नेभिगेशन
नेपाल

लोकतन्त्रको विकल्प अझ सबल लोकतन्त्र मात्रै : प्रचण्ड

काठमाडौं, २६ भदौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी पुस्ताले सुरु गरेको सुशासन आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रेस विज्ञप्तिमार्फत उनले आन्दोलनलाई सुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै भनेका छन्, “सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो । तर सरकारले पहिलो दिनमै बर्बर दमन र नरसंहार मच्चाएर ठूलो मानवीय क्षति निम्त्यायो ।”

प्रचण्डले आन्दोलनको दोस्रो दिन देखिएका तोडफोड, आगजनी र लूटपाटलाई भने जेन-जी आन्दोलनकारीको कार्य नभएको दाबी गरेका छन् । उनका अनुसार आन्दोलनभित्र अवाञ्छित तत्वहरू प्रवेश गरी राज्यका धरोहर, सिंहदरबारलगायत संरचनामा अकल्पनीय क्षति पुर्याएका छन् ।

अध्यक्ष प्रचण्डले आफ्ना विगतका संघर्ष स्मरण गर्दै जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताए। “लोकतन्त्रको विकल्प अझ सबल लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो,” उनले स्पष्ट पारे ।

संविधान कार्यान्वयनमा कमी कमजोरी भए पनि तुलनात्मक दृष्टिले अहिलेको संविधानलाई उत्कृष्ट भन्दै उनले समावेशी लोकतन्त्रको रक्षा र प्रत्यक्ष कार्यकारी रहने प्रणालीतर्फ संशोधन आवश्यक रहेको धारणा राखे ।

प्रचण्डले प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै सबैलाई एकजुट हुन अपील गर्दै भने, “हामी यथास्थितिमा बस्न चाहन्नौं, अग्रगामी परिवर्तनका पक्षमा हुने सबै आन्दोलनमा हाम्रो साथ, समर्थन रहनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्