नेभिगेशन
विश्व

आफ्नै दलमा असहयोगपछि स्टार्मरले गरे राजीनामा घोषणा

लन्डन, (बीबीसी)  । सर केयर स्टार्मरले लेबर पार्टीको नेताबाट राजीनामा दिएको घोषणा गरेका छन् । अब १० डाउनिङ स्ट्रिटमा उनको कार्यकाल अन्त्य हुने भएको छ । उनले आफ्नो उत्तराधिकारी चयन नभएसम्म बेलायतका प्रधानमन्त्रीका रूपमा काम गरिरहने बताएका छन् ।

किन राजीनामा ?
लेबर पार्टी र स्वयं स्टार्मरको लोकप्रियता तथा अनुमोदन दर निकै खस्किएपछि उनीमाथि लामो समयदेखि राजिनामाको दबाब बढ्दै गएको थियो ।

यस वर्षको सुरुवातमा अमेरिकी न्याय विभाग (यूएस डिपार्टमेन्ट अफ जस्टिस) ले सार्वजनिक गरेका कागजातहरूले पिटर म्यान्डेलसनलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने स्टार्मरको निर्णयसँग सम्बन्धित विवादलाई पुनः चर्काएपछि उनको नेतृत्व थप अस्थिर बनेको थियो ।

फेब्रुअरीमा भएको उपनिर्वाचनमा लेबरले आफ्नो परम्परागत सुरक्षित सिट गुमाएर ग्रीन पार्टीसँग पराजय भोग्यो । यो हार विशेष रूपमा महत्त्वपूर्ण मानियो किनभने स्टार्मरले तत्कालीन ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नहमलाई उम्मेदवार बन्नबाट रोकेका थिए ।

त्यसपछि मे महिनामा भएका स्थानीय तथा राष्ट्रिय निर्वाचनहरू उनको नेतृत्वको परीक्षा बने । ती निर्वाचनको नतिजा लेबरका लागि अत्यन्त निराशाजनक रह्यो । कतिसम्म भने पार्टीभित्रको अनुमानभन्दा पनि खराब बन्न पुग्यो । त्यसपछि स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङसहित केही कनिष्ठ मन्त्रीहरूले पद त्याग गरे ।

स्टार्मरले नेतृत्व जोगाउने प्रयास जारी राखे पनि उनको प्रभाव क्रमशः कमजोर हुँदै गयो । रक्षा खर्च सम्बन्धी लामो समयदेखिको आन्तरिक विवादका कारण यसै महिनाको सुरुवातमा पार्टीका वरिष्ठ नेता तथा रक्षा मन्त्री जोन हिलीले राजीनामा दिएपछि उनको स्थिति झन् कमजोर बन्यो । गत साता मेकरफिल्ड उपनिर्वाचनमा एन्डी बर्नहमले सुधारवादी दल रिफर्म यूकेलाई पराजित गर्दै निर्णायक जित हासिल गरे । यस जितले उनलाई पुनः वेस्टमिन्स्टर फर्किने र औपचारिक रूपमा पार्टी नेतृत्वको दाबी प्रस्तुत गर्ने बाटो खुला गरिदियो ।

बर्नहम निर्वाचित भएपछि स्टार्मरले सुरुमा कुनै पनि नेतृत्व चुनौतीको सामना गर्ने बताएका थिए तर सप्ताहन्तसम्म आइपुग्दा उनले लेबर सांसदहरू आगामी आमनिर्वाचनमा आफूभन्दा अर्कै नेताको नेतृत्व चाहिरहेको निष्कर्ष निकाले ।

नयाँ नेता कहिले ?
पार्टीले नयाँ नेता चयनको औपचारिक कार्यतालिका अझै सार्वजनिक भएको छैन । तर आफ्नो राजीनामा भाषणमा स्टार्मरले नयाँ नेतृत्वका आकांक्षीहरूलाई उम्मेदवारी दर्ताका लागि आवश्यक समर्थन जुटाउन जुलाई ९ देखि १६ तारिखसम्मको समय दिइने बताएका छन् । पार्टीको नियमअनुसार उम्मेदवार बन्न कम्तीमा ८१ जना लेबर सांसदको समर्थन आवश्यक पर्छ । साथै ६३४ स्थानीय पार्टी शाखामध्ये कम्तीमा ३२ शाखा वा पार्टीसँग आबद्ध तीनवटा संगठन (जसमध्ये दुईवटा ट्रेड युनियन हुनुपर्छ) को समर्थन पनि चाहिन्छ ।

यदि एकभन्दा बढी उम्मेदवारले यो मापदण्ड पूरा गरे भने पार्टी सदस्य तथा सम्बद्ध ट्रेड युनियन समर्थकबीच मतदान गराइनेछ । संसद् सेप्टेम्बर १ मा ग्रीष्मकालीन अवकाशपछि पुनः बस्नुअघि विजेता चयन गर्ने योजना छ तर अहिलेको अवस्थाले यस्तो मतदान आवश्यक नपर्न सक्ने संकेत देखाएको छ ।

अरू कसैले उम्मेदवारी दिनेछ?
एन्डी बर्नहमले आफू नेतृत्वको दौडमा सहभागी हुने पुष्टि गरिसकेका छन् । उनलाई लेबर सांसदहरूको पर्याप्त समर्थन प्राप्त हुने व्यापक अनुमान छ । हालसम्म अन्य कुनै लेबर सांसदले उम्मेदवारी घोषणा गरेका छैनन् । सम्भावित प्रतिद्वन्द्वी मानिएका वेस स्ट्रिटिङले भने आफू प्रतिस्पर्धामा नउत्रिने घोषणा गर्दै स्टार्मरको राजीनामापछि केही घण्टामै बर्नहमलाई समर्थन गरेका छन् । यदि अरू कसैले उम्मेदवारी दिएन भने बर्नहम स्वतः लेबर पार्टीको नेता बन्नेछन् । त्यस अवस्थामा उनी जुलाईको मध्यतिरै बेलायतका नयाँ प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रिट प्रवेश गर्न सक्छन् ।

यस्तो छोटो नेतृत्व प्रतिस्पर्धाको सम्भावनाले केही लेबर सांसदहरूले बर्नहमसँग आफ्नो शासन योजना र नीतिगत खाका थप स्पष्ट रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन् । बर्नहम करिब एक दशकदेखि वेस्टमिन्स्टरको सक्रिय राजनीतिबाट बाहिर रहेका कारण पनि यस्तो माग उठेको हो । यसले स्टार्मरले उल्लेख गरेको “सुव्यवस्थित सत्ता हस्तान्तरण” कसरी सम्भव हुन्छ भन्ने प्रश्न पनि खडा गरेको छ ।

प्रधानमन्त्री स्टार्मरले जोन हीलीको राजीनामाको कारण बनेको रक्षा खर्चसम्बन्धी योजना जुलाई ७ मा हुने नेटो शिखर सम्मेलनअघि सार्वजनिक गर्ने वाचा गरेका थिए । तर उनको राजीनामापछि उक्त योजना फेरि स्थगित हुने हो कि भन्ने अन्योल उत्पन्न भएको छ । यस्तै, जुलाई २२ मा आयोजना हुने भनिएको युरोपेली संघ (ईयू) शिखर सम्मेलन पनि स्थगित गरिएको छ । उक्त सम्मेलनमा स्टार्मरले ब्रेक्जिटपछिको बेलायत–युरोप सम्बन्धलाई पुनस्र्थापित गर्ने उद्देश्यले विभिन्न सम्झौताहरू सार्वजनिक गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्