नेभिगेशन
नेपाल

शान्ति र संयमका लागि राष्ट्रपतिको अपील

काठमाडौं, २५ भदौ - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न असामान्य परिस्थितिमा संविधानको दायरामै रही समस्या समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन् । बिहीबार जारी विज्ञप्तिमा उनले आन्दोलनकारी नागरिकहरूको जायज माग सम्बोधन गर्न छिटो भन्दा छिटो कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै संयमता अपनाएर शान्ति सुव्यवस्था कायम गर्न सबैलाई अपिल गरेका छन् ।

राष्ट्रपतिले भनेका छन्, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म विचार विमर्श र प्रयास गर्दैछु।’ 

सामाजिक सञ्जाल बन्दको विरोध, भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी पुस्ताले गरेको प्रदर्शनमाथि भएको बर्बर दमनपछि ३० जनाभन्दा बढीको ज्यान गएको र सयौं घाइते भएको भोलिपल्ट ध्वंसात्मक विद्रोह भएको थियो । प्रधानमन्त्रीले राजीनामा दिएको र सिंहदरबारसहित प्रमुख सरकारी संरचना ध्वस्त पारिएपछि मुलुक सरकारविहीन अवस्थामा छ ।

आन्दोलनकारीले अन्तरिम सरकार गठनको माग अघि बढाएका छन् । यही पृष्ठभूमिमा राष्ट्रपति पौडेलले विज्ञप्ति सार्वजनिक गरेका हुन् । उनले नागरिकको असन्तोष शान्तिपूर्ण ढंगले सम्बोधन नगरे गम्भीर संकट थप गहिरिन सक्ने चेतावनीसहित सबै पक्षलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

राष्ट्रपतिले मुलुकको लोकतान्त्रिक मूल्य र संविधानको संरक्षणलाई साझा जिम्मेवारी ठहर गर्दै ‘शान्ति र स्थायित्वका लागि सबैले संयमता र सहकार्य देखाउन जरुरी छ’ भन्दै संकट समाधानका लागि छलफल र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्