नेभिगेशन
प्रदेश

कक्षाकोठा अभावले संयुक्त कक्षाको बाध्यता

मुगु । फरक–फरक कक्षाका बालबालिकालाई एउटै कोठामा राखेर पढाउँदा कतिले राम्ररी बुझ्लान् ? मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जिमामा कक्षा कोठा पर्याप्त नहुँदा विद्यार्थीहरू संयुक्त कक्षामा बसेर पढ्न बाध्य छन् । एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई पढाउन–पढ्न शिक्षक–विद्यार्थी दुवैलाई गाह्रो भएको छ । 
विद्यालय नयाँ होइन । ४६ वर्ष पुरानो हो । तर, अझै आधारभूत पूर्वाधार अभावको समस्या झेलिरहेको छ । विद्यालयमा चार वटा कोठा छन्, जसमा  तीन वटामा संयुक्त कक्षा सञ्चालन गरिएको छ । एउटा कोठा कार्यालयका रूपमा प्रयोग भइरहेको छ । कक्षा ४ र ५, कक्षा २ र ३ तथा कक्षा १ र ईसीडीका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताए । 
एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी बस्दा होहल्ला हुने र पढाइमा ध्यान केन्द्रित गर्न समस्या हुने विद्यार्थीहरूले बताएका छन् । कक्षा ४ का विद्यार्थी सुदर्शन भामले एउटै कोठामा पढ्दा शिक्षकले भनेको कुरा बुझ्न कठिन हुने, बाहिर चौरमा बसेर पढ्दा हावाहुरीले किताब च्यातिने, धुलो र अन्य समस्याले असर गर्ने बताए ।
विद्यालयमा शौचालय र खानेपानीको पनि प्रबन्ध राम्रो छैन । विद्यार्थी केउडी कार्कीले शौचालय नहुँदा घरसम्म जानुपर्ने र खानेपानीका लागि पनि समस्या भोग्नुपरेको बताइन् ।
हाल यहाँ १ सय ६० जना विद्यार्थी, तीन जना दरबन्दीका शिक्षक, एक जना ईसीडी शिक्षक र एक जना कर्मचारी छन् । विद्यालयमा शौचालय नहुँदा विद्यार्थीहरू खेतबारीतिर जान बाध्य छन् भने खानेपानीका लागि कार्यालय सहयोगीले आधा घण्टा टाढाबाट पानी बोकेर ल्याउने गरेका छन् ।
शिक्षक रतनबहादुर बुढाले विद्यालयमा अन्य केही सहयोग भए पनि मुख्य समस्या कक्षा कोठाको अभाव नै रहेको बताए । उनका अनुसार स्थानीय तहमा समस्या जानकारी गराइएको छ ।
यस वर्ष लिप्स परियोजनामार्फत खेलमैदान निर्माण गरिएको छ भने ग्रामीण सामुदायिक संस्थाले विद्यार्थीको बसाइ व्यवस्थापनका लागि टेबल, कार्पेट, कुशन, शैक्षिक सामग्रीलगायत सहयोग गरेको छ ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले विद्यालय भवन अभावको समस्या पालिकाको जानकारीमा रहेको बताए । यस वर्ष खेलमैदान निर्माणलाई प्राथमिकता दिइएकाले आगामी वर्षको बजेटमा नयाँ भवन निर्माणको योजना पारिने प्रतिबद्धता जनाए । पालिकाभित्रका यस्ता अन्य ५–६ वटा विद्यालय भवन निर्माणको तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश