नेभिगेशन
प्रदेश

बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी विषयमा सरोकार भएका निकायमा प्रतिनिधिसँग छलफल गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनका लागि चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत जानकारी लिएका हुन् ।

    भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदम दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गरे । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । 

    देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघे इन्क्लोजर (चिडियाखाना, आरक्ष वा कुनै निश्चित क्षेत्रमा जनावरलाई सुरक्षित राख्न वा सर्वसाधारणबाट अलग गर्न बनाइएको घेरा, खोर वा पर्खाल)मा राखिएका छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको हो ।

    मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफलसमेत गरेकी हुन् ।

    यसैगरी मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका समस्या र आवश्यकताका बारेमा जानकारी पनि लिएकी छन् । स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावा जन्माएर संरक्षणमा योगदान पु¥याएको प्रजनन केन्द्रका बारेमा उठेका प्रश्नलाई पनि उनले सम्बोधन गर्ने प्रयास गरिन् । उनले केन्द्रमा माउ तथा छावाको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीसँग छलफल गरेकी थिइन् ।

    चितवनको राष्ट्रिय निकुञ्जको कार्यालय भ्रमण गर्दै मन्त्री चौधरीले घडियाल प्रजनन केन्द्र पनि भ्रमण गरिन् । उनले घडियाल गोहीको संरक्षण र सङ्ख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिइन् ।

    सोहीअवसरमा चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्ननगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको थियो । पर्यापर्यटन एवं संरक्षणको उद्देश्यका कृष्णसार ल्याउने मन्त्रालयको तयारी छ ।

    मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बासस्थान सुनिश्चित गर्न निर्देशन दिएकी थिइन् । टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गरी वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकीकरण हुनुपर्नेमा जोड दिए ।

    अनुसन्धान र प्रविधिको पाटोलाई नियाल्दै मन्त्री चौधरीले चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको भ्रमण गरिन् । वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उनले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महŒवपूर्ण रहेको बताइन् ।

    भ्रमणका क्रममा चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन, डिभिजन वन कार्यालय चितवनका प्रमुख तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवलगायतका उच्च अधिकारी थिए । मन्त्री चौधरीले संरक्षणका विविध आयाम र नीतिगत सुधारका विषयमा निर्देशन दिँदै समुदायमा आधरित कार्यक्रममा जोड दिइन् ।

    स्थानीयसँगको अन्तरक्रियामा मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी सहअस्तित्व कायम गर्न सरकारले राहत, उद्धार र दीर्घकालीन पूर्वाधारका काम प्राथमिकताका साथ गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश