नेभिगेशन
विश्व

भेस्पाको ८० वर्ष, रोमका सडकमा देखियो अनौठो मोह

रोम (एपी)– इटालीको राजधानी रोममा शनिबार एउटा अनौठो दृश्य देखियो । १० हजारभन्दा बढी भेस्पा स्कुटर एकैपटक सडकमा निस्किएपछि कोलोसियमदेखि रोमन फोरमसम्मका ऐतिहासिक क्षेत्रहरू त्यसको  आवाजले गुञ्जायमान बने । विश्वप्रसिद्ध दुईपांग्रे ब्रान्ड भेस्पाको ८०औं वार्षिकोत्सव मनाउन विश्वका विभिन्न देशबाट आएका हजारौं प्रशंसक रोममा भेला भएका थिए ।
युरोपका विभिन्न देश, उत्तरी इङ्ल्यान्ड, अमेरिकाको सान फ्रान्सिस्को, अस्ट्रेलियाको गोल्ड कोस्ट र फिलिपिन्स लगायतका स्थानबाट भेस्पा प्रेमीहरू आफ्नो प्रिय स्कुटरसहित रोम पुगेका थिए । एक दिनका लागि भए पनि फेरारी र डुकाटीजस्ता चर्चित इटालियन ब्रान्डको चर्चा ओझेलमा प¥यो र सानो आकारको दुई पांग्रे साधनले रोमका सडकमा धेरैको ध्यान खिच्यो ।
¥यालीका सहभागीमध्येकी फ्रान्सकी वृद्धा नाटाली डुनान्डले भेस्पाप्रतिको आफ्नो आकर्षण इटालियन शैली, स्वतन्त्रता र सन् १९६० को दशकसँग जोडिएको बताइन् । ‘भेस्पाको भावना नै फरक छ, मलाई यो निकै मन पर्छ,’ उनले भनिन् ।
सन् १९५३ मा बनेको चर्चित फिल्म ‘रोमन हलिडे’ मा अभिनेता ग्रेगरी पेकले अभिनेत्री अड्रे हेपबर्नलाई रोम घुमाउन प्रयोग गरेको दृश्यपछि भेस्पा विश्वभर चिनिएको थियो । त्यसपछि यो स्कुटर ‘द ट्यालेन्टेड मिस्टर रिप्ली’ र पछिल्लो समय एनिमेटेड फिल्म ‘लुका’ जस्ता चलचित्रमा पनि देखिएको छ ।
घुमाउरो बनोट, आकर्षक डिजाइन र मानिसको अनुहारमा मुस्कान ल्याउने क्षमताका कारण भेस्पा केवल यातायातको साधन मात्र रहेन, यो जीवनशैलीको प्रतीक बनेको छ । इटालियन भाषामा ‘भेस्पा’ को अर्थ ‘बारुलो’ हुन्छ । दुईपांग्रे सवारीमा यसको स्थान त्यस्तै बनेको छ, जसरी कार क्षेत्रमा फक्सवागन बिटलले बनाएको थियो ।
दोस्रो विश्वयुद्धपछि ध्वस्त बनेको इटाली पुनर्निर्माणको क्रममा भेस्पाको जन्म भएको थियो । विमान निर्माता कम्पनी पियाजियोको कारखाना बम आक्रमणबाट नष्ट भएपछि कम्पनीले नयाँ बाटो खोज्दै स्कुटर उत्पादन सुरु गरेको थियो । सुरुमा महिलालाई लक्षित गरेर यसको डिजाइन गरिएको थियो, किनकि लामो पोसाक लगाएर पनि सजिलै चलाउन सकिन्थ्यो ।
पियाजियोका कार्यकारी उपाध्यक्ष डेभिडे जानोलिनीका अनुसार भेस्पाको डिजाइनमा रहेको सौन्दर्य, सरलता र आकर्षण नै यसको विशेषता हो । उनका अनुसार भेस्पाले इटालीको आर्थिक पुनरुत्थानमा समेत भूमिका खेलेको थियो ।
सन् १९५० को एक समाचारमा रोमका सडकहरू भेस्पाको आवाजले यति भरिन थालेको उल्लेख गरिएको थियो कि शहरको वातावरण ‘इन्डी ५०० दौड’ जस्तै सुनिन थालेको थियो । त्यसबेला भेस्पाले रोम आउने विदेशी पर्यटकलाई सडक पार गर्दा चारैतिर हेर्न सिकाएको टिप्पणी गरिएको थियो ।
यसपटकको उत्सवका क्रममा पनि रोमका सडकमा विगतको झल्को देखियो । विभिन्न समूहमा आएका भेस्पा चालकहरूले एउटै किसिमका टी–सर्ट लगाएका थिए । कतिपय स्कुटरमा फूल, खेलौना र सजावट राखिएका थिए । जापानबाट आएका एक चालकले आफ्नी ८ वर्षीया छोरीलाई पछाडि राखेर यात्रा गरेका थिए भने केहीले देशका झण्डा र स्टिकर आदानप्रदान गरेका थिए ।
जर्मनीका एक भेस्पाप्रेमीले आफ्नो खुट्टामा भेस्पाको लोगो ट्याटु बनाएका थिए । त्यससँगै ‘ला डोल्चे भिटा’ अर्थात् ‘मिठो जीवन’ लेखिएको थियो ।
धेरै प्रयोगकर्ताले ठूला मोटरसाइकल छाडेर भेस्पा स्कूटर रोजेको बताएका छन् । हल्का, स्वचालित र सजिलो सञ्चालनका कारण यसले फरक पुस्ताका मानिसलाई आकर्षित गरेको छ । इङ्ल्यान्डका ५९ वर्षीय ट्रकचालक एन्ड्रयु वाल्टनले करिब २० वर्षअघि पहिलो भेस्पा किनेपछि त्यसप्रतिको मोह कहिल्यै नघटेको बताए ।
उत्सवस्थलमा भेस्पाका विभिन्न सामग्री बिक्रीका लागि राखिएका थिए । ज्याकेट, टोपी, कम्बल, पानीका बोतल र छातासम्मका सामग्रीमा प्रशंसकको भीड लागेको थियो । सबैभन्दा बढी आकर्षण भने सीमित संस्करणको ‘८० वर्षको प्रतीक’ लेखिएको हेल्मेटमा देखिएको थियो ।
पियाजियोको तथ्यांकअनुसार सन् १९४६ देखि हालसम्म विश्वभर करिब २ करोड भेस्पा बिक्री भइसकेका छन् । अहिले यो ब्रान्ड ११० भन्दा बढी देशमा उपलब्ध छ ।
अमेरिकामा फ्लोरिडा र क्यालिफोर्नियामा भेस्पाको लोकप्रियता बढी छ भने अन्य शहरमा पनि यसको आकर्षण बढ्दै गएको छ । अमेरिकाका व्यवसायी बुर्क स्यान्डम्यानले दुई दशकअघि पहिलो भेस्पा किनेपछि यसको व्यापारमा प्रवेश गरेको बताए । ‘भेस्पाबारे कसैले नराम्रो कुरा गर्दैन । अरू ब्रान्ड छाडेर भेस्पा रोज्नेहरू फेरि फर्किँदैनन्,’ उनले भने ।
८० वर्षपछि पनि भेस्पा केवल स्कुटर रहेन, यो पुरानो सम्झना, स्वतन्त्रता र इटालियन जीवनशैलीको चलायमान प्रतीक बनेर संसारभर दौडिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्