नेभिगेशन
प्रदेश

आँप महोत्सवमा किसान उत्साहित

महोत्तरी । किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीनदिने आँप मेला महोत्सव आज सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा महोत्तरीसहित धनुषाका आँप उत्पादक किसानको सहभागिता थियो ।
    धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आयोजित तेस्रो महोत्सवमा मधेस प्रदेश सरकारका प्रतिनिधि तथा प्रदेशका व्यापारीद्वारा अवलोकन गरिनुका साथै दुवै जिल्लाका होटल तथा पर्यटन व्यवसायी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले अवलोकन गरेका छन् । महोत्सवमा सहभागी किसानले आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै आफ्नो उत्पादनले उपयुक्त बजार पाउने विश्वास व्यक्त गरेका हुन् ।
    महोत्सवस्थल महोत्तरीको भङ्गाहा र बर्दिबास नगरक्षेत्रका बस्तीसँगै जोडिएकाले यस क्षेत्रका किसानको उल्लेख्य सहभागिता थियो । ‘स्थानीयस्तरमा आयोजित मेलामा हामी सहभागी भयौँ,’ बर्दिबास नगरपालिका–६ चौलिखाका पर्शुराम ठाकुरले भने, ‘यसपालि महोत्सवमा प्रदेश सरकारले पनि चासो दिएको छ । अब किसानले केही सुविधा पाउँछन् कि भन्ने आश जागेको छ ।’
    महोत्सवमा आएका टाढाटाढाका व्यापारीले आँप खरिदको चासो बढाएका ठाकुरको भनाइ छ । यसले स्थानीय उत्पादनले परसम्मको बजार पाउने आशा जागेको उनले बताए । 
    महोत्सवमा आफ्नो कक्षबाट १०० क्विन्टल हाराहारी आँप बिक्री भएको चित्रपुरका आँप व्यापारी रामबहादुर महतोले जानकारी दिए । ‘मेरो आफ्नो बगैँचा त छैन, तर यही ओरीपरी ५० बिघा बढी क्षेत्रफलको बगैंचा यसपालि ठेक्कामा लिएको छु,’ उनी भन्छन्, ‘आँप बेच्न टाढाटाढाका सहर पुग्दै आएको छु, यसपालि भने बाहिरका व्यापारीले यहीँ आएर आँप लाने कुरा गरेका छन् ।’ महोत्सवमा झापा पारि भारतसम्मका व्यापारी आएका उनको भनाइ छ ।
    महोत्तरीका बर्दिबास र भङ्गाहाका साथै धनुषाका मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका आँप उत्पादनका लागि उर्वर ठाउँ मानिन्छ । यी चारै स्थानीय तहका किसानलाई केन्द्रित गरी महोत्सव आयोजना भएको थियो । महोत्सवमा आँपको प्रदर्शनी, बिक्री र व्यापारिक सम्पर्क विस्तार भएको सहभागी किसान बताउँछन् । 
    यसैबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, मन्त्रीहरू,  प्रदेशसभाका सदस्यहरू, विभिन्न स्थानीय तहका जनप्रतिनिधिको सहभागिता र सहयोगको प्रतिबद्धताले किसानलाई हौसला दिएको महोत्सव आयोजक संस्था चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीप महतोले बताए । 
‘यसपालि महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री आउनुभयो, हामीलाई आँपको प्रशोधन, बजारीकरण र भण्डारणका लागि चिस्यानघरसम्मका विषयमा सरकारको सहयोग हुने बताए । यसले हामीमा नयाँ आशा जगाएको छ,’  उनले भने, ‘राज्यको सहयोग पाए किसानले बगैँचाखेतीबाट मनग्य आम्दानी गर्न सक्छन् ।’ मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्य र स्थानीयतहका प्रतिनिधिको उत्साहजनक सहभागिताले आगामी दिनमा किसानले सुविधा पाउने  विश्वास जागेको उनको भनाइ छ । 
    महोत्सवस्थल चित्रपुरमा मात्रै करिब एक हजार बिघामा आँप बगैँचा छ । बटेश्वर गाउँपालिका क्षेत्रमा बगैँचाको क्षेत्रफल करिब दुई हजार बिघा रहेको अध्यक्ष महतोले जानकारी दिए । यसैगरी छिमेकका बर्दिबास, भङ्गाहा र मिथिला नगरपालिका क्षेत्र सघन आँपखेतीका लागि उपयुक्त क्षेत्र भएकाले यो क्षेत्रफल करिब पाँच हजार बिघा रहेको उनले बताए ।
    यी स्थानीयतह बस्तीमा आँप पाक्ने मौसम जेठ तेस्रो साताको प्रारम्भसँगै सुरु भएर भदौ अन्त्यसम्म रहने किसान बताउँछन् । ‘यता सबैभन्दा चाँडो पाक्ने आँप बम्बै जेठमध्यतिर सुरु हुन्छ । अनि असार तेस्रो सातासम्म दशहरी, मालदहको मौसम हुन्छ । त्यसपछि आम्रपाली, मल्लिका, अभैया, कलकतिया, स्वर्णरेखा, गुलावखास, मिसरिया, डोल्मा, केरवा, लालमोहन र लरुवा जातका आँपको सघन मौसम सुरु हुन्छ,’ महोत्सवका सहभागी भङ्गाहा–४ का किसान हरिदेव साहले भने । 
    उत्पादनले बजार पाउनु मुख्य पक्ष रहेको बताउँदै उनले यसै क्षेत्रमा आँप प्रशोधन र भण्डारणका लागि चिस्यान घर हुनसके यहाँका किसानले वर्षभरि आँपको बजार जमाइ राख्नसक्ने उल्लेख गरे । प्रदेशका मुख्यमन्त्रीले आँप प्रशोधन गरेर विभिन्न परिकार बनाउने उद्योग र चिस्यान घर बनाउनेबारे जनाएको प्रतिबद्धताले अब आँपखेतीमा राम्रो सम्भावनाको क्षेत्र बन्ने साहसहित किसान बताउँछन् ।
    आँप महोत्सवको मुख्य पक्ष बजार प्रवद्र्धन र विस्तार भए पनि आफ्नो ठाउँको उत्पादन विशिष्ट स्वादको रहेको भन्ने उपभोक्तालाई चिनाउनु पनि मुख्य एजेण्डा रहेको आयोजक संस्थाका फुलगेन मगहीले बताए । ‘हामीले महोत्सवमा सहभागी उपभोक्तालाई थरिथरिका आँप चखाएका छौँ । सबैले यहाँको आँपको स्वादको सराहना गरेका छन्,’ उनले भने, ‘यो पनि महोत्सवको सफलता हो ।’
    मगहीले भनेजस्तै महोत्सवमा सहभागी हुनुभएका भङ्गाहा–९ भीमगढका श्यामसिंह थारुले यस भेगका आँप मौलिक स्वादका रहेका बताए । महोत्सवमा ५० लाख बढीको कारोबार भएको आयोजकले जनाएको छ । 
    पाकेका तथा काँचा आँप र थरिथरिका अचारका परिकार प्रदर्शनी र बिक्रीका लागि राखिएका थिए । तीनदिने महोत्सवमा १० हजार बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।  
    आँप उत्पादनको पकेटक्षेत्र भएकाले यहाँको उत्पादनबारे राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराउन र आमचासो जगाउन महोत्सव आयोजना गरिएको भन्दै यसको उद्देश्यमा सफल भएको अध्यक्ष महतोले बताए । चित्रपुरमा विसं २०८१ देखि प्रत्येक वर्ष असारमा महोत्सव आयोजना हुँदै आएको छ । 
    यो महोत्सव परम्पराले आँपसँगै जोडेर आफ्नो ठाउँको परिचय विस्तार भएको आयोजकले बताएको छ । पहिलो वर्ष एक दिन, गत वर्ष दुई दिन आयोजना भएको महोत्सव यसपालि तीन दिनसम्म भएको आयोजक संस्थाका अध्यक्ष महतोले जानकारी दिए । 
    संस्थाको नाम अंग्रेजीमा हुनुका सन्दर्भमा मौसममा नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी ‘चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभ’ राखिएको बताए । ‘हामी वास्तवमै यो ठाउँलाई आँप पर्यटनस्थलका रूपमा विकास गर्न खोजेका छौँ,’ उनले भने, ‘यसका लागि राज्यका सरोकार भएका निकायको सहयोगको अपेक्षा गरेका छौँ ।’
    मेलामा महोत्तरी र धनुषाका विभिन्न भेगका विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले विभिन्न जातका आँपको मेला र बगैँचा अवलोकन गरेका छन् । यसैगरी दुवै जिल्लाका सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति देखिएको थियो ।  
    महोत्सवमार्फत किसानलाई उत्साहित बनाउँदै खेती विस्तारमा पहल गर्नु रहेको बटेश्वर–१ का वडाध्यक्ष अशोककुमार महतोले बताए । महोत्सवबाट यहाँ उत्पादित आँपको प्रचारप्रसार हुनुका साथै खेती प्रवद्र्धनमा सहयोग पुगेको उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्