नेभिगेशन
नेपाल

‘जायज माग संविधानभित्रै सम्भव’

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेनजीको आन्दोलनका मागलाई संविधानभित्रैबाट सम्बोधन गर्न सकिने बताएका छन् । आन्दोलनमाथि भएको बर्बर दमन र त्यसपश्चात देशमा उत्पन्न असामान्य परिस्थिति गम्भीर मोडमा पुगेको उनले बताएका छन् । 

बिहीबार जारी विज्ञप्तिमा उनले सरकारद्वारा गरिएको अत्यधिक बल प्रयोगले ३० जनाभन्दा बढीले ज्यान गुमाउनु परेको र सयौं घाइते भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनेर माग गर्दै प्रधानमन्त्रीको राजीनामा, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन र दोषीलाई कारबाही गर्नुपर्ने माग दोहोर्‍याएका छन् । 

नेपालले भनेका छन्, ‘जेनजी पुस्ताले लोकतन्त्र अन्त्य गर्ने होइन, अझ जनपक्षीय बनाउन माग राखेका छन् तर घुसपैठीयाले आन्दोलनलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र गरेका छन् ।’ आन्दोलनमा घुसेका तत्वहरूले सिंहदरबार, संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका ऐतिहासिक संरचना, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा गरेको आगजनी, तोडफोड र लुटपाटलाई ‘निकृष्ट कुकृत्य’ भन्दै उनले निन्दा गरेका छन् । 

समाजवादी अध्यक्ष नेपालले जेन– जीको आन्दोलनका मागलाई संविधान र संसदभित्रै सम्बोधन गर्न सकिने बताउँदै भ्रष्टाचारविरुद्ध आयोग गठन, युवालाई रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधार र संविधान संशोधनसहितको मार्गचित्र तयार गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्