नेभिगेशन
खेलकुद

छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

मंगलबार विश्वकपमा पोर्चुगलले ठूलो जित हासिल गरेपछि अन्तिम सिटी बज्नासाथ क्रिस्टियानो रोनाल्डोको सन्देश छोटो तर निकै शक्तिशाली थियो। उनले टेलिभिजन क्यामेरातर्फ सीधै हेर्दै भने, “म फर्किएको छु। म फर्किएको छु।”
पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकाल्दा रोनाल्डोले दुई गोल गरे। यससँगै उनी विश्वकपका छ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। उद्घाटन खेलमा कंगोविरुद्ध १–१ को बराबरीमा उनको प्रदर्शन कमजोर रहेपछि आलोचकहरूले प्रश्न उठाएका थिए, तर उनले त्यसको बलियो जवाफ दिए।
४१ वर्षीय सुपरस्टारका लागि आलोचना नयाँ विषय होइन। तर यस साताभर आफूविरुद्ध गरिएको तीव्र नकारात्मक टिप्पणीले आफूलाई कठिन महसुस गराएको उनले स्वीकार गरे।
उनले पोर्चुगिज भाषामा भने, “तर सधैं यस्तै हुने गर्छ। यसले खासै फरक पार्दैन, किनभने म २३ वर्षदेखि यही काम गरिरहेको छु। जब सबै कुरा राम्रो हुन्छ, ‘क्रिस्टियानो महान् छ’ भनिन्छ। जब नराम्रो हुन्छ, ‘क्रिस्टियानो त अब सकियो, ऊ बूढो भयो’ भनिन्छ। सधैं यस्तै हुनेछ। तर आज मैले र मेरा टोलीका साथीहरूले राम्रो जवाफ दियौं, जुन हामी चाहन्थ्यौं।”
रोनाल्डोले खेलको छैटौं मिनेटमै इतिहास रचे। जोआओ क्यान्सेलोको क्रसमा उनले दाहिने खुट्टाले प्रहार गर्दै गोल गरे र पोर्चुगललाई १–० को अग्रता दिलाए। त्यसपछि उनी बेन्चतर्फ दौडिएर टोलीका साथीहरूसँग उत्सव मनाए।
उनले ३९औं मिनेटमा अर्को गोल थपे। ब्रुनो फर्नान्डेसको पासमा उनले नजिकको पोस्टको भित्री भागबाट दाहिने खुट्टाले बल जाली चुमाउँदै पोर्चुगललाई ३–० को अग्रता दिलाए।
उज्बेकिस्तानका प्रशिक्षक फाबियो कानाभारो, जो खेलाडी जीवनमा उत्कृष्ट डिफेन्डर थिए र २००६ मा इटालीलाई विश्वकप जिताएका थिए, उनले रोनाल्डोको प्रशंसा गरे।
कानाभारोले भने, “डिफेन्डरका रूपमा तपाईं सधैं तयार हुनुपर्छ र बक्सभित्र उसँग नजिक रहनुपर्छ। यदि तपाईंले उसलाई बक्सभित्र एक सेन्टिमिटर मात्र ठाउँ दिनुभयो भने पनि तपाईं समाप्त हुनुहुन्छ।”
रोनाल्डोलाई उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित गरियो, जुन उनको अद्भुत करियरको अर्को सम्झनलायक उपलब्धि हो।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि रोनाल्डोको व्यावसायिकता र संयमताको खुलेर प्रशंसा गरे। बाहिरबाट उनलाई बेन्चमा राख्नुपर्ने आवाज उठिरहेका बेला रोनाल्डोले देखाएको व्यवहार प्रशंसनीय रहेको उनले बताए।
मार्टिनेजले भने, “उनी पनि एक मानव हुन्। उनलाई भावना राख्ने अधिकार छ। उनलाई अनुभूति गर्ने अधिकार छ। तर प्रभावशाली कुरा भनेको उनको प्रतिक्रिया हो। उनले जे महसुस गरे पनि त्यसको उत्तर प्रशिक्षण मैदानमा फर्केर अभ्यास गर्नु, मेहनत गर्नु र आफैंसँग अझ बढी अपेक्षा राख्नु हो। यही व्यावसायिकताले उनलाई यति लामो समयसम्म उच्च स्तरमा टिकाइराखेको छ।”
मंगलबारका यी दुई गोलले रोनाल्डोलाई विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी बनाएको छ। यो सूचीमा उनीभन्दा अगाडि केवल क्यामरुनका फरवार्ड रोजर मिला छन्, जसले सन् १९९४ को अमेरिकामा भएको विश्वकपमा ४२ वर्षको उमेरमा गोल गरेका थिए।
यस वर्ष रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी विश्वकपका छ संस्करण खेल्ने इतिहासका एकमात्र पुरुष खेलाडी बने। रोनाल्डोको विश्वकप गोल यात्रा सन् २००६ मा सुरु भएको थियो। त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ का विश्वकपमा पनि गोल गरेका थिए।
यद्यपि उनले मेस्सीसँग सर्वाधिक विश्वकप खेल्ने कीर्तिमान साझा गरेका छन्, तर प्रत्येक संस्करणमा गोल गर्ने उपलब्धिमा भने उनी एक्लै छन्। दक्षिण अफ्रिकामा भएको २०१० को विश्वकपमा मेस्सीले गोल गर्न सकेका थिएनन्।
उज्बेकिस्तानविरुद्धका दुई गोलसँगै रोनाल्डोको विश्वकप गोल संख्या १० पुगेको छ। उता मेस्सीले अल्जेरियाविरुद्धको उद्घाटन खेलमा ह्याट्रिक गरेका थिए भने सोमबार अस्ट्रियाविरुद्ध थप दुई गोल गर्दै प्रतियोगिताको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनको विश्वकप गोल संख्या १८ पुगेको छ।
रोनाल्डोको पछिल्लो प्रदर्शनले उनको अर्को कीर्तिमान पनि विस्तार गरेको छ। अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या १४५ पुगेको छ, जुन विश्व कीर्तिमान हो। साथै, विश्वकपमा १० गोल पु¥याउँदै उनले पोर्चुगलका महान् खेलाडी युसेबियोको ९ गोलको कीर्तिमान तोडेका छन् र प्रतियोगितामा पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन्।
मंगलबारको खेल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको २३०औं खेल थियो, जुन विश्व फुटबल इतिहासमै सबैभन्दा धेरै हो।
सन् २०१६ मा पोर्चुगललाई युरोपियन च्याम्पियनसिप जिताएका र म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडबाट पाँच पटक च्याम्पियन्स लिग जितेका रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्