नेभिगेशन
विश्व

फ्रान्सद्वारा मदिरा सेवनमा प्रतिबन्ध

पेरिस, (डीडब्लू) । फ्रान्ससहित युरोपका विभिन्न भागमा यतिबेला तातो हावा अर्थात् ‘हिटवेभ’ चलिरहेको छ । अवस्था कतिसम्म खराब छ भने फ्रान्सेली सरकारले वनजङ्गलमा डढेलो लाग्न सक्ने चेतावनी जारी गर्नुका साथै सार्वजनिक स्थलहरूमा मदिरा पिउन र खुल्ला ठाउँमा खेलिने खेलकुदमा समेत रोक लगाएको छ ।
यतिबेला पूरा युरोप नै खतरनाक तातो हावाको चपेटामा परेको छ र यसमध्ये फ्रान्सको अवस्था सबैभन्दा नाजुक छ । आइतबार फ्रान्सको झन्डै एक–तिहाइ हिस्सामा राष्ट्रिय मौसम विज्ञान विभागले गर्मीलाई लिएर ’रेड अलर्ट’ जारी गरेको छ । देशका कतिपय भागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । फ्रान्समा वातानुकूलित यन्त्र अर्थात् एयर कन्डिसनरको प्रयोग त्यति धेरै नहुने भएकाले मानिसहरूलाई यो गर्मी खप्न थप गाह्रो भइरहेको छ । 
गर्मीबाट सर्वसाधारणलाई राहत दिनका लागि आइफिल टावर र पेरिसका अन्य प्रमुख स्थानहरूमा पानीको फोहोरा फ्याँक्ने मेसिन अर्थात् ‘मिस्टिङ स्टेसन’ राखिएका छन् । सम्भावित जोखिम कम गर्न राष्ट्रिय तथा स्थानीय प्रशासनले लगातार नयाँ कदम चालिरहेका छन् ।
‘म्युजिक डे’मा मदिरा प्रतिबन्ध
आइतबार फ्रान्समा वार्षिक रूपमा मनाइने ‘म्युजिक डे’ परेको छ । यो दिन जुन अधिकारीहरूका लागि ठूलो चिन्ताको विषय बनेको छ । यस अवसरमा देशभरि हजारौं साङ्गीतिक कार्यक्रमहरू आयोजना हुन्छन् । त्यहाँ ठूलो संख्यामा स्थानीय बासिन्दा र विदेशी पर्यटकहरू भेला हुने गर्छन् । अत्यधिक गर्मीलाई ध्यानमा राख्दै सरकारले म्युजिक डेका आयोजकहरूलाई मदिराको प्रयोग सीमित गर्न आदेश दिएको छ । आपतकालीन सेवाहरू तयारी अवस्थामा रहून् र चिकित्सा टोलीहरूले आफ्नो पूरा ध्यान सबैभन्दा कमजोर एवं आवश्यक परेका मानिसहरूको हेरचाहमा लगाउन सकून् भनेर यो कदम चालिएको सरकारको भनाइ छ ।
अधिकारीहरूको सबैभन्दा ठूलो चिन्ता चर्को गर्मीमा सडकमै बस्न बाध्य भएका मानिसहरू तथा नर्सिङ होम वा आफ्नै घरमा एक्लै बसिरहेका वृद्धवृद्धाहरूलाई लिएर छ । फ्रान्सको इतिहासमा सन् २००३ को हिटवेभ निकै भयानक मानिन्छ । त्योबेला गर्मीकै कारण झन्डै १५ हजार वृद्धवृद्धाको ज्यान गएको थियो । त्यसैले प्रशासन यस पटक निकै सतर्क बनेको छ ।
डढेलोमाथि निगरानी
जङ्गलमा डढेलो लाग्ने खतरालाई मध्यनजर गर्दै फ्रान्स सरकारले शनिबारदेखि नै आफ्नो तयारी तीव्र पारेको छ । फ्रान्सका कतिपय आणविक रियाक्टरहरूमा पानीको आपूर्तिमाथिको निगरानी पनि कडा पारिएको छ । विद्यालयको बिदाका सम्बन्धमा सरकारले विद्यालय बन्द गर्नु अन्तिम विकल्प मात्र हुने स्पष्ट पारेको छ । यद्यपि, दिउँसो हुने परीक्षाहरू भोलिपल्ट बिहानका लागि सार्न सकिने वा समय परिवर्तन गर्न सकिने जनाइएको छ ।
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले शनिबार यस हिटवेभको सामना गर्न आकस्मिक बैठक बोलाउनुभएको थियो र आइतबार पनि अर्को बैठक बस्ने तयारी छ । मौसम विभागले यस पटकको गर्मीलाई व्यापक, लामो समयसम्म रहने र तीव्र प्रकृतिको भनेको छ ।
प्रधानमन्त्री लेकोर्नुले आफ्ना मन्त्रीहरूलाई भविष्यमा आउने यस्ता हिटवेभको सामना गर्न फ्रान्सलाई अझ राम्रोसँग तयार पार्ने योजना बनाउन निर्देशन दिएका छन् । उनले आवश्यकता परेको खण्डमा एयर कन्डिसनिङको माध्यमबाट पनि तयारी गर्नुपर्ने बताए ।
गर्मीको यो रूप कतिसम्म ज्यानमारा हुन सक्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हालैको तथ्यांकबाट बुझ्न सकिन्छ । डब्लूएचओको युरोप कार्यालयले यसै महिना सार्वजनिक गरेअनुसार विगत चार वर्षमा पूरा युरोपमा गर्मीका कारण सिर्जित समस्याले २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्