाबाटै उठ्ने गरेको छ ।
आजको जेनजी पुस्ता इन्टरनेटमार्फत विश्वसँग जोडिएको पुस्ता हो । उनीहरूले विश्वका अनेक आन्दोलन देखेको छ, विदेशमा विकास भएको देखेको छ तर आफ्नै देशमा भने भ्रष्टाचार र बेथिति मात्र देखे । उनीहरुको आक्रोश विष्फोट भएको हो, जब सरकारले अनाहकमा मान्छे मार्ने काम गर्यो । प्रदर्शन हिंसात्मक बन्यो र धेरैले ज्यान गुमाए ।
नेपालको इतिहासमा भदौ २५ को दिन कालो धब्बाका रुपमा रहनेछ । अब नवनिर्माण र नव उत्साहले काम अघि बढाउनु पर्छ । जेनजी आन्दोलनले के पुष्टि गरेको छ भने अब पुराना तौरतरिका र पुराना नेताहरू स्वीकार्य छैनन् । नयाँ पुस्ताले पारदर्शी र जिम्मेवार शासन चाहेको छ । अब बन्ने सरकारको पहिलो काम नै पारदर्शिता र इमान्दार हुनुपर्छ ।
यस आन्दोलनलाई आवेग मात्र नमानी, सुरक्षित भविष्य र अधिकारको सुनिश्चितता गर्ने प्रस्थानविन्दुका रुपमा लिनुपर्छ । विगतजस्तै असफल नबनाओस् भनेर सबैले सचेत रहनुपर्छ । अब युवाहरूको ऊर्जालाई नीतिगत सुधार मार्फत नयाँ नेपाल बनाउने बाटो खोल्नुपर्छ ।
- मानवशास्त्रका विद्यार्थी गोदार विकासका विविध आयाममाथि कलम चलाउँछन् ।