नेभिगेशन
खेलकुद

विश्वकपको १०००औं खेलमा जापानको ऐतिहासिक जित

समूह ‘एफ’ अन्तर्गत भएको खेलमा ट्युनिसियालाई ४–० को भारी अन्तरले पन्छाउँदै जापान लगातार चौथो पटक विश्वकपको नकआउट चरण नजिक पुगेको छ । पुरुष विश्वकप इतिहासको यो १०००औं कोसेढुङ्गा खेलमा जापानले एउटा अविस्मरणीय जित दर्ता गरेको हो । विश्वकपको कुनै पनि एउटा खेलमा जापानले यति धेरै गोल गरेको यो पहिलो पटक हो । पहिलो खेलको हारलगत्तै आफ्ना प्रशिक्षकलाई बर्खास्त गर्ने पहिलो टोली बनेको ट्युनिसियाविरुद्ध ‘सामुराई ब्लु’ (जापान) ले सुरुदेखि नै बलियो पकड बनाएको थियो ।
जापानका लागि आयासे उएडाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इतोले एक–एक गोल थपे । यो जितसँगै जापान चार अंकका साथ नेदरल्यान्ड्ससँग बराबरीमा पुगेको छ । यद्यपि, दुई खेलमा जापानभन्दा एक गोल बढी गरेको हुनाले नेदरल्यान्ड्स अहिले समूहको शीर्ष स्थानमा छ । खेल सुरु भएको आधा घण्टाभित्रै २–० को अग्रता लिइसकेको अवस्थामा पनि जापानले ट्युनिसियाको कमजोर रक्षापङ्क्तिमाथि लगातार दबाब बनाइराख्यो ।
लगातार दुई वटा विश्वकपमा जापानको नेतृत्व गर्ने पहिलो मुख्य प्रशिक्षक बनेका हाजिमे मोरियासुले भने, “हामीले जति धेरै गोल गर्न सक्यौं, टोलीको आत्मविश्वास त्यति नै बढ्छ । स्विडेनविरुद्धको आगामी खेलमा पनि हामी यही प्रदर्शन दोहो¥याउन चाहन्छौँ ।“ यो हारसँगै ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, जापानले समूहमा कम्तीमा तेस्रो स्थान सुरक्षित गरिसकेको छ, जुन नकआउट चरणमा पुग्नका लागि पर्याप्त हुन सक्छ ।
स्विडेनसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले टोलीलाई सम्हाल्न अफ्रिका कप अफ नेसन्सका दुई पटकका विजेता प्रशिक्षक हेर्भ रेनार्डलाई नियुक्त गरेको थियो । तर, उत्तर अफ्रिकी मुलुक ट्युनिसियाले न त जापानको तीव्र गतिको आक्रमणलाई रोक्न सक्यो, न त आफ्ना लागि गोल गर्ने कुनै स्पष्ट अवसर नै सिर्जना गर्न सक्यो ।
ट्युनिसियाका प्रशिक्षक रेनार्डले भने, ‘अब नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलका लागि तयार हुनु महत्त्वपूर्ण छ । लगातार दुई खेल हारिसकेपछि पुनरागमन गर्न सजिलो हुँदैन, तर हामीले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ र अन्तिमसम्म व्यावसायिक खेल प्रदर्शन गर्नुपर्छ ।’
खेलको चौथो मिनेटमै कामादाले गोल गर्दै खाता खोलेका थिए, जुन जापानको विश्वकप इतिहासकै सबैभन्दा तीव्र गतिको गोल हो । क्रिस्टल प्यालेसका यी मिडफिल्डरले खेलमा ‘स्याडो स्ट्राइकर’ को भूमिका निभाएका थिए । केइतो नाकामुराको पासलाई उनले सहजै गोलमा परिणत गर्दै प्रतियोगितामा आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे । आफ्नो गोलबारे कामादाले भने, ‘म खेलको अवसर सिर्जना गर्नुभन्दा पनि गोलपोस्टको अगाडि पुग्ने सोचमा थिएँ । मैले जे सोचेको थिएँ, त्यो पूरा गर्न पाउँदा खुसी लागेको छ ।’
त्यस्तै, खेलको ३१ औँ मिनेटमा उएडाले मैदानको मध्यभागमा बल नियन्त्रणमा लिँदै ट्युनिसियाको पेनाल्टी बक्सतर्फ बढाए । अघि बढिरहेका सँगी खेलाडीहरूलाई पास नदिएपछि गोलको सम्भावना टरेजस्तो देखिएको थियो— तर २७ वर्षका यी खेलाडीले बक्स बाहिरबाट प्रहार गरेको बल सिधै गोलपोस्टको बायाँ कुनामा छिरेपछि जापान २–० ले अघि बढ्यो ।
फेयेनुर्डका यी स्ट्राइकरले नेदरल्यान्ड्सको घरेलु लिग (इरेडिभिजी) मा २४ गोल गर्दै उत्कृष्ट प्रदर्शनका साथ शीर्ष गोलकर्ताको उपाधि जितेका थिए । खेलको ६९ औँ मिनेटमा उएडाकै पासमा जुन्या इतोले ट्युनिसियाका गोलकिपर एमेन दाहमेनलाई छक्याउँदै जापानका लागि तेस्रो गोल गरे । त्यसपछि ८३ औँ मिनेटमा उएडाले उत्कृष्ट हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जापानको सानदार जित सुनिश्चित गरे । सन् २०१९ यता युरोपेली टोलीहरूसँगको ९० मिनेटको निर्धारित खेलमा पराजित नभएको जापानले आगामी बिहीबार ड्यालसमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ । सोही समयमा ट्युनिसियाले क्यान्सास सिटीमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्