नेभिगेशन
खेलकुद

अल्जेरियाद्वारा डेब्युटेन्ट जोर्डन पराजित, नकआउट सम्भावना कायमै

सान फ्रान्सिस्कोमा भएको रोमान्चक खेलमा पुनरागमन जित निकाल्दै अल्जेरियाले विश्वकपमा आफ्नो नकआउट चरणको सम्भावना जीवितै राखेको छ । पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अल्जेरियाले महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।
खेलको सुरुवातदेखि नै अल्जेरियाले बलमाथि नियन्त्रण जमाए पनि रक्षापङ्क्तिमा बलियो देखिएको जोर्डनले पहिलो हाफमा अप्रत्याशित अग्रता लिएको थियो । खेलको ३६औँ मिनेटमा अल्जेरियाका रामिज जेरुकीले बल गुमाउन पुग्दा जोर्डनका निजार अल रशदानले उत्कृष्ट प्रहार गर्दै बललाई जालीको दिशा दिएका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको अल्जेरियाले दोस्रो हाफमा जोर्डनमाथि निकै दबाब सिर्जना ग¥यो । सन् २०१४ पछि पहिलो पटक विश्वकपको सुरुआती ११ मा परेका रियाद महरेजको पासमा अल्जेरियाले बराबरी गोल फर्कायो । खेलको ६९औँ मिनेटमा महरेजले प्रहार गरेको कर्नर बललाई नाधिर बेनबोआलीले हेडमार्फत गोलमा परिणत गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।
खेल सकिन आठ मिनेट बाँकी रहँदा अल्जेरियाले निर्णायक गोल ग¥यो । ८२औँ मिनेटमा अर्को कर्नरबाट आएको बललाई सदुपयोग गर्दै अमिन गुइरीले सुन्दर गोल गरे र टोलीको जित सुनिश्चित गरे । यस जितसँगै अल्जेरियाले अर्को चरण पुग्ने आशा कायमै राख्दा, उत्कृष्ट प्रदर्शनका बावजुद जोर्डनले विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक अङ्क जोड्ने अवसर गुमाउन पुग्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्