नेभिगेशन
खेलकुद

इरानको धन्यवाद लस एन्जलसलाई

इरानको पुरुष फुटबल टोलीका खेलाडीहरूले विश्वकप आयोजक सहर लस एन्जलसलाई धन्यवाद दिँदै र राष्ट्रहरूबीच शान्तिको आह्वान गर्दै आफ्नो ड्रेसिङ रुममा एउटा हस्तलिखित सन्देश छाडेका छन् ।
आइतबार लस एन्जलस स्टेडियममा बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि उक्त पत्र ड्रेसिङ रुममा राखिएको थियो । विश्व वरियतामा २२औं स्थानमा रहेको इरानले यसअघि जुन १५ मा क्यालिफोर्नियाको इन्गलउडस्थित सोही मैदानमा विश्व वरियतामा ८४औं स्थानमा रहेको न्युजिल्यान्डसँग २–२ को बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक हासिल गरेको थियो ।
पत्रमा भनिएको छ, ‘हजारौं वर्ष पुरानो पर्सियादेखि आजको सभ्य इरानसम्म, इरानको आत्मा जीवित र अडिग छ । हामी गर्वका साथ लस एन्जलस आयौं, सम्मानका साथ प्रतिस्पर्धा गर्यौं र मर्यादाका साथ फर्किरहेका छौं । तपाईंहरूको आतिथ्यका लागि धन्यवाद, लस एन्जलस । साथै यी १८० मिनेटभर इरानका लागि आफ्नो हृदय, आवाज र आत्मा अर्पण गर्ने प्रत्येक इरानीलाई पनि धन्यवाद । सबै राष्ट्रहरूबीच शान्ति, सम्मान र मित्रताको विजय होस् ।’
इजरायल र अमेरिकासँग जारी युद्धका कारण यस विश्वकपमा इरानको सहभागिता सुरुदेखि नै तनावपूर्ण रह्यो । अमेरिका विश्वकपका तीन आयोजक राष्ट्रमध्ये एक हो । यद्यपि युद्ध अन्त्य गर्न अमेरिकी र इरानी अधिकारीहरूबीच वार्ता भने जारी छ ।
प्रतियोगिताका लागि इरानी टोलीका केही पदाधिकारीहरूले अमेरिकी प्रवेशाज्ञा (भिसा) पाउन सकेनन् । कडा यात्रा प्रतिबन्धका कारण इरानले आफ्नो आधार शिविर अमेरिकाको एरिजोनाबाट मेक्सिकोमा सारेको थियो । इरानी टोलीलाई दिइएको भिसा सर्तअनुसार उनीहरू खेलको अघिल्लो दिन मात्र अमेरिका प्रवेश गर्न पाउँछन् र खेल भएकै दिन अमेरिका छाड्नुपर्छ ।
मेक्सिकोको तिजुआनास्थित आधार शिविरमा पुग्दा इरानी खेलाडीहरूले आफ्नो पोसाकमा ‘१६८’ लेखिएको ब्याज लगाएका थिए । यो संख्या युद्धको पहिलो दिन इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा भएको बम आक्रमणमा मारिएका भनिएका १६८ जनाको सम्झनामा प्रयोग गरिएको थियो । टोलीले आफ्नो ड्रेसिङ रुममा छाडेको पत्रमा पनि ‘१६८’ र ‘मिनाब’ लेखेको थियो ।
उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) नौसेनाले प्रयोग गर्ने भवनहरूको नजिक अवस्थित थियो । अमेरिकासहित एक दर्जनभन्दा बढी देशहरूले आईआरजीसीलाई आतंकवादी संगठनको सूचीमा राखेका छन् ।
अमेरिकी अधिकारीहरूले न्यूयोर्क टाइम्स, द वासिङ्टन पोस्ट र एनबीसीलाई दिएको जानकारीअनुसार गुप्तचर सूचनामा भएको त्रुटिका कारण विद्यालयमा आक्रमण भएको थियो । ती सञ्चारमाध्यमहरूले आक्रमणमा अमेरिकाको संलग्नता हुन सक्ने उल्लेख गरेका थिए र उक्त विद्यालय पहिले सैन्य अड्डाको हिस्सा रहेको पनि बताएका थिए । यो आक्रमण इरानभर भएका आक्रमणहरूको एक भाग थियो, जसका क्रममा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खमेनाईको मृत्यु भएको बताइएको छ ।
अमेरिकी गृह सुरक्षा विभागका प्रमुख मार्कवेन मुलिनले आइतबार फक्स न्युजसँग कुरा गर्दै आइआरजीसीसँग सम्बन्धित एक व्यक्ति, जसले आफूलाई इरान फुटबल महासंघको अध्यक्षका रूपमा प्रस्तुत गरेका थिए, शनिबार अमेरिकामा प्रवेश गर्न नपाएका व्यक्तिहरूमध्ये एक रहेको बताए ।
मुलिनका अनुसार अधिकांश टोलीहरू करिब १२० सदस्यसहित यात्रा गर्छन्, तर इरानलाई ५३ जनासम्म मात्र अमेरिका लैजान अनुमति दिइएको थियो । उनले प्रवेश नपाउने व्यक्तिहरूको ‘आईआरजीसीसँग प्रत्यक्ष सम्बन्ध रहेको र उनीहरू टोलीको नियमित यात्रा समूहका सदस्य नभएको’ बताए । गत साता प्रशिक्षक अमीर घलेनोईले यात्रा समस्या तथा अन्य प्रतिबन्धका कारण इरानलाई विश्वकपकै ‘सबैभन्दा पीडित टोली’ भनेका थिए ।
टोलीका कप्तान मेहदी तेरेमीले पत्रकारहरूसँग कुरा गर्दै अवस्थालाई ‘विपत्ति’को संज्ञा दिएका थिए । विश्वकपका पहिलो दुई खेलअघि इरानको राष्ट्रिय गान बज्दा केही दर्शकहरूले हुटिङ गरेको आवाज पनि सुनिएको थियो ।
इरानले समूह ‘जी’को अन्तिम खेलमा शुक्रबार सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । विश्व वरियतामा २६औं स्थानमा रहेको इजिप्ट (१ जित, १ बराबरी) चार अंकसहित समूह ‘जी’ को शीर्ष स्थानमा छ । इरान (दुई बराबरी) दोस्रो स्थानमा रहेको छ भने बेल्जियम पनि समान दुई अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्ड एक अंकसहित चौथो स्थानमा छ । इरानले अझै पनि नकआउट चरणमा अमेरिकासँग भेट गर्न सक्ने सम्भावना कायम छ ।
समूह ‘जी’ को विजेताले अन्तिम ३२ मा समूह ‘ए’, ‘ई’, ‘एच’, ‘आई’ वा ‘जे’ मध्ये कुनै एकको तेस्रो स्थानको टोलीसँग खेल्नेछ । त्यस खेलको विजेताले अन्तिम १६ मा अमेरिका वा अन्य योग्य टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यदि इरान समूह ‘जी’ मा दोस्रो वा तेस्रो स्थानमा रह्यो भने, दुवै टोली फाइनलसम्म पुगेको अवस्थामा मात्र अमेरिकासँग उसको भेट हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्