नेभिगेशन
नेपाल

संविधानभित्रै निकास, नेतृत्वमा युवाको ‘वाच डग’ भूमिका

काठमाडौं, २६ भदौ - जेनजी पुस्ताको आन्दोलनपछि मुलुकमा सरकारविहीनताको अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठनको बहस तीव्र छ । तर, निष्कर्ष आएको छैन । यसबीच जेनजी प्रतिनिधिहरूले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । 

रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित छलफलमा जेनजी प्रतिनिधिहरूले मुलुकलाई संवैधानिक बाटोमै निकास दिनुपर्ने धारणा राखे । प्रतिनिधि दिवाकर दंगालले राष्ट्रिय एकता, सार्वभौमसत्ता र आर्थिक समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए । उनले सुरक्षा निकायको समन्वयमा टोल–टोलमा शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरे । जुनाल गदालले जेनजी अब संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिदै भने, ‘हामी आक्रोशमा तोडफोडमा उत्रिएका थियौं, तर अब एकता कायम गर्न नसके पुराना दललाई फाइदा हुनेछ ।’

अनिल बानियाँले आन्दोलनलाई शान्तिपूर्ण बनाउने प्रयास गरेको दोहोर्‍याउँदै तोडफोड र आगजनीलाई बाह्य घुसपैठको परिणाम भएको दाबी गरे । ओजस्वीराज थापाले जेनजी तत्काल नेतृत्वमा जानु उचित नहुने भन्दै ‘हामी वाच डगको भूमिकामा मात्र रहन्छौं’ भनेका छन् । संविधान खारेज नभई संशोधनमार्फत सुधार गर्ने धारणा पनि उनले राखे । सुदीप सेठले संविधानअनुसारै अघि बढ्ने बताउँदै सुशीला कार्कीप्रति जेनजीको समर्थन रहेको प्रष्ट पारे ।

अभियन्ता पुरुषोतम यादवले संसद् विघटन र अन्तरिम सरकार गठनमा आफ्नो आन्दोलन केन्द्रित रहेको बताए । प्रेरणा अधिकारीले सबै प्रक्रियामा पारदर्शिता र सेनासँग लाइभ वार्ता गर्नुपर्ने प्रस्ताव राखिन् भने अर्जुनविक्रम शाहीले ‘पुराना पुस्ताबाट परिवर्तन सम्भव नभएकाले युवाहरू नै विकल्प’ भएको दाबी गरे ।

यसैबीच, हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेनजी आन्दोलनका शहीदहरूको रगतको बदला लिने चेतावनी दिदै आन्दोलनलाई सबैले समर्थन गर्नुपर्ने अपिल गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्