नेभिगेशन
विश्व

भेनेजुएला भूकम्पः १६४ जनाको मृत्यु, हजारौं प्रभावित

ला गुएरा (भेनेजुएला)– शक्तिशाली दुई भूकम्पले भेनेजुएलामा जनधनको ठूलो क्षति भएको छ । घटनामा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने करिब एक हजार जना घाइते भएका छन् । बुधबार साँझ गएको ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पले राजधानी काराकाससहित उत्तरी क्षेत्रका धेरै संरचनामा ठूलो क्षति पु¥याएको छ ।
सरकारी अधिकारीहरूका अनुसार भूकम्पपछि धेरै मानिस भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
भूकम्पपछि बिहीबार बिहानदेखि स्थानीय बासिन्दा आफैं हराइरहेका आफन्तको खोजीमा जुटेका थिए । उद्धारकर्मी र सर्वसाधारणले भत्किएका भवनका भग्नावशेषमा रातभर खोजी गरेका छन् । कतिपय स्थानमा अँध्यारोमै मानिसहरू भग्नावशेषमाथि चढेर बाँचेकाहरुको खोजी गरिरहेको देखिन्थे । 
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको जानकारी दिएकी छन् । उनका अनुसार राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित छ । उक्त क्षेत्रलाई सरकारले विपद् प्रभावित घोषणा गरेको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प बुधबार साँझ १० बजेर ४ मिनेटमा मोरोन तटीय शहरबाट करिब २१ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर गएको थियो । त्यसको करिब एक मिनेटपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । दोस्रो भूकम्पको केन्द्रविन्दु पनि मोरोन क्षेत्र आसपास रहेको बताइएको छ ।
यी धक्काहरू सन् १९०० यताकै भेनेजुएलाका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये रहेको भूगर्भ अधिकारीहरूले बताएका छन् । यसअघि सन् १९०० अक्टोबर २९ मा समुद्री क्षेत्रमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि यति शक्तिशाली भूकम्प भेनेजुएलाले सामना गरेको थिएन ।
ला गुएराको काटिया ला मार क्षेत्रमा धेरै भवन भत्किएका छन् । त्यहाँका स्थानीयले आफन्त खोज्न भग्नावशेष खोतलिरहेका छन् । ४९ वर्षीय ल्यारी रोहासले आफ्नो परिवार पुरिएको भवनअगाडि उभिँदै आफूहरूसँग अब केही बाँकी नरहेको बताएका छन् । लगातार पराकम्प गइरहेकाले उद्धारमा जानसमेत डर लागिरहेको उनले बताएका छन् ।
भूकम्पले आवासीय भवनमा ठूलो क्षति पु¥याएको छ । कतिपय भवनमा चिरा परेको छ भने केही पूर्ण रूपमा ढलेका छन् । एकाएक जमिनमा ठूलो कम्पनसँगै राजधानी काराकासमा पनि मानिसहरू डरले सडकमा निस्किएका थिए । धेरैले रात खुला स्थान, पार्क र सडकमा बिताएका थिए ।
काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेपछि सेवा प्रभावित भएको छ । सामाजिक सञ्जालमा विमानस्थलका संरचनामा क्षति पुगेका तस्बिरहरू सार्वजनिक भएका छन् । राजधानीका केही क्षेत्रमा विद्युत र सञ्चार सेवा अवरुद्ध भएको छ भने मेट्रो सेवा पनि केही समयका लागि रोकिएको थियो ।
गृहमन्त्री डियोस्डाडो काबेल्लोले थप क्षति रोक्न केही क्षेत्रमा ग्यास आपूर्ति बन्द गरिएको जानकारी दिएका छन् । पराकम्पको जोखिम रहेकाले क्षतिग्रस्त भवनमा नफर्कन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । 
उद्धारमा उपकरण र जनशक्तिको अभाव देखिएको छ । स्थानीयबासी आफैं भग्नावशेष हटाएर उद्धार प्रयास गरिरहेका छन् । कतिपय स्थानमा भारी उपकरण पुग्न ढिलाइ हुँदा उद्धार प्रभावित भएको छ ।
ला गुएरामा उद्धारकर्मीले भग्नावशेषबाट केही बालबालिकालाई जीवितै उद्धार गरेका छन् । तर धेरै मानिस अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन् । परिवारहरूले बेपत्ता आफन्तका तस्बिरसहित खोजी अभियान चलाइरहेका छन् ।

भूकम्पपछि विभिन्न देशले भेनेजुएलालाई सहयोगको प्रस्ताव गरेका छन् । फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने घोषणा गरेको छ भने स्पेनले ५४ जना सैनिक उद्धार टोली पठाउने जनाएको छ । चीन, भारत, ब्राजिल र अमेरिकाले पनि सहयोग गर्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता तत्काल पठाउने तयारी गरिएको बताएका छन् ।
भूकम्पको प्रभाव छिमेकी देशसम्म महसुस गरिएको थियो। कोलम्बियाको राजधानी बोगोटामा समेत कम्पन महसुस भएपछि केही मानिस भवनबाट बाहिर निस्किएका थिए । ब्राजिलको अमेजन क्षेत्रसम्म पनि यसको प्रभाव परेको बताइएको छ ।
भेनेजुएला भूकम्पीय जोखिममा रहेको देश भए पनि अन्य ल्याटिन अमेरिकी मुलुकको तुलनामा यहाँ ठूला भूकम्प कम जाने गर्छन् । सन् १९९७ मा उत्तर–पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए ।
यसपटकको भूकम्पले भेनेजुएलामा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । उद्धार तथा खोजी कार्य अझै जारी रहेकाले वास्तविक क्षतिको विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन् । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्