वासिङ्टन, (एजेन्सी) । इरानले होर्मुज जलडमरूमध्यमा एउटा मालवाहक जहाजमाथि आक्रमण गरेको एक दिनपछि अमेरिकाले शुक्रबार इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई हमला गरेको छ । यस घटनाले दुई देशबीच हालै भएको नाजुक युद्धविराम सम्झौता भंग हुने संकेत देखिएको छ ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन २५ मा इरानले सिंगापुरको झण्डा बोकेको मालवाहक जहाज ‘एम÷भी एभर लभ्ली’ माथि एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरेपछि अमेरिकी विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण स्थल तथा तटीय राडार केन्द्रहरूमा आक्रमण गरेका हुन् । उक्त जहाज ओमानको तट हुँदै होर्मुज जलडमरूमध्यबाट बाहिरिँदै थियो ।’
एक वरिष्ठ अमेरिकी अधिकारीले युद्धविराम अझै कायम रहेको दाबी गर्दै शुक्रबारको अमेरिकी आक्रमण जहाजमाथिको हमलाको प्रतिशोधस्वरूप मात्रै गरिएको बताए ।
तेहरानको सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्यतर्फ फर्किएको सिरिक बन्दरगाहस्थित दूरसञ्चार टावरमा प्रक्षेप्य प्रहार भएको छ । सिरिकमा इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को नौसैनिक अड्डा रहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार बिहीबार कन्टेनर जहाजमाथि आक्रमण पनि यही अर्धसैनिक बलले गरेको थियो ।
त्यसपछि आईआरजीसीले अमेरिकालाई कडा चेतावनी दिएको छ । उसले विज्ञप्तिमार्फत भनेको छ, ‘अब हुने कुनै पनि नयाँ मूर्खतापूर्ण कदमको यस्तो कडा जवाफ दिइनेछ, जसले आक्रमणकारीहरूको भ्रम पूर्ण रूपमा चकनाचुर पार्नेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मालवाहक जहाजमाथिको आक्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका थिए, ‘मलाई उनीहरूले गोली चलाएको कुरा मन परेको छैन ।’
ट्रम्पले यसअघि नै इरानले गत साता भएको ६० दिने युद्धविराम सम्झौताको उल्लंघन गरे युद्ध पुनः सुरु गर्ने चेतावनी दिएका थिए । उक्त सम्झौतामा होर्मुज जलडमरूमध्यबाट निर्बाध व्यापार सञ्चालन गर्ने व्यवस्था पनि समावेश थियो ।
यसअघि पनि युद्धविरामका क्रममा अमेरिका र इरानबीच छिटपुट प्रतिशोधात्मक कारबाही भएका थिए । तर त्यसले दुवै पक्षबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रयासलाई अवरुद्ध गरेको थिएन । सो समझदारीपछि जलडमरूमध्य पुनः सञ्चालनमा आएको थियो भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पनि हटाएको थियो ।
यद्यपि राजनीतिक मतभेद अझै कायम छन् । इरानले जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाजबाट राजस्व संकलन गर्न पाउने व्यवस्था अन्तिम सम्झौतामा समावेश हुनुपर्ने अडान राखेको छ । साथै, उसले आफ्नो आणविक कार्यक्रम त्याग्न नसक्ने स्पष्ट पारेको छ, जबकि यही कार्यक्रम अन्त्य गर्नु ट्रम्प प्रशासनको मुख्य उद्देश्य हो ।
शुक्रबार ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले अघिल्लो दिन जलडमरूमध्य हुँदै गइरहेका जहाजहरूलाई लक्षित गरी कम्तीमा चारवटा आत्मघाती ड्रोन प्रहार गरेको दाबी गरे । उनका अनुसार अमेरिकाले तीमध्ये तीनवटा ड्रोन खसालेको थियो भने एउटा व्यावसायिक मालवाहक जहाजमा ठोक्किएको थियो ।
ट्रम्पले लेखेका छन्, ‘यो स्पष्टरूपमा हाम्रो युद्धविराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन हो ।’
जहाजमाथिको आक्रमण र जलडमरूमध्यको भविष्यलाई लिएर देखिएको विवादले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ जारी वार्तालाई थप जटिल बनाउन सक्ने विश्लेषण गरिएको छ ।
‘एभर लभ्ली’ माथिको आक्रमण हुनुअघि अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) ले जहाजहरूलाई ओमानको तटसँगै रहेको दक्षिणी मार्ग प्रयोग गर्न आग्रह गरेको थियो । तर आईआरजीसीले त्यसो नगरी इरानी समुद्री क्षेत्र हुँदै यात्रा नगर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । तथ्यांक प्रदायक कम्पनी क्लरका अनुसार इरानी चेतावनीपछि जलडमरूमध्य प्रवेश गर्न लागेका धेरै तेल ट्यांकरहरू बीचबाटै फर्किएका थिए ।
बेलायतको समुद्री सुरक्षा कम्पनी नेपच्युन पी–टु–पी ग्रुपका गुप्तचर निर्देशक क्रिस लङले, जो जहाज सञ्चालकहरूलाई होर्मुज पार गर्ने विषयमा परामर्श दिन्छन्, जहाजमाथिको आक्रमणपछि जलडमरूमध्य पार गर्ने जहाजहरूको संख्या बढ्ने क्रम रोकिएको बताए ।
क्लरका अनुसार बुधबार ७० वटा जहाजले जलडमरूमध्य पार गरेका थिए भने बिहीबार त्यो संख्या घटेर ५४ मा पुगेको थियो । शुक्रबार मध्यान्हसम्म जम्मा १४ वटा जहाज मात्रै उक्त मार्ग हुँदै गुज्रिएका थिए ।
आईएमओका अनुसार शुक्रबार बिहान १५ वटा जहाजले जलडमरूमध्य पार गरेका थिए, जसमध्ये ११ वटाले अमेरिका र ओमानको सहयोगमा सञ्चालन गरिएको दक्षिणी सुरक्षित मार्ग प्रयोग गरेका थिए ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको आईएमओले जहाजमाथिको आक्रमणबारे अनुसन्धान जारी राखेको छ । साथै, फारसी खाडीमा रोकिएका जहाजहरूको उद्धार तथा बाहिर निकाल्ने प्रक्रिया पनि अस्थायी रूपमा स्थगित गरेको छ ।
शुक्रबार इरानले पुनः सबै जहाजलाई जलडमरूमध्य पार गर्नुअघि तेहरानलाई जानकारी गराउनुपर्ने दोहोर्यायो । कानुनी मामिलासम्बन्धी इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले भने, ‘विश्वसनीय व्यवस्था इरानसँगको समन्वयमा आधारित हुनुपर्छ । अन्यथा तोकिएको वैकल्पिक मार्ग स्थगित हुनेछ ।’
अमेरिकाले भने अन्तिम सम्झौताले होर्मुज जलडमरूमध्यबाट निर्बाध अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्नुपर्ने अडान राखेको छ ।
द वाल स्ट्रिट जर्नलले प्राप्त गरेको जहाज सञ्चालक र समुद्री सुरक्षा कम्पनीबीचको रेडियो संवादअनुसार आईआरजीसीले इरानले तोकेको मार्ग प्रयोग नगर्ने जहाजमाथि आक्रमण गर्ने धम्की दिएको छ । उक्त मार्ग लाराक टापुको उत्तर हुँदै इरानी तटसँगै गुज्रिन्छ ।
‘एभर लभ्ली’ माथिको आक्रमणले फारसी खाडीमा रोकिएका जहाजधनीहरूको विश्वासमा ठूलो धक्का पुगेको छ । समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेककी गुप्तचर निर्देशक एली शफिकका अनुसार ठूला अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूले अहिले होर्मुज जलडमरूमध्यमा आफ्ना गतिविधि उल्लेखनीय रूपमा सुस्त बनाएका छन् ।