नेभिगेशन
नेपाल
गगनको भिडियो सन्देश

‘संविधान निरन्तरतासहित सरकार चलाउ’

काठमाडौं, २६ भदौ - देशभरि व्यापक भएको जेनजी आन्दोलनले मुलुकको राजनीति र सत्ता संरचनामा ठूलो प्रश्न उठाइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनलाई संविधानको निरन्तरतामा आधारित राख्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत १५ मिनेट लामो भिडियो सार्वजनिक गर्दै उनले आन्दोलनका क्रममा भएको बर्बर दमनप्रति माफी मागे, आफ्नो पार्टी नेतृत्वका गल्ती स्वीकार गरे र नयाँ सुरुवातका लागि सहकार्यको प्रस्ताव राखेका छन् ।

थापाले विशेषगरी भदौ २३ गतेको घटनालाई इतिहासकै ठूलो अपराध ठहर गरेका छन् । उक्त दिन जेनजीको प्रदर्शनका प्रहरीले गोली चलाउँदा १९ जना युवाको ज्यान गएको थियो । उनले भने, ‘म प्रत्यक्ष संलग्न थिइनँ तर जिम्मेवारीबाट भाग्न सक्दिनँ । त्यस दिन गोली चल्नु गलत थियो । म माफी माग्छु।’ शान्तिपूर्ण ढंगले सुरु भएको आन्दोलनलाई पछि नियोजित समूहले कब्जा गरेर तोडफोड र आगजनीतर्फ धकेलेको दाबी उनले गरेका छन् । 

आन्दोलनका नाममा भएको बर्बर गतिविधिबाट जनताको न्यायपूर्ण माग हराउने जोखिम उनले औंल्याएका छन् । भिडियो सन्देशमा थापाले आन्दोलनमा वास्तविक पीडित र आक्रोशित युवाबाहेक केही स्वार्थी समूहले घुसपैठ गरेको आरोप लगाएका छन् । ‘तपाईंहरूको आन्दोलन भड्काउन र कब्जा गर्न चाहने समूहलाई सावधान हुनुपर्छ,’ भन्दै उनले तोडफोड र
आगजनीका घटनामा संलग्नलाई छानबिन गरेर कठोर सजाय दिन सरकारलाई आग्रह गरेका छन् ।

उनले प्रहरी प्रशासनको चरम दमनको आलोचना गर्दै भने, ‘हामीले सुरक्षा निकायलाई कहिल्यै जवाफदेही बनाएका छैनौं । यसपटक छानबिन गरेर दोषीलाई कारबाही गर्नैपर्छ ।’ थापाले २०४६ सालदेखि सार्वजनिक पदमा बसेका सबै नेताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनका शब्दमा, ‘दूधको दूध, पानीको पानी हुनुपर्छ । कोही निर्दोष छन् भने प्रष्ट हुन्छ । दोषी छ भने सजाय भोग्नुपर्छ । आवश्यक परे गैरकानुनी सम्पत्ति राष्ट्रियकरण गर्न सकिन्छ ।’

यससँगै उनले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन गर्दै निष्पक्ष अख्तियार आयोग र स्वतन्त्र न्यायालयका माग जेनजी पुस्ताको जायज चाहना भएको स्वीकार गरेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई मुलुक परिवर्तन गर्ने ठूलो सम्भावना भएको तर संविधान बाहिर गएर समाधान खोज्न खोजिए खतरनाक परिणाम आउने चेतावनी उनले दिएका छन् । ‘संविधानलाई तोडेर होइन, यसकै ढाचाभित्र सुधार गर्ने बाटो रोजौं । संविधानभित्रै आवश्यक संशोधन सम्भव छ । तर बाहिर गयौं भने देश फेरि नसम्हालिने संकटमा पर्छ,’ उनले भनेका छन् ।

उनको भनाइमा, सत्ता हस्तान्तरण, सरकार परिवर्तन वा नेतृत्व अदलबदल संविधानको ढाँचाभित्रै हुनुपर्छ । ‘संविधान र व्यवस्था नफाले पनि तपाईंहरूले सरकार चलाउन सक्नुहुन्छ । हामी पार्टी सुधारमा लाग्छौं,’ उनले जेनजीलाई सम्बोधन गर्दै भनेका छन् । भिडियोमा थापाले आफ्नै पार्टी कांग्रेसप्रति पनि कठोर आत्मालोचना गरेका छन् । उनले भनेका छन्, ‘हामीले २०४६ सालपछि कांग्रेसलाई आवश्यक सुधार गर्न सकेनौं । रुपान्तरण भएन । नेतृत्व समयमै फेर्न सकिएन । अब ढिला भयो, तर सुधार गर्नैपर्छ ।’ 

उनले पार्टीलाई जरैदेखि रुपान्तरण गर्ने प्रतिवद्धता जनाउँदै नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने समय आएको स्पष्ट संकेत दिएका छन् । नेता थापाले आफ्नै घरमा भएको आक्रमणको विषय पनि उल्लेख गरेका छन् । आन्दोलनको आवेगमा आएको समूहले उनको घरमा आगजनी प्रयास गर्दा स्थानीयबासीले हस्तक्षेप गरेर परिवारलाई सुरक्षित निकालेका थिए । उनले भने, ‘मलाई भन्दा ठूलो पीडा ती परिवारलाई छ जसले आफ्ना छोराछोरी गुमाए । त्यसैले यो आन्दोलनलाई सही बाटोमा फर्काउनु जरुरी छ ।’

उनले आन्दोलनकारी जनतालाई धन्यवाद दिँदै हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । आन्दोलनकारी युवाप्रति विश्वास प्रकट गरेका उनले भनेका छन्, ‘बीचमा हामीबाट गल्ती भयो, माफी माग्छु। सुधार गर्ने वाचा गर्छु । अब संयम र धैर्यका साथ अघि बढौं । तपाईंहरूको जेनेरेसनले नै यो देशलाई नयाँ दिशा दिन सक्छ ।’ उनले जेनजी पुस्तालाई संयमित ढंगले नेतृत्व गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्