नेभिगेशन
खेलकुद

बाहिरिनेमा हैटी बन्यो पहिलो

ब्राजिलले हैटीलाई ३–० ले पराजित गर्दै २०२६ फिफा विश्वकपबाट बाहिरिने पहिलो टोली बनाइदिएको छ । शुक्रबार राति भएको समूह ‘सी’ को खेलमा ब्राजिलका म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्दै पहिलो हाफमै खेलको नतिजा लगभग तय गरेका थिए ।

ब्राजिलका तीनै गोल पहिलो हाफमा आए । हैटीको मिडफिल्डमा भएका गल्तीको फाइदा उठाउँदै भिनिसियस र कुन्हाले उत्कृष्ट तालमेल देखाए । कुन्हाको पहिलो गोल भिनिसियसको प्रहारबाट आएको रिबाउन्डमा सम्भव भयो भने दोस्रो गोल भिनिसियसको थ्रु पासमा सुन्दर फिनिसमार्फत आयो । त्यसपछि भिनिसियस आफैंले पनि गोल थपे ।

यसअघि भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हराएपछि हैटीलाई अन्तिम १६ मा पुग्ने आशा कायम राख्न कम्तीमा बराबरी आवश्यक थियो । तर हारसँगै हैटी प्रतियोगिताबाट बाहिरियो । समूहमा ब्राजिल र मोरक्को समान चार अंकसहित शीर्ष स्थानमा छन् भने स्कटल्यान्डको तीन अंक छ ।

दोस्रो हाफमा हैटीले पहिलो गोल खोज्दै आक्रामक खेल प्रदर्शन गरे पनि ब्राजिलका गोलरक्षक एलिसनलाई गम्भीर चुनौती दिन सकेन । यससँगै हैटीको पहिलो विश्वकप गोल गर्ने सपना पनि अधुरै रह्यो ।

सन् १९७४ पछि पहिलो पटक विश्वकपमा पुगेको हैटीका लागि प्रतियोगितामा सहभागिता आफैंमा ऐतिहासिक उपलब्धि रह्यो । देशभित्रको अस्थिरताका कारण टोलीले विश्वकप छनोटका घरेलु खेलसमेत आफ्नै मैदानमा खेल्न पाएको थिएन ।

यद्यपि जित हात पारेको ब्राजिललाई अर्को चिन्ता थपिएको छ । स्टार विङ्गर राफिन्हा पहिलो हाफमै चोटका कारण मैदान छाड्न बाध्य भए । सम्पर्कविना नै लडेपछि उनको चोट गम्भीर हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्