नेभिगेशन
विश्व

भूकम्पमा पुरिएकाहरूको खोजी अझै जारी

कराकास, (एजेन्सी)  । गत हप्ता भेनेजुएलाको बन्दरगाह सहर ला गुइरामा रहेको जेराल्डिन पाडिलाको अपार्टमेन्ट परिचित र आरामदायी ठाउँबाट अचानक विनाशको रूपमा परिणत हुन मात्र ३९ सेकेन्ड लाग्यो ।
बाहिर, मार दे लेभा भवनको एउटा सानो प्रवेशद्वार मात्र बाँकी छ । उनी गत बुधबार दिउँसो ९ तले भवनबाट केही समयका लागि बाहिर निस्किएकी थिइन् । उनको परिवार भने भित्रै थियो । स्थानीय समय अनुसार बेलुका ६ः०४ बजे पहिलो भूकम्प जाँदा, परिवारका तीन पुस्ता भित्रै परेका थिए ।
सयौं टन ओजनका कङ्क्रिटका भग्नावशेषतर्फ औंल्याउँदै उनले भनिन्, ‘मेरा छोरा, श्रीमान् र आमा त्यहाँभित्र हुनुहुन्छ... अनि मेरो सानो कुकुर पनि ।’ आफ्ना प्रियजनहरूको नाम पुकार्दै दुई दिनदेखि यताउता भौंतारिएका कारण उनको स्वर सुकिसकेको थियो ।
शुक्रबार राति, यी ४८ वर्षकी महिला आशाको एउटा सानो किरणमा टिकेकी थिइन् । उनले भनिन्, ‘हामीले डेढ दिनसम्म केही सुनेनौं, तर हिजो राति कसैले मेरो श्रीमान्ले मद्दतको लागि रोइकराई गरिरहेको सुनेको भन्दै फोन गर्यो । उनले आफ्नो पूरा नाम भनिरहेका थिए, त्यसैले उनी नै हुन् भन्ने थाहा भयो ।’
राजनीतिक र सामाजिक उतारचढाव भोग्दै आएको भेनेजुएलामा गत हप्ता गएको दुर्लभ जुम्ल्याहा भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र ला गुइरा नै हो । ला गुइराको ठीक पछाडि रहेको हरियो पहाडबाट करिब ३० मिनेटको गाडीको दूरीमा रहेको राजधानी काराकासमा केही निश्चित भवनहरू भत्किएका छन्, तर यहाँ भने सिंगो सडक नै सखाप भएको छ ।
भग्नावशेषका तस्बिरहरूमा भवनका सिंगो ब्लकहरू भुइँमा थेच्चिएका देखिन्छन् भने केही भवनहरू क्षति पुगे पनि अझै उभिएकै छन् । ला गुइरामा यति ठूलो विनाश हुनुको एउटा कारण यस क्षेत्रको तटीय क्षेत्रको कमलो माटोले भूकम्पीय तरंगलाई प्राकृतिक रूपमै बढाउनु हो । अर्को कारण भनेको केही भवनहरूको जग कमजोर हुनु पनि हो ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले हिजो सरकारी टेलिभिजनमा बोल्दै १४,००० भन्दा बढी सेना र प्रहरीले ला गुइरामा गस्ती गरिरहेको बताइन् । अहिले त्यहाँ जाने बाटो बन्द गरिएको छ र प्रवेशका लागि अनुमति आवश्यक पर्छ । भूकम्पका कारण भेनेजुएलाभर कम्तीमा १,४३० जनाको मृत्यु भएको छ, ३,३२८ जना घाइते भएका छन् र दशौं हजार अझै बेपत्ता छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
ला गुइराको यो विनाश—जसले कुनै युद्धभूमिको झझल्को दिन्छ— यो सहरको वास्तविक पहिचान भन्दा निकै फरक देखिन्छ । सोही नामको तटीय राज्यको राजधानी समेत रहेको यो सहरले पहिले पनि विपत्ति बेहोरिसकेको छ—सन् १९९९ मा यहाँ गएको पहिरोमा परी दशौं हजार मानिसले ज्यान गुमाएका थिए । तर हालैका वर्षहरूमा यसलाई सस्तोमा हप्तान्त बिताउने पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गरिएको थियो । यहाँ एउटा सानो मनोरञ्जन पार्क, हिँड्ने बाटो र समुद्रतर्फ बनाइएको बेसबल मैदान थियो । अहिले भने यहाँ जताततै गुमाउनुको पीडा मात्र छ । मार दे लेभा भवनबाट अलि पर सडकको छेउमा अर्को एउटा अपार्टमेन्ट भवन पनि भत्किएर थुप्रिएको छ । त्यसको बाहिर उभिएकी चारितो तिरादोले भनिन्, ‘मेरी ७५ वर्षकी ठूलीआमा भित्र हुनुहुन्छ ।’
हालैका दिनहरूमा यो क्षेत्र ‘एयरबीएन्बी’ भाडाका लागि लोकप्रिय भएकाले उक्त भवनमा बेपत्ता भएका अन्य धेरैजसो मानिसहरू विदेशी हुन सक्ने उनले अनुमान गरिन् । उनले थपिन्, ‘स्पेनबाट धेरै मानिसहरू यहाँ बस्न आउँथे । मैले सुने अनुसार अझै धेरै पर्यटकहरू भित्रै छन्... हिजो राति उनीहरूले एकजना मानिसलाई जीवितै फेला पारेका थिए ।’ भूकम्प गएदेखिका दिनहरूमा उनीहरूलाई आफ्नै भरमा छोडिएको पाडिला र तिरादो दुवैले बताए । उनीहरू बिना कुनै उपकरण, सामान्य मानिसकै भरमा आफ्ना बेपत्ता परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् । स्थानीय उद्धार निकाय, प्रहरी र नागरिक स्वयंसेवकहरूले सयौँ मानिसहरूको उद्धार त गरेका छन्, तर उनीहरूको संख्या आवश्यकताको तुलनामा निकै कम छ ।
निराशाका बीच केही आशाको किरण पनि देखिएको छ, किनभने ठूलो संख्यामा अन्तर्राष्ट्रिय उद्धार र राहत टोली परिचालन हुन थालेको छ । जीवितै फेला पार्ने समय घट्दै जाँदा हिजो उद्धार कार्य तीव्र पारिएको थियो । सहायता एजेन्सीहरूले मानिसहरूलाई जीवितै उद्धार गर्न पहिलो ४८ देखि ७२ घण्टाको समयलाई निकै महत्त्वपूर्ण मान्छन् । विश्वमै भूकम्पको अत्यधिक जोखिममा रहेको देशमध्ये एक, एल साल्भाडोरबाट ३०० उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली शुक्रबार सबैभन्दा पहिले आइपुगेको थियो ।
हिजो बिहान सबेरै यस टोलीले बुधबारदेखि भत्किएको भवनको नवौं तलामा आफ्नो कुकुरसँगै थुनिएकी १५ वर्षीया क्यामिला मेडिना रिभासलाई जीवितै उद्धार गर्न सफल भयो । उनीसम्म पुग्न उद्धारकर्मीहरूले कङ्क्रिटका धेरै पर्खालहरू फुटाउनुपरेको थियो । साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेखे, ‘हामीलाई यसरी प्रयोग गर्नुभएकोमा भगवान्लाई धन्यवाद ।’
कतारदेखि डोमिनिकन रिपब्लिकसम्मका अन्य १५ देशका साथै स्विट्जरल्याण्डबाट पनि विशेषज्ञहरू आउँदैछन् । मेक्सिकोको प्रख्यात ‘टोपोस एस्टेकास’ उद्धार समूहका ४०० जना सदस्यहरू पहिले नै घटनास्थलमा खटिसकेका छन् । बेलायतले ६८ जना विशेषज्ञ, ६ वटा खोजी तथा उद्धार कुकुर र चिकित्सा सहायता सहितको ‘आरएएफ’  यातायात विमान पठाएको छ । बेलायतको नेशनल फायर चिफ काउन्सिलका अनुसार ‘मर्सीसाइड’ का अधिकारीहरूको नेतृत्वमा १४ वटा दमकल सेवाका अग्निनियन्त्रकहरू पठाइएको छ । यो टोली निकै अनुभवी छ र यसअघि टर्की र मोरक्कोको भूकम्पमा पनि काम गरिसकेको छ ।
यद्यपि, सबैभन्दा ठूलो सहयोग भने संयुक्त राज्य अमेरिकाले गर्ने देखिएको छ । अमेरिकी नौसेनाका दुईवटा युद्धपोतहरू ‘यूएसएस फोर्ट लाउडरडेल’ र ‘यूएसएस बिलिङ्स’ उद्धार कार्यको नेतृत्व गर्न शुक्रबार भेनेजुएलाको समुद्री क्षेत्र नजिक आइपुगेका छन् । अमेरिकी वायुसेनाको सी–१७ (ऋ–१७) विमानमार्फत कुकुर र ठूला प्राविधिक उपकरणसहितका खोजी तथा उद्धार टोलीहरू देशमा आइपुगेका छन् ।
यो सैन्य र उद्धार टोलीको आगमन अमेरिका र भेनेजुएलाबीचको पूर्ण रूपमा बदलिएको सम्बन्धको पृष्ठभूमिमा भएको हो । गत जनवरी ३ मा अमेरिकी ‘डेल्टाश फोर्स’ का कमाण्डोहरूले काराकासमा अचानक छापा मारी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिला फ्लोरेसलाई पक्राउ गरेका थिए । उनीहरू दुवैजना अहिले न्यूयोर्कको जेलमा छन् र लागुऔषध तस्करीको आरोप खेपिरहेका छन् ।
अन्तरिम राष्ट्रपतिका लागि यो विपत्ति एउटा स्पष्ट अवसर र उत्तिकै जोखिम पनि हो । अमेरिकामा आधारित संस्था ‘आम्र्ड कन्फ्लिक्ट लोकेशन एण्ड इभेन्ट डाटा’ का ल्याटिन अमेरिका विश्लेषक टिजियानो ब्रेडाले वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘उनले आफूलाई मादुरोको कार्यवाहक उत्तराधिकारी मात्र नभएर देशको वास्तविक नेताको रूपमा स्थापित गर्न सक्छिन् ।’ तर यसमा रहेको जोखिम औंल्याउँदै उनले थपे, ‘भ्रष्टाचार, ढिलासुस्ती वा राहत वितरणमा राजनीतिकरण जस्ता व्यवस्थापकीय कमजोरी देखिएमा, पहिले नै थाकिसकेका जनताका बीचमा थप असन्तोष वा आन्दोलन भड्किन सक्छ ।’
ला गुइरामा रहेकी जेराल्डिन पाडिला भने आफ्नो यो भयानक र अन्यायपूर्ण पीडाका लागि कसैलाई दोष दिन नसक्ने गरी गलिसकेकी थिइन् । उनले भनिन्, ‘म यति मात्र भन्न सक्छु कि हामी यहाँ ठूलो विपत्ति भोगिरहेका छौं, र अब केही पनि पहिले जस्तो हुने छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्