नेभिगेशन
खेलकुद

विश्वकपमा एकै दिन मेस्सी, एम्बाप्पे र हालान्डको चमत्कारी प्रदर्शन

विश्वकपमा एकै दिन फुटबलका तीन सुपरस्टार लियोनेल मेस्सी, काइलिन एम्बाप्पे र एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चित बनाए ।
मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको केही घण्टापछि एम्बाप्पेले पनि दुई गोल गर्दै आफ्नो लक्ष्ययात्रालाई निरन्तरता दिए । त्यसपछि राति हालान्डले नर्वेका लागि दुई गोल गर्दै आफ्नो टोलीलाई सेनेगलविरुद्ध ३–२ को जित दिलाए ।
हालान्डले दोस्रो हाफको पहिलो १५ मिनेटभित्रै दुई गोल गरे । पहिलो हाफमा पोस्टमा लागेको प्रहार र हेडरबाट गोल गर्न नसके पनि उनले त्यसको क्षतिपूर्ति शानदार प्रदर्शनमार्फत गरे । उनका दुई गोल नर्वेको जितका लागि निर्णायक बन्न पुग्यो ।
नर्वेका टोलीसाथी क्रिस्टियन थोस्र्टभेटले हालान्डलाई ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा वर्णन गरे । आगामी महिना २६ वर्ष पुग्न लागेका हालान्डले फुटबलका अनुभवी सुपरस्टारहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाइरहेका छन्, जबकि नर्वेसँग फ्रान्स वा अर्जेन्टिनाजस्तो विश्व फुटबलको गौरवशाली इतिहास छैन ।
नर्वेका मुख्य प्रशिक्षक स्टेल सोल्बाकेनले भने, ‘उनी संसारकै उत्कृष्ट स्ट्राइकर हुन् । उनी फ्रान्स वा अर्जेन्टिनाका लागि खेल्दैनन्, तर नर्वेका लागि गोल गर्छन् ।’
विश्वकपमा यी तीन खेलाडीले अहिलेसम्म संयुक्त रूपमा १३ गोल गरिसकेका छन् । मेस्सीले पाँच गोल गरेका छन् भने एम्बाप्पे र हालान्डले समान चार–चार गोल गरेका छन् । गोल्डेन बुटको दौड अहिले उनीहरूबीच निकै प्रतिस्पर्धात्मक बनेको छ ।
इराकका प्रशिक्षक ग्राहम आर्नोल्डले गोल्डेन बुटका लागि यी तीनबीच रोचक प्रतिस्पर्धा हुने भविष्यवाणी गरेका छन् । सोलबाकेनले भने, ‘फ्रान्स र अर्जेन्टिनाजस्ता टोलीमा खेल्दा गोल्डेन बुट जित्न सजिलो हुन्छ । तर हामी हालान्डलाई थप खेल र थप सहयोग दिने प्रयास गर्नेछौं ।’
मेस्सीले टेक्सासको आर्लिङ्टनमा अर्जेन्टिनाले अस्ट्रियालाई हराउँदा दुई गोल गर्दै आफ्नो विश्वकप करियरको गोल संख्या १८ पु¥याए । यससँगै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने । यता फिलाडेल्फियामा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दा एम्बाप्पेले दुई गोल थप्दै आफ्नो संख्या १६ पु¥याए । यससँगै उनले पूर्व कीर्तिमानी मिरोस्लाभ क्लोसको बराबरी गरेका छन् ।
विश्वकपमा पहिलो पटक खेलिरहेका हालान्डले भने चार गोल गरेका छन् । नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । त्यो समय हालान्ड जन्मिएकै थिएनन् । हालान्डले भने, ‘आज खुसी हुने दिन हो । पृथ्वीमा रहेका सबै नर्वेलीहरू खुसी हुनुपर्छ । म एउटा विशेष यात्राको हिस्सा हुँ । नर्वे पनि एउटा विशेष यात्रामा छ । हामी इतिहास रचिरहेका छौं ।’
६ फिट ५ इन्च अग्ला म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले नर्वेका लागि लगातार १२ प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन् । यस अवधिमा उनले २४ गोल गरेका छन् । नर्वेका लागि प्रतिस्पर्धात्मक खेलमा उनले अन्तिम पटक गोल गर्न नसकेको मिति अक्टोबर १३, २०२४ मात्र हो । सोलबाकेनले भने, ‘उनी आगोमा छन् । विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा गोल गर्न सकेकोमा म उनका लागि निकै खुसी छु ।’
पहिलो हाफमा हालान्डले मैदानमा रहेका कुनै पनि खेलाडीभन्दा कम पटक बल छोएका थिए । सेनेगलले उनलाई नियन्त्रणमा राख्न विशेष रणनीति अपनाएको थियो । त्यसका बाबजुद सोलबाकेनले हालान्डले खाली पोस्टमा अवसर गुमाएको र चार गोलसम्म गर्न सक्ने अवस्था रहेको बताए । सेनेगलका इस्माइल जाकोब्सले भने, ‘उनी संसारका उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन् । हामीले खेलको ठूलो हिस्सा उनलाई कठिनाइमा पार्ने प्रयासमै बितायौं ।’
तर दोस्रो हाफमा वर्षाले भिजेको मैदानमा हालान्डले आफ्नो लय फेला पारे । उनले पहिलो गोल चारविरुद्ध दुईको तीव्र आक्रमणमा गरे । दोस्रो गोलमा दायाँ खुट्टाले हानेको बल क्रसबारमा लागेर गोलपोस्टभित्र छि¥यो ।
दोस्रो गोलपछि हालान्डले बायाँ हात कानतर्फ लगाउँदै दर्शकको उत्साह बढाए । रातो पोसाकमा सजिएका नर्वेली समर्थकहरूले ‘नोर्गे ! नोर्गे !’ भन्दै नाराबाजी गरे र आफ्नो चर्चित ‘भाइकिङ रोइङ’ उत्सव मनाए ।
आफ्नो गोल गर्ने रहस्यबारे सोध्दा हालान्डले मुस्कुराउँदै भने, ‘मलाई थाहा छैन । गोल गर्नु मेरो विशेषता हो । अरू धेरै कुरा जस्तै, म गोल गर्नमा निकै राम्रो छु । अलिकति भाग्य पनि साथ दिन्छ । म के गरिरहेको छु भन्ने ठ्याक्कै थाहा छैन, तर अवस्था यस्तै छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्