नेभिगेशन
दृष्टिकोण

पुनःनिर्माणमा स्वयंसेवक हुन तयार

जे भयो त्यो कसैले नसोचेको भयो, त्यो अक्षम छ । तर अब नवनिर्माणमा स्वयंसेवकका रुपमा काम गर्न जेनजी तयार छ, तर अबको ‘बटमलाइन’ भनेको भ्रष्टाचारप्रतिको शून्य सहनशीलता हो ।

विश्वमा भएका कयौं आन्दोलनमा युवापुस्ताले जीवनस्तरको सुधार, सामाजिक न्यायको प्रत्याभूति, राजनीतिक स्वतन्त्रता र वातावरणीय संरक्षणका मुद्दालाई उठाएका छन् । हाम्रो देशमा अहिले भएको विद्रोहको उद्देश्य पनि तिनै हुन् । हामी सबैलाई विदितै छ, नेपालको राजनीतिक इतिहासमा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०४६ सालको जनआन्दोलनमा युवा शक्तिको प्रतापले पञ्चायती व्यावस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भएको थियो । २०६२-०६३ सालको दोस्रो जनआन्दोलनमा पनि युवाहरुको उत्साह र साहसले नै नेपाललाई गणतन्त्रमा पुर्‍याएको थियो । तर त्यो आशा पुरै निराशामा बदलिएको थियो जब ०६२-०६३ को वाचा तथा अपेक्षाहरू पुरा भएनन् ।

त्यही भएर नै जेनजी विद्रोहले ठाउँ पायो । जेनजीको यो आन्दोलन केवल आक्रोशको विस्फोट मात्र होइन यो त नयाँ पुस्ताले आफ्नो सुरक्षित भविष्यप्रतिको अधिकार माग गरेको अवस्था हो । यसको उद्देश्य र माग स्पष्ट छ– भ्रष्टाचारमुक्त शासन, सासकीय संरचनामा युवापुस्ताको प्रतिनिधित्व र विसंगति तथा बेथितिमुक्त समाज । अब बन्ने सरकारले यही सन्देशलाई नीति, कार्यक्रम र व्यवहारमा रूपान्तरण गर्नुको विकल्प छैन । त्यसो हुन सक्दा जेनजीको ऊर्जा र उत्साहले नयाँ नेपाल निर्माण हुनेछ ।

विश्वका अन्य आन्दोलनजस्तै नेपालको आन्दोलनमा पनि युवाको क्रान्तिकारी भावना, सामाजिक असमानता र अनुचित व्यवस्थाप्रति असन्तुष्टि प्रमुख कारण हुन् । त्यसैले आन्दोलनहरूमा युवाहरू सधैं अग्रपंक्तिमा हुन्छन् किनभने उनीहरू समाज परिवर्तनको मुख्य शक्ति हुन् । त्यसैले तिनको कुरा सुन्नुपर्छ र तिनलाई अवसर दिनुपर्छ ।

विश्वका आन्दोलन केलाउँदा के देखिन्छ भने जहाँ राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक अन्याय हुन्छ त्यहाँका युवा बढी आक्रोशित हुन्छन् । यसले के पुष्टि गर्छ भने युवाहरूले समस्या मात्र उजागर गर्दैनन्, समाधानको खोजीमा पनि उत्तिकै गम्भीरताका साथ अग्रसर रहन्छन् । युवाहरूको आक्रोशलाई सकारात्मक ऊर्जा बनाएर सुधारको बाटो खन्नुपर्छ । जसले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा योगदान पुर्‍याओस् ।

Shekhar-Lamichhane-1756008135.jpg
शेखर लामिछाने

अबको मूल अजेण्डा भनेको भ्रष्टाचार प्रति शून्य सहनशीलता ‘जिरो टोलोरेन्स’ हुनुपर्छ । विश्वविद्यालयहरुलाई राजनीतिमुक्त बनाउनु पर्छ । शिक्षकहरुको संगठन खारेज गर्नुपर्छ । कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्छ । सबै विद्यालयको गुणस्तर एकै खालको हुनुपर्छ ।

सामाजिक अन्याय, भ्रष्टाचार, अधिकारको अभाव र भविष्यप्रतिको चिन्ताले युवालाई आन्दोलित मात्र होइन सिर्जनात्मक पनि बनाउँछ । अब जेनजीले त्यो शक्ति देखाउनु पर्छ । सिंहदरबार जलेकोमा हामी सबैलाई चिन्ता छ, जेनजी सिंहदरबार बनाउन निःशुल्क स्वयम्सेवा गर्न पनि तयार छ ।

जुन मानवीय क्षति राज्यको तर्फबाट भयो त्यो अत्यन्तै दर्दनाक थियो नै । त्यसको प्रतिकार वा प्रतिरोध स्वरुप भएको आगजनी अर्को दुःखद पक्ष हो । त्यस्तो कसैले पनि चाहेको थिएन, जेनजी समर्थित अगुवाहरूको पोस्टमा बारम्बार संयमित हुन गरिएको आग्रह विपरीत भएको आगजनीले घुसपैठ भएको भन्ने देखिएको छ । नत्र राज्यको सम्पत्तिको नास गर्न कोही पनि अघि सर्दैन ।

यो एउटा नमिठो अनुभव रहेको छ । तर जस्तोसुकै पीडालाई पनि सहेर अघि बढ्नुको विकल्प छैन । अबको बाटो भनेको सबैको सहमतिमा बन्ने सरकारले स्वच्छ र निष्पक्ष ढंगमा काम अघि बढाउनु पर्छ । अझै पनि स्थिति अनुकूल नभएकाले हामीले आत्मसंयम अपनाउँदै आफ्नो समाजमा पनि खबर दारी गर्दै कुनै खालको गतिविधि हुन नदिन चनाखो रहनुपर्ने देखिन्छ । पुनर्निमाण होइन नवनिर्माणको अभियान नै चाल्नु पर्छ, यसमा युवा शक्ति साथ दिन तयार छन् ।

- लामिछाने फोटोग्राफी र युवाका मुद्दामा चाख राख्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण