नेभिगेशन
विश्व
ट्रम्पलाई ठूलो झट्का

अमेरिकी सिनेटले पहिलोपटक इरान युद्ध रोक्न प्रस्ताव पारित ग-यो

वासिङ्टन, (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीतिलाई ठूलो धक्का लाग्ने गरी अमेरिकी सिनेटले मंगलबार पहिलोपटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावले इरानविरुद्ध अमेरिकी सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।
५०–४८ मतले पारित भएको प्रस्ताव कानुनी रूपमा बाध्यकारी नभए पनि यसले ट्रम्प प्रशासनले सुरु गरेको युद्ध र त्यसको अन्त्यका लागि इरानसँग गरेको सम्झौताप्रति अमेरिकी सांसदहरूमा बढ्दो असन्तुष्टि देखाएको छ । यसअघि सिनेटले ९ पटक यस्तो प्रयास गरे पनि सफल भएको थिएन । प्रतिनिधिसभाले भने यसअघि नै समान प्रस्ताव पारित गरिसकेको थियो ।
प्रस्ताव पारित भएपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रोश व्यक्त गर्दै यसलाई “समय नमिलेको र अर्थहीन” कदम भनेका छन् । उनले यस्तो मतदानले इरानलाई सहयोग पुगेको दाबी गरे । सिनेटका डेमोक्रेटिक नेता चक शुमरले भने ट्रम्पको इरान युद्धलाई “अमेरिकी इतिहासकै सबैभन्दा खराब विदेश नीति गल्तीमध्ये एक” भन्दै आलोचना गरे । उनका अनुसार अमेरिकी नागरिकहरूले ट्रम्पको निर्णयको मूल्य चुकाइरहेका छन् ।
मतदानमा रिपब्लिकन पार्टीका चार सिनेटरहरू लिसा मुर्कोव्स्की, सुसन कोलिन्स, र्यान्ड पल र बिल क्यासिडी डेमोक्रेटहरूसँग उभिएका थिए । अर्कोतर्फ डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले प्रस्तावको विपक्षमा मतदान गरे । ट्रम्पले प्रस्तावलाई समर्थन गर्ने रिपब्लिकन सिनेटरहरूलाई “हार्ने समूह” भन्दै आलोचना गरेका छन् । उनले यस्ता सांसदहरूले आफ्नो काम झन् कठिन बनाएको बताएका छन् ।
यसबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरान युद्धका कारण खर्च भएको सैन्य सामग्री पुनः भर्न र भण्डारण सुदृढ गर्न कंग्रेससँग करिब ८० अर्ब डलर अतिरिक्त बजेट माग गरेको छ । विज्ञहरूका अनुसार ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको उक्त सैन्य अभियानको कुल लागत करिब १०० अर्ब डलरसम्म पुग्न सक्छ । ट्रम्प बुधबार रिपब्लिकन सिनेटरहरूसँग भेट गर्न क्यापिटल हिल जाने कार्यक्रम छ । इरानसँग भएको नयाँ सम्झौतामा ३०० अर्ब डलरको पुनर्निर्माण कोष समावेश गरिएको विषयलाई लिएर केही रिपब्लिकन सांसदहरू असन्तुष्ट छन् । यो रकम सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले इरानलाई फिर्ता गरेको १.७ अर्ब डलरभन्दा धेरै गुणा ठूलो हो ।
टेक्सासका रिपब्लिकन सिनेटर टेड क्रुजले ट्रम्पले इरानबारे “अत्यन्त खराब सल्लाह” पाएको टिप्पणी गरेका छन् । डेमोक्रेटिक सांसदहरूले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि मिसाइल आक्रमण सुरु गरेयता पटक–पटक युद्ध रोक्ने प्रस्ताव ल्याउँदै आएका थिए । तर यसअघि आवश्यक बहुमत जुट्न सकेको थिएन । यद्यपि अहिले पारित भएको प्रस्ताव राष्ट्रपति ट्रम्पको हस्ताक्षरका लागि जाने छैन र कानुनी रूपमा लागू हुने छैन । तथापि यसलाई कंग्रेसबाट ट्रम्प प्रशासनको इरान युद्ध नीतिविरुद्ध आएको शक्तिशाली राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
उता ट्रम्प प्रशासनले यस वर्ष रक्षा खर्चका लागि कुल १.५ ट्रिलियन डलर बजेट माग गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ५० प्रतिशतले बढी हो । डेमोक्रेटिक नेता हाकिम जेफ्रिजले भने “अपरेसन एपिक फेल्योर”का लागि अब अमेरिकी करदाताको एक पैसा पनि खर्च गर्नु नहुने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्