नेभिगेशन
खेलकुद

एन्टोइन सेमेन्योको लोमहर्षक फुटबल यात्रा

एन्टोइन सेमेन्योले जब प्रिमियर लिग क्लब बर्नमाउथसँग सम्झौता गरे, तब उनले लिड्स युनाइटेडका पूर्व म्यानेजर डेभिड हकाडेलाई एउटा स्याम्पेनको बोतल उपहार पठाए । त्यसको लेबलमा लेखिएको थियो— “भोक र विश्वास“ (हङ्गर एन्ड बिलिफ) । यी दुई शब्दले सेमेन्योको जीवनको खेल र करियरलाई नै बदलिदिएका थिए, जुन विश्वास उनमा हकाडेले भरिदिएका थिए ।
आज २६ वर्ष पुगेका सेमेन्यो विश्वकपको ठूलो मञ्चमा घानाको प्रतिनिधित्व गर्दै गर्दा उनको विगत भने निकै सङ्घर्षपूर्ण र जटिल रहेको छ । लन्डनमा घानीयाली आमाबुबाको कोखबाट जन्मिएका सेमेन्यो बाल्यकालदेखि नै बुबाको प्रेरणाले दुवै खुट्टाले उत्तिकै कुशलताका साथ बल प्रहार गर्न सक्थे । व्यवसायिक फुटबलर बन्ने सपना बोकेर उनले आर्सनल, टोटनह्याम, मिलवाल र क्रिस्टल प्यालेस जस्ता स्थापित क्लबहरूमा ट्रायल दिए, तर सबैतिरबाट उनी अस्वीकृत भए । १६ वर्षको उमेरमा उनी यति निराश भइसकेका थिए कि उनले फुटबल नै छोड्ने मनस्थिति बनाइसकेका थिए ।
त्यही निराशाका बीच उनको जीवनमा डेभिड हकाडेको आगमन भयो । एउटा सामान्य ट्रायलका क्रममा हकाडेले सेमेन्योभित्र लुकेको एउटा फरक क्षमता र प्रतिभा देखे, जसलाई अन्य कसैले चिन्न सकेका थिएनन् । हकाडेले उनलाई साउथ ग्लोस्टरशायर एन्ड स्ट्राउड (एसजीएस) कलेजको आफ्नो टोलीमा आबद्ध गराए । खेलहरूमा समयमै पु¥याउन हकाडे आफैँ बिहान ५ बजे गाडी चलाएर सेमेन्योलाई लिन जान्थे । बिस्तारै हकाडेको निरन्तरको ढाडस र मार्गदर्शनले सेमेन्योमा हराएको आत्मविश्वास र भोक पुनः जागृत भयो ।
सन् २०१८ मा ब्रिस्टल सिटीसँग पहिलो व्यवसायिक सम्झौता गरेपछि परिपक्वताका लागि उनलाई बाथ सिटी, न्युपोर्ट काउन्टी र सन्डरल्यान्ड जस्ता तल्लो डिभिजनका क्लबहरूमा लोनमा पठाइयो । सुरुवाती दिनमा केही रातो कार्ड र कमजोर प्रदर्शनका कारण सोचेजस्तो सफलता नमिले पनि नाइजेल पियर्सन र अनुभवी खेलाडी नाकी वेल्सको सङ्गतले उनको खेलमा निकै निखार ल्यायो । सन् २०२१ देखि २०२३ को सिजनसम्म आइपुग्दा उनले उत्कृष्ट गोल र असिस्टहरू गरेपछि प्रिमियर लिगका क्लबहरूको नजर उनीमाथि प¥यो ।
अन्ततः, जनवरी २०२३ मा १० मिलियन पाउन्डमा बर्नमाउथ पुगेका सेमेन्यो त्यहाँका मुख्य स्टार बने । म्यानेजर एन्दोनी इराओलाको रणनीतिमा पूर्ण रूपमा फिट भएका उनले ११० खेलमा ३२ गोल र १३ असिस्ट गरे । सन् २०२५–२६ को सिजनको आधाआधीमै १० गोल गरेपछि विश्वकै चर्चित म्यानेजर पेप ग्वार्डिओलाको नजर उनीमाथि प¥यो । नतिजास्वरूप, जनवरी २०२६ मा उनी ६५ मिलियन पाउन्डको भारी रकममा म्यानचेस्टर सिटीमा अनुबन्धित भए, जुन उनको खेल जीवनको सबैभन्दा ठूलो फड्को थियो ।
सिटीका लागि ११ गोल र ३ असिस्ट गर्दै उनले चेल्सीविरुद्धको एफए कप फाइनलमा निर्णायक गोल गरेर टोलीलाई च्याम्पियन समेत बनाए । प्रिमियर लिगको सफल सिजन सकाएर अहिले उनी घानाका तर्फबाट विश्वकपको मैदानमा उत्रिएका छन् । यति ठूलो सफलता र उचाइ हासिल गरिसक्दा पनि सेमेन्योमा उही पुरानो शालीनता र नम्रता कायमै छ, जसले गर्दा उनलाई पहिचान गर्ने हकाडे आज गर्वका साथ आफ्नो गुरुमन्त्र सम्झिन्छन्, “अरूलाई गलत होइन, आफूलाई र मलाई सही साबित गरेर देखाइदेऊ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्