नेभिगेशन
विश्व

अफ्रिकामा एनेस्थेसिया संकट

नैरोबी, (एएफपी) । अफ्रिकाका अस्पतालहरूमा बाल शल्यक्रियाका लागि प्रयोग हुँदै आएको मुख्य एनेस्थेटिक औषधि हेलोथेनको आपूर्ति समाप्त हुने दिशामा गएपछि महाद्वीपभर गम्भीर स्वास्थ्य संकट उत्पन्न हुने चेतावनी दिइएको छ । सन् २०२७ सम्म स्टक सकिन सक्ने जोखिमका कारण शल्यक्रिया सेवा नै प्रभावित हुने अवस्था देखिएको हो ।

    नयाँ विकल्प सेभोफ्लुरेनभन्दा सातदेखि १० गुणा सस्तो पर्ने भएकाले अफ्रिकामा विशेषगरी उप–सहारा क्षेत्रमा बाल शल्यक्रियामा हेलोथेन व्यापक रूपमा प्रयोग हुँदै आएको छ । तर सन् २०२३ मा भारतमा अन्तिम निर्माता कम्पनीले उत्पादन बन्द गरेपछि यसको आपूर्ति तीव्र रूपमा घट्दै गएको छ ।

    स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार उपलब्ध स्टक द्रुत गतिमा समाप्त हुँदै गएको छ र अब सन् २०२७ को अन्त्यसम्म पनि हेलोथेन बाँकी नरहने सम्भावना बढेको छ । युगान्डाकी एनेस्थेसियोलोजिस्ट एलिजाबेथ इगागाले यस अवस्थाबारे स्पष्ट पार्दै समय निश्चित नभए पनि सन् २०२७ सम्म आपूर्ति समाप्त हुने आशंका व्यक्त गरे ।

    उनी स्माइल ट्रेन नामक परोपकारी संस्थामा कार्यक्रम सुरक्षाकी वरिष्ठ निर्देशकसमेत हुन् । उक्त संस्थाले प्रत्येक वर्ष फाटेको ओठ र तालुका समस्या भएका एक लाखभन्दा बढी शल्यक्रिया गराउँछ र तीमध्ये करिब ९० प्रतिशत बालबालिका हुन्छन् । उनले हेलोथेनको अभावलाई गम्भीर चुनौतीका रूपमा चित्रण गर्दै सुरक्षित शल्यक्रियाको निरन्तरता कायम राख्न कठिन हुने बताइन् ।

    उच्चस्तरीय अस्पतालहरूले पहिले नै सेभोफ्लुरेन प्रयोग गर्न थालेका भए पनि ती अस्पतालहरूले उप–सहारा अफ्रिकाको सानो भाग मात्र प्रतिनिधित्व गर्छन् । अधिकांश स्वास्थ्य केन्द्रहरू अझै पुरानै प्रणालीमा निर्भर छन् । यही कारण सङ्क्रमण प्रक्रिया जटिल बनेको छ ।

    विशेषज्ञहरूका अनुसार यो परिवर्तनले अफ्रिकामा एनेस्थेसिया प्रणालीमा वर्षौंदेखि कायम रहेको लगानी अभावलाई उजागर गरेको छ । नयाँ उपकरणहरू प्रतिस्थापन गर्न प्रत्येक मेसिनका लागि हजारौं अमेरिकी डलर लाग्ने भएकाले धेरै अस्पतालहरू आर्थिक दबाबमा छन् ।

    जाम्बियामा सोसाइटी अफ एनेस्थेटिस्टका अध्यक्ष सोमप्वे म्वान्साले हेलोथेन उत्पादन बन्द हुने खबरले देशभर चिन्ता फैलाएको बताउँदै सङ्क्रमण व्यवस्थापन कठिन भइरहेको उल्लेख गरे । उनका अनुसार उपकरणको व्यवस्थापनदेखि नयाँ औषधिको तालिमसम्मका विषयले स्वास्थ्य प्रणालीलाई ठूलो दबाबमा पारेको छ । अफ्रिकाका धेरै क्षेत्रमा एनेस्थेसिया डाक्टर नभएका स्वास्थ्यकर्मीहरूले सञ्चालन गर्ने भएकाले नयाँ औषधि प्रयोगका लागि थप तालिम आवश्यक पर्ने देखिएको छ । यसले लागत र समय दुवै बढाउने जोखिम छ ।

    विश्व एनेस्थेसियोलोजिस्ट समाज महासंघले सन् २०२४ मै अफ्रिकी सरकारहरूलाई सङ्क्रमणका लागि बजेट विनियोजन गर्न आग्रह गरेको थियो । तर स्माइल ट्रेनका अनुसार अपेक्षित स्तरमा तत्काल प्रतिक्रिया प्राप्त हुन सकेको छैन । चिकित्सकहरूका अनुसार युगान्डा र जाम्बियाका अधिकारीहरूले सकारात्मक संकेत देखाए पनि कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । यसले पहिले नै सीमित स्वास्थ्य बजेटमा थप लाखौं डलरको भार थपेको छ । यो पछिल्ला १८ महिनामा पश्चिमी अनुदान कटौतीले अझ बढेको छ ।

    यस अवस्थाले अफ्रिकामा शल्यक्रिया क्षमता घटाउन सक्ने सम्भावना रहेको विशेषज्ञहरूले चेतावनी दिएका छन् । एनेस्थेसिया पहिले नै स्वास्थ्य प्रणालीको कम प्राथमिकतामा पर्ने क्षेत्र भएकाले यसको असर गम्भीर हुन सक्ने बताइएको छ । अफ्रिका विश्वकै सबैभन्दा युवा जनसङ्ख्या भएको महादेश भएकाले र सन् २०५० सम्म विश्वका चारमध्ये एक बच्चा यहीँ बस्ने अनुमान गरिएको सन्दर्भमा बाल स्वास्थ्य सेवामा यस्तो संकट अझ गम्भीर बन्ने देखिएको छ ।

स्माइल ट्रेनले सङ्क्रमणमा सहयोग गरिरहेको भए पनि सम्पूर्ण समस्या समाधान गर्न नसक्ने स्पष्ट पारेको छ । अन्ततः अफ्रिकी सरकारहरूले नै दीर्घकालीन जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याइएको छ । एलिजाबेथ इगागाले यो चुनौती स्वीकार गर्दै सहयोग स्वागतयोग्य भए पनि सरकारहरू स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्