नेभिगेशन
राजनीति
कांग्रेसमा संवादहीनता

संस्थापनमा देखियो पेलेरै जाने मुड

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला संस्थापन पक्ष र संस्थापनइतर समूहबीच संवादहीनताको अवस्था देखिएको छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षीय इतर पक्ष र संस्थापन पक्षबीच संवादहीनताको अवस्था छ । संस्थापन पक्ष इतर पक्षको मागमा पेलेरै जाने मुडमा देखिएपछि पार्टीभित्रको दूरी झन् बढेको हो ।
क्रियाशील सदस्यता अद्यावधिकको विषयमा संस्थापन पक्ष लचक हुने इतर पक्षको अनुमान रहे पनि सभापति गगन थापा थप कडा देखिएका छन् । यसैबीच, पार्टीको सांगठनिक सुदृढीकरण र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर सभापति थापाले कडा अडान सार्वजनिक गरेका छन् । विधान कार्यान्वयन र डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै उनले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कसैलाई पनि पार्टीले नचिन्ने बताएका छन् । पार्टीभित्र बढ्दो संवादहीनता र सभापति थापाको चेतावनीपछि कांग्रेसभित्र इतर पक्ष थप बिच्किएको छ । 
‘हामी पार्टीलाई विधि, थिति र आधुनिक प्रणालीमा लैजान खोज्दैछौं । अब पुरानो ढर्राबाट कांग्रेस चल्न सक्दैन । जसले समयमै आफ्नो क्रियाशील सदस्यता अद्यावधिक र नवीकरण गर्दैन, उनीहरू कांग्रेसका सदस्य रहँदैनन् । डिजिटल प्रणालीमा जसको नाम र विवरण अपडेट हुँदैन, उनीहरू पार्टीका को हुन्? भोलि केन्द्रीय कार्यालयले चिन्दैन, चिन्न पनि सक्दैन । नियम सबैका लागि बराबर हो, चाहे त्यो केन्द्रको नेता होस् या गाउँको कार्यकर्ता,’ सभापति थापाले झापामा आयोजित कार्यक्रममा भने । पार्टीको वैधानिक व्यवस्था र कार्यतालिका उल्लंघन गर्ने छुट कसैलाई नभएको भन्दै उनले गुटको छहारी ओढेर नियम मिच्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् ।
इतर पक्षका नेताहरू संस्थापन पक्षको क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयमा सुरुदेखि नै असहमत छन् । उनीहरूले यसअघि गरिएको क्रियाशील नवीकरणलाई नै मान्यता दिनुपर्ने बताएका छन् । ‘१५ आंै महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहँुमा कसैलाई १५ औं महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न, गराउन सक्तैन,’ पूर्वउपसभापति पूर्णबहादुर खड्का भन्छन् । अहिले इतर पक्षमा पूर्वसभापति देउवाकोतर्फबाट खड्का र नेता शेखर कोइराला समूह संस्थापनविरुद्ध एक ठाउँमा आइपुगेका छन् । उनीहरूले इतर पक्ष एक ठाउँमा रहेको सन्देश दिन केही दिन अघि कोशी प्रदेशमा अलग्गै भेलासमेत आयोजना गरेका थिए । 

सभापति थापाले एकलौटी ढंगले निर्णयहरू प्रक्रियामा लैजान खोजेको र यो पार्टीभित्र एकता कायम गर्नेतर्फ केन्द्रीत नरहेको उनीहरूको बुझाइ छ । ‘पार्टीमा बृहत्तर सहमति र संवादको संस्कृति सकिएको छ । संस्थापनपक्ष एकलौटी अघि बढ्न खोजिरहेको छ ,’ इतर समूहका नेता श्याम घिमिरेले भने, ‘संस्थापन पक्षले परामर्श गर्नु त परको कुरा, पार्टीभित्र ठूलो पंक्तिलाई नजरअन्दाज गर्दैै न्यूनतम राजनीतिक शिष्टाचार र संवादसमेत गरेको छैन ।’ 
कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच पछिल्लो समय कुनै औपचारिक वा अनौपचारिक संवाद हुन सकेको छैन । विशेष महाधिवेशनका निर्णयहरूको कार्यान्वयन, भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन, र आगामी महाधिवेशनको कार्यदिशाका सवालमा संस्थापन पक्ष भटाभट निर्णय गरेर अघि बढेको छ । नेविसंघ, तरुण दल र महिला संघमा सभापति थापाले आफू निकटलाई मनोनीत गरिसकेका छन् । 
संस्थापन पक्ष नपर्खने, अघि बढ्ने मुडमा
विशेष महाधिवेशनबाट आएको वर्तमान केन्द्रीय समितिमा सभापति थापाको बाहुल्यता छ । संस्थापनपक्ष  इतर पक्षको असहमति वा विरोधलाई बेवास्ता गर्दै अघि बढ्ने रणनीतिमा देखिएको छ । भ्रातृ संगठनहरू नेविसंघ, तरुण दल, महिला संघमा एकलौटी निर्णय गरेको संस्थापनपक्षले क्रियाशील अद्यावधिकदेखि केन्द्रीय प्रतिनिधि एकलौटी तोकिरहेको छ । सभापति थापाले १४ओै महाधिवेशनबाट आएको केन्द्रीय समिति अहिलेको समितिमा मर्ज गर्न नसकिने प्रष्ट पारिसकेका छन् । इतर पक्षको मुख्य माग नै यही थियो । त्यस्तै, क्रियाशील अद्यावधिक नमान्ने इतरको अडानमा पनि थापाले प्रष्ट जवाफ दिएर अद्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने बताइसकेका छन् । सभापति थापाको यस्तो अभिव्यक्तिपछि इतर पक्षका नेता कार्यकर्ता आफूहरू कांग्रेस हो की होइन ? भन्ने प्रश्न गरिररहेका छन् । 
इतर पक्षका नेता भूपेन्द्रजंग शाहीले सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताउनु लोकतान्त्रिक पार्टीमा फरक विचारलाई निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका छन् । 
‘गगन थापाजीले झापामा भाषण गर्दै क्रियाशील सदस्यता पहिला नै नवीकरण गरिसकेका तर अहिले पुनः दबाबमा अद्यावधिक नगरेका हजारांै साथीहरू कोही पनि कांग्रेस पार्टीको सदस्य नरहेको घोषणा गर्नुभएछ,’ उनले भने, ‘अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन । त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औं महाधिवेशनमा भाग लिन नपाउने प्रतिबन्ध लगाउनुभएछ ।’ संस्थापन इतर पक्षको मागमा नरम नहुने र इतर पक्ष संस्थापनसँग नझुक्ने अडानमा रहँदा कांग्रेस विभाजनतर्फ उन्मुख हुने सम्भावना बलियो बन्दै गएको छ । इतर पक्षका नेताहरूले अलग पार्टी कार्यालय खोल्दै समानान्तर गतिविधि गर्ने र संस्थापन अहिलेकै अडानमा रहे नयाँ पार्टी बनाउनेगरी समेत काम भइरहेको इतर पक्षका नेताहरू बताउँछन् । देउवा र कोइरालासहित पूर्वउपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालासहितका नेताहरूले पनि सदस्यता अद्यावधिक गरेका छैनन् । झुकेर संस्थापनसँग सहमति नगर्नेमा पुगेका नेताहरू अब अलग्गै महाधिवेशन गर्नेगरी अघि बढेका छन् ।
कांग्रेसका ७ लाख ८२ हजार क्रियाशीलमध्ये ५ लाख ३८ हजारले सदस्यता अद्यावधिक गरेका छन् । सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक नगर्नेले आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन नपाउने बताएका छन् । ‘अद्यावधिक नगरी नेपाली कांग्रेसको सदस्य भएर भूमिका गर्ने स्थिति रहँदैन,’ उनले भने, ‘पार्टीको सदस्यता अद्यावधिक नगराई १५ औं महाधिवेशनमा सहभागी हुन पाइँदैन ।’ महाधिवेशनबाटै बञ्चित गरेर संस्थापन पक्षले आफुहरूलाई जबर्जस्त पार्टी विभाजनतर्फ धकेल्न खोजेको भन्दै इतर पक्षका शीर्ष नेताहरूले आफूलाई भेट्न आउनेहरूलाई नयाँ पार्टीका लागि तयार रहन र तयारी गर्न निर्देशनसमेत दिइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्