नेभिगेशन
विश्व

इरान परमाणु निरीक्षकमा सहमत

बुर्गेनस्टक, (एएफपी) । खाडी युद्ध २.० समाप्त गर्न भएको पहिलो चरणको अमेरिका–इरान वार्तापछि तेहरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी –आईएईए) का निरीक्षकहरूलाई निरीक्षणका लागि आमन्त्रण गर्न सहमति जनाएको छ ।

‘इरानी अधिकारीले आईएईए निरीक्षकलाई आफ्नो देशमा फर्कन आमन्त्रण गर्न सहमति जनाएका छन्,’ स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने । उक्त रिसोर्टमा आइतबारदेखि इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफसँग उनको वार्ता भएको थियो । ‘यो अमेरिकी जनताका लागि ठूलो उपलब्धि हो र इरानमा स्थायी रूपमा आणविक हतियार कार्यक्रम अन्त्य गर्न वा निशस्त्र गर्नका लागि पहिलो कदम हो,’ उनले भने । 

स्विट्जरल्यान्डमा भएको यो वार्ता गत हप्ता भएको प्रारम्भिक सम्झौताअन्तर्गत निर्धारित दुई महिने वार्ता प्रक्रियाको पहिलो चरण हो । मध्यस्थकर्ता पाकिस्तान र कतारका वार्ताकारहरूले ‘६० दिनभित्र अन्तिम सम्झौता गर्नका लागि मार्गचित्र’मा सहमति जनाएको बताएका छन् । बुर्गेनस्टकको यो अलग्गै रहेको होटल कम्प्लेक्समा प्राविधिक वार्ताहरू यो हप्ताभरि जारी रहनेछन् । अन्तिम सम्झौताले अमेरिका र इजरायलले फेब्रुअरी २८ मा सुरु गरेको युद्धमा पूर्णविराम लगाउने लक्ष्य राखेको छ । उक्त युद्धपछि इरानले क्षेत्रभरि मिसाइल र ड्रोन आक्रमण गरेको थियो र विश्व अर्थतन्त्रका लागि अत्यन्त महŒवपूर्ण हर्मुज जलडमरु प्रभावकारी रूपमा बन्द गरेको थियो ।

वार्ताकारहरूले दशकौंदेखि अमेरिका–इरान सम्बन्धलाई जटिल बनाउँदै आएका इरानको आणविक कार्यक्रम र समृद्ध युरेनियमजस्ता सबैभन्दा कठिन मुद्दाहरू सम्बोधन गर्ने लक्ष्य राखेका छन् ।

गत हप्ता अमेरिकी अधिकारीहरूले जारी गरेको प्रारम्भिक सम्झौताअनुसार, इरानले आफ्नो समृद्ध युरेनियम भण्डारणलाई सम्भवतः आईएईएको पर्यवेक्षणमा भण्डारण स्थलमा नै ‘डाउन–ब्लेन्डिङ’ गरेर पातलो बनाउने छ । आईएईएको अनुमानअनुसार युद्धअघि इरानसँग आणविक बम बनाउन आवश्यक स्तरको नजिक ६० प्रतिशतसम्म समृद्ध गरिएको ४४० किलोग्राम युरेनियम थियो । अमेरिका र इजरायलले सन् २०२५ को जुनमा गरेको अघिल्लो आक्रमणपछि इरानले आईएईएसँगको सहकार्य रोकेको थियो र त्यसयता निरीक्षकहरूले उक्त सामग्री देखेका छैनन् ।

भान्सले निरीक्षकहरूको इरान फर्किने विषयमा छलफल छिट्टै सुरु हुने अपेक्षा गरेको बताए । ‘मलाई लाग्छ, छलफल कम्तीमा यो हप्ता सुरु हुनेछ, आईएईएका अधिकारी र  निरीक्षकहरूसँग  केही छलफलहरू आजै पनि हुन सक्ने मलाई लागिरहेको छ,’ उनले भने । आईएईए प्रमुख राफेल ग्रोसीले आइतबार एक्समा पोस्ट गर्दै आफू बुर्गेनस्टकमा रहेको र स्विस विदेशमन्त्री इग्नाजियो कासिससँग भेट भएको बताएका थिए ।

युद्ध अन्त्य वार्तामा प्रगति
मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् ।

    स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन् । उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ । साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ ।

    लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डी–कन्फ्लिक्सन सेल’ पनि गठन गरिएको छ । प्राविधिक वार्ता बाँकी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलले आइतबार औपचारिक वार्ता सुरु गरेका थिए । गत साता भएको प्रारम्भिक सहमतिअनुसार दुई महिनासम्म वार्ता प्रक्रिया अघि बढ्नेछ ।

    फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलघाँटीको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो र त्यसको प्रत्युत्तरमा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको थियो ।

    लामो समयसम्म विभिन्न प्रयास असफल भएपछि अमेरिका र इरानले अन्ततः युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीमा इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । यद्यपि त्यसपछि पनि लेबनानमा पटक–पटक झडप भइरहेका छन् ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी र कतारी मध्यस्थताको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महŒवपूर्ण प्रगति भएको बताएका छन् । उनले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, नाकाबन्दी हटाइएको, केही रोकिएका सम्पत्ति फुकुवा गरिएको तथा इरानको पुनर्निर्माण र विकासका लागि योजना सुरु गरिएको उल्लेख गरे ।

    वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समय वार्तास्थलबाट बाहिरिएको थियो । ट्रम्पले इरानले लेबनानमा आफ्ना समर्थक समूहहरूलाई रोक्न नसके अमेरिकाले कारबाही गर्न सक्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आफ्ना सशस्त्र बल कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताए ।

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने प्रतिबद्धता दोहो¥याएका छन् । गत शुक्रबार लेबनानमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले गरेको आक्रमणका कारण तय गरिएको अमेरिका–इरान वार्ता समेत केही समयका लागि स्थगित भएको थियो । इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाह गम्भीर रूपमा कमजोर बनेको दाबी गरेका थिए । उनका अनुसार हिजबुल्लाहले ठूलो क्षति व्यहोरेको छ र त्यसको पुनर्गठन रोक्न इजरायल तयार छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँको द्वन्द्वमा हालसम्म चार हजार एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यद्यपि क्षेत्रभरि सक्रिय इरान समर्थित सशस्त्र समूहहरूबारे वार्तामा ठोस छलफल भएको संकेत भने प्राप्त भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्